बाआमा मख्ख पार्ने मज्जाको उपाय


-हेमराज अर्याल 
छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।छोरालाई हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा । त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम गरिरहेकै  हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ । जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ ।
घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्डरमा’ बस्दैछु भन्ने लाग्यो भने बुढाबुढीलाई सबैभन्दा बढी नमजा हुन्छ । बिहे गरेपछि बाआमा भन्दा श्रीमती नजिक हुनु स्वभाविक हो । तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुनु हुँदैन, दुवैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।बुढा भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उनीहरुले कहिल्यै अपहेलित भएको महसुस गर्दैनन् । खान दिएर मात्रै हुँदैन, सम्मान गर्न जान्नुपर्छ । बुढा बाआमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले त्यसै अनुसार ख्याल गर्नुपर्छ ।

बाआमालाई मान गर्न गाह्रो पनि छैन । स–सना केही कुरामा ध्यान दिए मात्रै पनि उनीहरुलाई मान पुर्याउन सकिन्छ । जागिरे छोराले मेरो कमाई यति छ भनेर बाआमालाई भन्ने । तलब बुझेको दिन सबै पैसा उनीहरुलाई लगेर दिने । अझ आमाको अघिल्तिर पैसा फिंजाइदिने हो भने उहाँले मख्ख परेर पैसा गन्नुहुन्छ ।आहा मेरो छोरोको कमाई भनेर निकैबेर सुम्सुम्याउनुहुन्छ । त्यहाँबाट ५० या सय रुपैंया झिकेर आफूले राख्नुहोला । नत्र बाबु तिमी नै राख भनेर दिनुहुन्छ ।बाआमाले कति कमाउँछस् त बाबु भनेर सोध्दा तिमीलाई किन चाहियो, माग्दा दिएकै छु भनेर जवाफ फर्काउने र हजार, दुईहजार अड्कलेर दिने हो भने पनि बाआमा कहिल्यै खुशी हुन सक्दैनन् ।
ऋणधन, ऐंचौपैंचो, बेचबिखन, लेनदेन सबै कुरा बाआमालाई भन्नुपर्छ । व्यवहार आफूलाई सुम्पेको हो भने पनि यसपाली खेतमा यो धान लगाउन लागेको, फलानो बाख्रा बेच्न लागेको, फलानोलाई यति पैंचो दिनुथियो के गरौं भनेर सोध्ने हो भने बाआमाले यसो गर भनेर राम्रो सल्लाह नै दिनुहुन्छ ।आफूले गर्न खोजेको जस्तो सल्लाह आएन भनेपनि यो यस्तो छ, यसो गर्नुपर्ला त्यसैले मैले गरें है भन्यो भने पनि बाआमालाई पुग्छ । घरमा भएका बाआमालाई थाहै नदिइकन काम गर्ने हो भने उनीहरुमा आशंका बढ्छ ।
घर आउँदा कहीँकतैबाट फलफूल या केही खानेकुरा ल्याएको छ भने पहिले आमा या बालाई लगेर बुझाउँदा उनीहरु त्यसै मख्ख पर्छन् । आज त्यहाँ यस्तो देखें, अनि ल्याएको भन्दा ओहो छोरोले हामीलाई केही कुरा लुकाउँदैन भन्ने उनीहरुमा पर्छ ।नत्र बाआमालाई भन्दा पहिले श्रीमतीलाई दिने चलन छ भने केही नल्याएको दिन पनि बाआमाले शंका गर्छन्, ‘यसले आज हामीलाई खानेकुरा दिएन, उसकै स्वास्नीलाई बुझायो ।’अनि बाआमासँग सधैंभरी भलाकुसारी गरिरहनुपर्छ । कतै गएर आएको छ भने आज त्यहाँ यस्तो थियो, फलानोको विवाह यस्तो भयो, दुलाहदुलही यस्ता थिए, आज मेरो अफिसमा यस्तो भयो जस्ता कुरा बाआमालाई भनिदिने । यसो गर्दा आहा मेरो छोरो सबै कुरा भन्छ, केही लुकाउँदैन भनेर बाआमा सन्तुष्ट हुन्छन् ।
बाआमाको लागि सबै छोराछोरी बराबर हुन्छन् । बुढेसकालमा कुनै छोरासँग बसेको छ भने आफ्नो घरमा मीठोमसिनो पाक्दा नजिकै घर भएको अर्को छोरोलाई पनि दिन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ ।तर सँगै रहेका छोराबुहारीलाई त्यो नलाग्न सक्छ । यस्तोबेला बुढाबुढीको मन बुझेर नजिक घर भएका दाइभाइलाई पनि मीठोमसिनो खानेकुरा बाँडेर खानुपर्छ । पछि उसको घरका मीठोमसिनो पाक्दा पनि लेइदिन्छ ।बुढाबुढी भएको घरमा आफन्त र इष्टभित्र आउनेजाने भैरहन्छ । जति घरमा मान्छे आए, त्यति फाइदा हुन्छ । कति पाहुना आए भनेर झर्कोफर्को नगरी बाआमाको लागि उनीहरुको मानसम्मान गर्न सक्नुपर्छ । जति धेरैसँग सम्बन्ध भयो, त्यति राम्रो हुने हो ।
बुढाबुढीले झर्कोफर्को गरे भन्ने धेरै छोराबुहारीको गुनासो हुन्छ । झर्कोफर्को गर्नु त  बुढेसकालको लक्षण हो, स्वभाविक रुपमा लिनुपर्छ । शरीर कुप्रनु, दाह्रीकपाल फुल्नु, गाला चाउरी पर्नु जस्तै उमेर ढल्केपछि दिमाग पनि बुढो हुने भएकाले यस्ता लक्षण देखिन्छ ।बुढो भएपछि निउँ खोज्छ भन्ने चलन छ । निउँ खोजेको होइन । बुढो भएपछि सबैलाई लोभ लाग्छ । झर्कोफर्को र करकर गर्न मन लाग्छ । यस्तोबेला छोराबुहारी रिसाउन हुँदैन ।बाआमा बुढो भएछन् भनेर स्वभाविक रुपमा लिन सक्नुपर्छ । उनीहरुको कुरा सुनिदिनुपर्छ । उनीहरुको मनोभावना बुझेर त्यसै अनुसार काम गर्न जान्नुपर्छ ।
(बाआमालाई खुशी पारेर राख्न जानेका धादिङ नलाङ माविका शिक्षक अर्यालसित मिलन तिमिल्सिनाले गरेको कुराकानीमा आधारित)