रेग्मीको यात्रा त्यहाँदेखि यहाँसम्म

-घनश्याम खड्का
धेरै नबोल्ने र मिडियामा आउन नचाहने रेग्मीको
स्वभाव पुरानै हो । ४० वर्षे लामो न्यायिक यात्रामा हालसम्म विवादमा नआएका रेग्मी सरकारप्रमुख बन्ने कुराले उनी एकाएक मुलुककै न्यायिक इतिहासमा सबैभन्दा बढी आलोचित र विवादित न्यायमूर्तिमा अनुवाद भए । पछिल्लो समय जेठा छोरा इन्जिनियर पुष्कर रेग्मीको सल्लाह र सहयोगमा योजनाहरू बनाउन थालेका उनलाई देश चलाउने कुरामा नजिकबाट सघाउने काममा उनकै गृहजिल्ला पाल्पामा जन्मे/हुर्केका पूर्वमुख्य सचिव माधव घिमिरेको मुख्य भूमिका भएको जानकारहरू बताउँछन् । रेग्मीका कान्छो छोरा पुजन र एउटै छोरी पूजाचाहिँ अमेरिकामा बसोबास गर्छन् । अचेल बालुवाटारको प्रधानन्यायाधीश निवासमा बसोबास गर्नुअघि बानेश्वर हाइटको निजी निवासमा बस्दै आएका रेग्मीको पुख्र्यौली घरचाहिँ पाल्पाको पोखराथोक-६ धोवादीमा हो । उनी त्यहाँ २००६ वैशाख १८ गते ढुण्डीराज रेग्मीको जेठो छोराका रूपमा जन्मेका थिए । गाउँकै 'नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालय' मा कखरा सिकेका रेग्मीले माध्यमिकस्तरको पढाइ बनारसबाट पूरा गरेका थिए । उनले २०२३ मा उत्तर प्रदेशबाट २०२३ सालमा आईएस्सी गरेका थिए । 

त्यसपछि पाल्पा र्फकेर बीएड गरेलगत्तै उनले जिल्लाकै विष्णु माविमा पढाउने काम गरे । पढाउँदापढाउँदै अचानक काठमाडौंमा कानुनमा स्नातक गर्न आएका रेग्मी २२ वर्षकै उमेरमा अधिकृत भइसकेका थिए २०२८ सालमा । त्यसपछि निरन्तर फड्को मार्दै आएका रेग्मी २०३० सालमा जिल्ला न्यायाधीश भई बागलुङ खटाइएका थिए । त्यसको एक वर्षमै उनी राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भए र उपरजिस्ट्रारको जिम्मेवारी सम्हाले । प्रशासकीय जिम्मेवारीबाट रेग्मीले २०४१ पुनरावेदन अदालतमा नियुक्ति पाए । उनी २०४८ मा पुनरावेदनका मुख्य न्यायाधीशमा नियुक्ति पाए । त्यसको ११ वर्षपछि २०५९ माघ १५ मा रेग्मी सर्वोच्च अदालतका न्यायाधीश भएका थिए ।

सर्वाेच्चको न्यायाधीश भएको ९ वर्षपछि २०६८ वैशाख २३ गते रेग्मीले प्रधानन्यायाधीशको जिम्मेवारी पाए । प्रजातन्त्र आएपछि विश्वनाथ उपाध्यायपछिका सबैभन्दा बढी समय प्रधानन्यायाधीश हुने अवसर पनि यिनै रेग्मीले पाए । प्रधानन्यायाधीशको पदबाट रेग्मीको बहिर्गमन हुन २०७१ वैशाख आउनुपर्छ । न्यायपालिकाको सर्वोच्च पद सम्हालेको जम्माजम्मी २२ महिना नपुग्दै उनले कार्यपालिकाको सर्वाेच्च पद पनि पाएका हुन् । नेपालको इतिहासमा यस्तो अवसर यसअघि कसैले पाएको थिएन ।

रेग्मीलाई गणतन्त्र आउनेबित्तिकै २०६४ तिरै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश बनाउन ठूलै लबिङ गरेका थिए । अहिले उनै दाहालको प्रस्तावबाटै प्रधानमन्त्री भएका छन् । 'करिअर जज' का रूपमा सिंगो जीवन बिताएका रेग्मी कार्यविधि कानुनका ज्ञाता मानिन्छन् भने देवानी मुद्दामा उनको खास दख्खल पनि छ । तर नेतृत्व क्षमतामा भने उनको काम मुस्किलले औसत मान्छेको जस्तो देखिएको भन्दै आलोचनाहरू पनि प्रशस्त भएका छन् । रेग्मीले सर्वोच्चमा न्यायाधीशहरूको नियुक्ति नगरिदिएर न्यायालय नै सुकाउने काम गरेको आरोप चारैतिरबाट लागिरहेको छ ।

रेग्मी सम्मिलित इजलासले नै ऐतिहासिक भनिएको संविधानसभा भंग हुने आदेश गरेको थियो २०६८ मंसिर ९ गते । अहिले रेग्मी आफैं संविधानसभाको चुनाव गराउने सरकारको नेतृत्व गर्न अघि सरेका छन् । नेपाल न्यायाधीश समाजका अध्यक्ष पनि भएका रेग्मीलाई त्यही संस्थाले तयार पारेको न्यायाधीश आचारसंहिता उल्लंघन गरेर झगडियाहरूलाई भेटेको आरोप पनि लागेको छ । प्रधानन्यायाधीश भएका दिन रेग्मीले त्यसको श्रेय आफ्ना हजुरबा अमरनाथलाई दिएका थिए । उनका अनुसार हजुरबाकै आग्रहमा रेग्मीले कानुन पढेका थिए ।


इकान्तिपुर

प्रकाशित मिति: २०६९ चैत्र १ ०८:४५