संविधानसभा निर्वाचन कति सम्भव ?

-श्रीहरि अर्याल
नेपालमा फेरि एकपटक संविधानसभाको निर्वाचनमार्फत मुलुकका लागि संविधान बनाउने विषयमा व्यापक चर्चा-परिचर्चा भइरहेको छ । यसैबीच संविधानसभाका लागि दोस्रो निर्वाचन जसरी भए पनि गराएरै छाड्ने र त्यसलाई जसरी भए पनि असफल गराउनेका बीच द्वन्द्व बढिरहेको छ । यस विषयमा जनताहरूमा मात्र होइन, निणर्ायक तहमा प्रभावशाली देखिएका पार्टीका कार्यकर्ताहरूबीच पनि गम्भीर मतभेद देखिएको छ ।

पछिल्लो जनआन्दोलनको भावना अनुकूल हुनेगरी कसरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ भन्ने विषयमा व्यापक रूपमा चिन्तन-मनन गर्नुको साटो लोकतन्त्र स्थापना भएको सात वर्ष व्यतित भैसक्दा पनि मुलुक अन्योल, अस्थिरता, अराजकता र दण्डहीनताका कारण तहसनहस भइरहेको छ ।

जनता आफ्नो प्रतिनिधिमार्फत आफ्नालागि आफ्नै रायसुझाव बमोजिम लोकतान्त्रिक संविधानको निर्माण भएको हेर्न चाहन्छन् भनेर नै पहिलो संविधानसभाको निर्वाचन भएको हो । अहिले पनि जनताको चाहना भनेको मुलुकमा लोकतान्त्तिक गणतन्त्रको संस्थागत विकास होस्, त्यसलका लागि संविधान छिटो बनोस्, मुलुकको मूल कानुनका रूपमा निर्माण हुने संविधानको अधीनमा रहेर देशको शासन व्यवस्था चलोस्, दलहरूले संविधानको परिधिभित्र बाँधिएर आफ्ना क्रियाकलाप सञ्चालन गरुन्, आवधिक निर्वाचनबाट शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणको प्रक्रिया निरन्तर चलिरहोस् भन्ने नै हो ।

नेपाली क्रिकेट एक कदमअधि


                                                                                           श्रीलोचन राजोपाध्याय/दीपेन्द्र गुरुङ

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाइला चालेको लगभग १६ वर्ष नाघिसकेको छ । यसबीच नेपालले थुप्रै सफलताको स्वाद चाखेको छ भने असफलताको पीडा कम्ता भोगेको छैन । तथापि, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लेको मान्नै पर्ने हुन्छ । यसको ताजा उदाहरण हो भर्खरै काठमाडौंमा सम्पन्न एसिसी टी-२० क्रिकेट । 
नेपाल फाइनलमा पराजित भयो, बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसित । तर, फाइनलसम्मको यात्रा तय गर्दा नेपालले समर्थकलाई बलियोसित प्रभावित पारिसकेको थियो । सामान्यतया ब्याटिङमा कमजोर, त्यसमा पनि २० ओभरको प्रतियोगितामा ठूला सटहरू लगाउन नसक्ने नेपालले यसपटक टोलीमा आएको सुधारको धेरै प्रमाण पेस गरेको छ । 
कुनै समय थियो, नेपाली क्रिकेट केवल बलिङमा निर्भर हुने गथ्र्यो । ब्याट्सम्यानहरू पूरा ओभर बिरलै क्रिजमा टिक्न सक्थे । तर, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट टोली बिस्तारै बलिङबाट ब्याटिङकेन्दि्रत बन्दै गएको देखिन्छ । यस प्रतियोगितामा पनि नेपालका बलरको तुलनामा ब्याट्सम्यानहरू बढी चम्के र त्रिवि मैदानमा उपस्थित दर्शकको उर्लंदो भिडलाई चौका र छक्काको वषर्ा गरेर मनोरञ्जन दिलाए । फाइनलसम्मको यात्रामा नेपालको प्रदर्शनले सन्तुष्ट भइसकेका दर्शकले फाइनलमा अफगानिस्तानसित पराजित हुँदा पनि खासै अफसोस मानेनन् । 

