एसएलसीः 'गोल्डेन गेट'


                                                                    -खग राज बराल 
शिक्षालयले आफ्ना शिक्षार्थीको परीक्षा लिने पुरानो र विश्वव्यापी प्रचलन हो । शिक्षालयको यो नियमित प्रक्रिया हो । कुनै तहको अन्त्यमा राज्यद्वारा लिइने परीक्षा शिक्षालयद्वारा लिइने परीक्षाभन्दा फरक किसिमको हुन्छ । राज्यद्वारा लिइने परीक्षा सार्वजनिक परीक्षा हो । सार्वजनिक परीक्षा लिने प्रचलन विश्वका प्रायः सबै मुलुकले लिने गर्छन् । सार्वजनिक परीक्षा निर्माणात्मक नभई निर्णयात्मक र औपचारिक हुने गर्छ । सार्वजनिक परीक्षा सञ्चालन तथा नियन्त्रण शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न हुने शिक्षालयभन्दा बाहिरको आधिकारिक निकायबाट लिने गरिन्छ । तोकिएको पाठ्यक्रम तथा पाठ्यांशमा आधारित भई परीक्षा सञ्चालन हुने गर्छ । सार्वजनिक परीक्षा कानुनमा आधारित भई राज्यको आधिकारिक निकायद्वारा स्वीकृत पाठ्यक्रम र पाठ्यांशका आधारमा लिइने हुँदा शिक्षालयको प्रकार, अवस्थिति, शिक्षकको उपलब्धता, भौतिक तथा शैक्षिक सुविधाको उपलब्धता, शिक्षालय सञ्चालनका दिन, सुगम तथा दुर्गम, सुविधायुक्त र सुविधाविहीन आदिजस्ता विषयका आधारमा परीक्षा सञ्चालन गरिँदैन ।
सार्वजनिक परीक्षा देशभर एकै पद्धति र एकै आधारमा सञ्चालन गरिन्छ । स्वीकृत पाठ्यक्रम तथा पाठ्यांशबाहेक अन्य पक्षमा निरपेक्ष रहेर परीक्षा सञ्चालन, परीक्षण र नतिजा प्रकाशन गरिन्छ । सम्बन्धित तहका लागि पाठ्यक्रमले तोकेका मुख्य विषय र अन्य ऐच्छिक वा सहायक विषयको परीक्षा सञ्चालन गरिन्छ । तोकिए अनुसार लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । सार्वजनिक परीक्षा सञ्चालनमा शिक्षालय सञ्चालन, सुपरीवेक्षण तथा अनुगमन गर्ने निकाय, पाठ्यक्रम र पाठ्यपुस्तक विकास तथा वितरण गर्ने निकाय, शिक्षक विकास तथा शिक्षक नियुक्ति गर्ने निकायको सहभागिता हुँदैन । प्रश्नपत्र आफ्ना शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न शिक्षकबाट निर्माण तथा परिमार्जन, परीक्षण र सम्परीक्षण गरिँदैन । सार्वजनिक परीक्षा प्रायः वर्षकोएकपटक सञ्चालन गरिन्छ, यसको नतिजामा शिक्षार्थीको श्रेणी वा प्राप्ताङ्क वा दुवै उल्लेख गरिन्छ । सबै मुलुकमा सार्वजनिक परीक्षाको नतिजालाई शिक्षार्थी र शिक्षालयको तुलना व्यक्तिगत, संस्थागत, जिल्लागत, क्षेत्रगत र राष्ट्रिय रूपमा गर्ने गरिन्छ ।