रेग्मीको यात्रा त्यहाँदेखि यहाँसम्म

-घनश्याम खड्का
धेरै नबोल्ने र मिडियामा आउन नचाहने रेग्मीको
स्वभाव पुरानै हो । ४० वर्षे लामो न्यायिक यात्रामा हालसम्म विवादमा नआएका रेग्मी सरकारप्रमुख बन्ने कुराले उनी एकाएक मुलुककै न्यायिक इतिहासमा सबैभन्दा बढी आलोचित र विवादित न्यायमूर्तिमा अनुवाद भए । पछिल्लो समय जेठा छोरा इन्जिनियर पुष्कर रेग्मीको सल्लाह र सहयोगमा योजनाहरू बनाउन थालेका उनलाई देश चलाउने कुरामा नजिकबाट सघाउने काममा उनकै गृहजिल्ला पाल्पामा जन्मे/हुर्केका पूर्वमुख्य सचिव माधव घिमिरेको मुख्य भूमिका भएको जानकारहरू बताउँछन् । रेग्मीका कान्छो छोरा पुजन र एउटै छोरी पूजाचाहिँ अमेरिकामा बसोबास गर्छन् । अचेल बालुवाटारको प्रधानन्यायाधीश निवासमा बसोबास गर्नुअघि बानेश्वर हाइटको निजी निवासमा बस्दै आएका रेग्मीको पुख्र्यौली घरचाहिँ पाल्पाको पोखराथोक-६ धोवादीमा हो । उनी त्यहाँ २००६ वैशाख १८ गते ढुण्डीराज रेग्मीको जेठो छोराका रूपमा जन्मेका थिए । गाउँकै 'नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालय' मा कखरा सिकेका रेग्मीले माध्यमिकस्तरको पढाइ बनारसबाट पूरा गरेका थिए । उनले २०२३ मा उत्तर प्रदेशबाट २०२३ सालमा आईएस्सी गरेका थिए । 

त्यसपछि पाल्पा र्फकेर बीएड गरेलगत्तै उनले जिल्लाकै विष्णु माविमा पढाउने काम गरे । पढाउँदापढाउँदै अचानक काठमाडौंमा कानुनमा स्नातक गर्न आएका रेग्मी २२ वर्षकै उमेरमा अधिकृत भइसकेका थिए २०२८ सालमा । त्यसपछि निरन्तर फड्को मार्दै आएका रेग्मी २०३० सालमा जिल्ला न्यायाधीश भई बागलुङ खटाइएका थिए । त्यसको एक वर्षमै उनी राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भए र उपरजिस्ट्रारको जिम्मेवारी सम्हाले । प्रशासकीय जिम्मेवारीबाट रेग्मीले २०४१ पुनरावेदन अदालतमा नियुक्ति पाए । उनी २०४८ मा पुनरावेदनका मुख्य न्यायाधीशमा नियुक्ति पाए । त्यसको ११ वर्षपछि २०५९ माघ १५ मा रेग्मी सर्वोच्च अदालतका न्यायाधीश भएका थिए ।

एसएलसीः 'गोल्डेन गेट'


                                                                    -खग राज बराल 
शिक्षालयले आफ्ना शिक्षार्थीको परीक्षा लिने पुरानो र विश्वव्यापी प्रचलन हो । शिक्षालयको यो नियमित प्रक्रिया हो । कुनै तहको अन्त्यमा राज्यद्वारा लिइने परीक्षा शिक्षालयद्वारा लिइने परीक्षाभन्दा फरक किसिमको हुन्छ । राज्यद्वारा लिइने परीक्षा सार्वजनिक परीक्षा हो । सार्वजनिक परीक्षा लिने प्रचलन विश्वका प्रायः सबै मुलुकले लिने गर्छन् । सार्वजनिक परीक्षा निर्माणात्मक नभई निर्णयात्मक र औपचारिक हुने गर्छ । सार्वजनिक परीक्षा सञ्चालन तथा नियन्त्रण शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न हुने शिक्षालयभन्दा बाहिरको आधिकारिक निकायबाट लिने गरिन्छ । तोकिएको पाठ्यक्रम तथा पाठ्यांशमा आधारित भई परीक्षा सञ्चालन हुने गर्छ । सार्वजनिक परीक्षा कानुनमा आधारित भई राज्यको आधिकारिक निकायद्वारा स्वीकृत पाठ्यक्रम र पाठ्यांशका आधारमा लिइने हुँदा शिक्षालयको प्रकार, अवस्थिति, शिक्षकको उपलब्धता, भौतिक तथा शैक्षिक सुविधाको उपलब्धता, शिक्षालय सञ्चालनका दिन, सुगम तथा दुर्गम, सुविधायुक्त र सुविधाविहीन आदिजस्ता विषयका आधारमा परीक्षा सञ्चालन गरिँदैन ।
सार्वजनिक परीक्षा देशभर एकै पद्धति र एकै आधारमा सञ्चालन गरिन्छ । स्वीकृत पाठ्यक्रम तथा पाठ्यांशबाहेक अन्य पक्षमा निरपेक्ष रहेर परीक्षा सञ्चालन, परीक्षण र नतिजा प्रकाशन गरिन्छ । सम्बन्धित तहका लागि पाठ्यक्रमले तोकेका मुख्य विषय र अन्य ऐच्छिक वा सहायक विषयको परीक्षा सञ्चालन गरिन्छ । तोकिए अनुसार लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । सार्वजनिक परीक्षा सञ्चालनमा शिक्षालय सञ्चालन, सुपरीवेक्षण तथा अनुगमन गर्ने निकाय, पाठ्यक्रम र पाठ्यपुस्तक विकास तथा वितरण गर्ने निकाय, शिक्षक विकास तथा शिक्षक नियुक्ति गर्ने निकायको सहभागिता हुँदैन । प्रश्नपत्र आफ्ना शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न शिक्षकबाट निर्माण तथा परिमार्जन, परीक्षण र सम्परीक्षण गरिँदैन । सार्वजनिक परीक्षा प्रायः वर्षकोएकपटक सञ्चालन गरिन्छ, यसको नतिजामा शिक्षार्थीको श्रेणी वा प्राप्ताङ्क वा दुवै उल्लेख गरिन्छ । सबै मुलुकमा सार्वजनिक परीक्षाको नतिजालाई शिक्षार्थी र शिक्षालयको तुलना व्यक्तिगत, संस्थागत, जिल्लागत, क्षेत्रगत र राष्ट्रिय रूपमा गर्ने गरिन्छ ।

वृद्धावस्था आजको चुनौती

-रचना मास्के 
संसार विचित्रको छ । संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । अरु प्राणीजस्तै मानिस पनि जन्मन्छ, हुर्कन्छ अनि वृद्ध हुँदै जान्छ र अन्त्यमा मर्छ । म्ाानिस किन बूढो हुन्छ भन्ने विषयमा विश्वमा थुप्रै अनुसन्धान भएका छन् । विभिन्न वैज्ञानिकले यस विषयमा धेरै प्रकारका व्याख्या गरे पनि यसको रहस्य अझ खुल्न सकेको छैन ।

विश्वमा म्ाानिसहरूले धेरै उन्नति-प्रगति गरेका छन् अझ विज्ञानले त चमत्कार नै ल्याइदिएको छ । अहिले औषधि विज्ञानले प्रशस्त प्रगति गर्नुका साथै प्रकृतिलाई नै चुनौती दिँदै मानिसहरूको आयु लम्बाउँदै गएको अवस्था छ, फलस्वरूप अहिले विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपालमा २०५३/५४ सालमा लिइएको एक तथ्याङ्कअनुसार नेपाली महिला तथा पुरुषहरूको औसत आयु ५६ दशमलम १ वर्षबाट बढेर ६० वर्षको हाराहारीमा आइपुगेको छ । त्यसैले पनि नेपालमा वृद्धहरूको संख्या निरन्तर बढ्दैछ । 

नातामा भावनाको कदर

-दीपकलाल श्रेष्
सुन्दर घर, सुखसुविधाका सबै साधन, सम्पन्न र शिक्षित परविार तथा राम्रो आम्दानी हुँदाहुँदै पनि कतिपय पारविारकि नाताबीच कुनै मिठास हुँदैन । धेरैले एउटै छानामुनि सँगै बसेर पनि नितान्त एक्लो महसुस गर्नुपर्छ । आज धेरै परविारभित्र सुख, शान्ति तथा सद्भाव छैन । श्रीमान्-श्रीमतीको नातामा खिचातानी, तनाव, कटुता विभिन्न कारणले उत्पन्न हुनसक्छ । धेरै कारणमध्ये एउटा हो, एक-अर्कासँग रसिाउने  प्रवृत्ति र रसिाउँदा बोलचाल बन्द हुने स्थिति । यो सत्य हो कि दुईवटा भाँडा एकसाथ राख्दा आवाज उत्पन्न हुन्छ । यदि आवाज उत्पन्न नहुने हो भने दुवैलाई छुट्टाछुट्टै राख्नुपर्छ । सानोतिनो झैझगडा त हरेक श्रीमान्-श्रीमतीबीच भैरहन्छ । एक अर्कासँग नबोल्ने स्थिति उत्पन्न भए दुवैको मनमा चिन्ता हुन्छ र समस्या जहाँको तहीँ रहन्छ ।

यस्तो स्थितिमा संवादको अभावले तनावलाई अझ बढाउँछ । मानवीय नातामा संवादहीनताको प्रमुख कारण आपसी समझदारीको कमी, सहनशीलताको अभाव, घमण्ड, एक-अर्काको भावनालाई कदर नगर्नु आदि हुन् । कुनै पनि नाता चाहे त्यो साथीको होस् वा श्रीमान्-श्रीमतीको, सासू-बुहारीको होस् वा आमा र छोराछोरीबीचको होस्, बिनासंवाद चल्न कठिन छ । नातालाई कायम गर्न कुनै एक पक्षले केही कष्ट सहनुपर्छ । त्यसैले यस्तो स्थिति आउन नदिन एक-अर्काका गल्तीहरूलाई नजरअन्दाज गरेर संवादलाई अघि बढाउनुपर्छ ।

कसरी बन्छ कानुन

-सुरज कुँवर 
सिद्धान्तअनुसार, 'जनताले जनप्रतिनिधिमार्फत जनताका लागि बनाउने कानुनबारे' समाजमा प्रायः सुनिन्छ, 'कानुन नभाको देशमा यस्तै हुन्छ !' कतै-कतै आन्दोलनकारीले चर्को स्वरमा नारा लगाउँदै भनिरहेका हुन्छन्, 'कडा कानुन चाहियो !' आदि-इत्यादि ।
छरपस्ट समाजलाई एक सूत्रमा बाँध्ने, मुलुक र समाजसापेक्ष कानुन (ऐन, नियम, विनियम) कसरी र कसले बनाउँछ होला ? आम मानिसका लागि यो जिज्ञासाको विषय हो । हरेक मुलुकमा कानुन बनाउने पद्धति आ-आफ्नै हुन्छ ।
कतिपयलाई लाग्न सक्छ, 'कानुन मुखले बोलेजत्तिकै छिटो तयार हुने विषय होला ?,' तर, नेपाल कानुन आयोगका सचिव राजेन्द्र किशोर क्षत्री कानुन बनाउने काम ओठे बोली होइन भन्छन् । ठूलो जलविद्युत योजना, पूर्वाधार निर्माणजस्तै यो पनि गह्रुँगो कर्म हो । फरक यति हो, पूर्वाधार जमिनमा देखिन्छ । यो कागजमा लेखिन्छ । मूल कानुन अर्थात् संविधानलाई कानुनको उदाहरण मान्ने हो भने, यो कार्य कति गाह्रो हुन्छ भन्ने जान्न/बुझ्न हाम्रै देशको असफल संविधानसभा गतिलो उदाहरण हुनसक्ला ।     
आयोगका अनुसार, कानुन बनाउने नेपालमा पनि बेग्लै शैली छ । समयानुकूल बदली भइरहने  शैली सुरुका दिनमा परम्परागत थियो । मनुस्मृति र धर्मशास्त्रमा आधारित व्यवहार र अदालत प्रणाली थियो । तर जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमणपछि नेपालको कानुन तर्जुमा शैली अमेरिकी र बेलायतीहरूको अवधारणा रहेको 'कमन ल' प्रणाली र २००७ सालपछि अपनाइएको फ्रान्सेली अवधारणा 'कन्टिनेन्टल ल' प्रणाली बाट प्रभावित छ । त्यसताका शास्त्र व्यवहारले समाजका 'छोटाबडा' सबैलाई नसमेटेकाले समानताका दृष्टिकोणबाट हेर्न मुलुकी ऐन ल्याइयो । सिंहदरबारमा रहेको आयोगका सचिव क्षत्री हाल नेपालमा कानुन तर्जुमा गर्ने अवधारणा र संरचना 'हाइबि्रड' विधिमा आधारित रहेको भन्छन् । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि फेरि कानुन बनाउने प्रक्रिया बदलिएको छ । सरकारले अवलम्बन गरेको नीतिअनुकूल कानुनको मस्यौदा तर्जुमा गर्ने प्रमुख जिम्मेवारी कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको हो भने दीर्घकालीन प्रभाव पार्ने कानुन बनाउने, अनुसन्धान गर्ने, पुराना कानुन अद्यावधिक वा पुनरावलोकन गर्ने आदि काम नेपाल कानुन आयोगको हो ।