सोह्रौं शताब्दीमा युरोपमा सार्वजनिक परीक्षालाई प्रतिस्पर्धात्मक परीक्षाका रूपमा लिने गरियो । उन्नाइसौं शताब्दीमा सार्वजनिक परीक्षालाई रोजगारी र विश्वविद्यालय शिक्षामा प्रवेशका लागि आवश्यक सर्तका रूपमा सार्वजनिक परीक्षालाई आधार मानियो । यसलाई दक्ष र अदक्ष व्यक्ति छुट्याउन सक्ने आधारका रूपमा समेत लिन थालियो । बेलायतमा सार्वजनिक परीक्षालाई म्याटि्रकुलेसनका नामले पुकारिन थालियो । बेलायतका उपनिवेश भएका मुलुकमा यसले लोकपि्रयता पायो । बेलायतको उपनिवेश भएको समयमा भारतमा पनि सार्वजनिक परीक्षालाई म्याटि्रकुलेसन नै भनियो । बेलायती र भारतीय शिक्षाको प्रभाव नेपालमा पनि परेकाले नेपालमा कतिपयले यस परीक्षालाई म्याटि्रकुलेसन भन्ने गरेको पाइन्छ ।
नेपालमा एसएलसी परीक्षाको इतिहास झन्डै असी वर्ष पुरानो छ । नेपालमा एसएलसी बोर्ड स्थापना नहुँदासम्म सुरुमा कलकत्ता विश्वविद्यालय र पछि पटना विश्वविद्यालयबाट एसएलसी परीक्षा लिइने गरिन्थ्यो । एसएलसी परीक्षामा अधिकांश प्रभाव बेलायती र भारतीय म्याटि्रकुलेसनको परेको पाइन्छ । विसं १९९० देखि नेपालमा नै एसएलसी परीक्षा लिने गरिएको हो ।
नेपालको एसएलसी परीक्षा सार्वजनिक परीक्षाका विशेषताभित्र पर्ने एकमात्र परीक्षा हो । एसएलसी परीक्षा बाह्य परीक्षामात्र होइन, सार्वजनिक परीक्षा हो । बाह्य परीक्षा अन्य तह वा कक्षामा पनि हुनसक्छ । तर राष्ट्रिय रूपमा सञ्चालन तथा व्यवस्थापन हुने एसएलसी परीक्षा नेपालको सार्वजनिक परीक्षा हो ।
विसं १९९० देखि हालसम्म नेपालमा विभिन्न राजनीतिक परिवर्तन भएका छन् । २००७, ०१७, ०४६, ०६३ मा भएका ठूलठूला राजनीतिक तथा शासकीय स्वरूपको परिवर्तन भए पनि नेपालमा एसएलसी परीक्षाको औचित्य र यसको महत्त्वमा खासै परिवर्तन भएको छैन । एसएलसी परीक्षा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाका रूपमा सञ्चालित छ । विद्यालय तहको अन्त्यमा लिइने यस परीक्षालाई विद्यालय शिक्षाको बहिर्गमन विन्दुको रूपमा लिइने गरिन्छ । एसएलसी परीक्षाले हरेक व्यक्तिको जीवनमा महत्त्व राख्ने गर्छ । एसएलसी परीक्षा उत्तीर्ण गरेपछि व्यक्तिका जीवनमा भिन्न परिवेश र अवसर आउने गर्छ । एकल पथको पाठ्यक्रमबाट बहुविधाका विभिन्न विषय छनोट गरी आफ्नो भावी जीवनको बाटो पहिचान गर्ने अवस्था एसएलसीपछि नै आउने गर्छ ।
एसएलसी परीक्षाले अन्य परीक्षाभन्दा बढी चर्चा पाउने गरेको छ । यो चर्चा पाउनुमा विभिन्न कारणहरू पनि छन्, जो स्वाभाविक पनि छन् । हाम्रो विगतले एसएलसी परीक्षालाई सर्वाधिक महत्त्व दिएको पनि छ । एक त एसएलसी परीक्षा राज्यद्वारा सञ्चालन तथा प्रमाणीकरण गरिने परीक्षा हो । यसले व्यक्तिको जीवनका साथसाथै रोजगारी र उच्च अध्ययनको बाटो पनि खोल्ने गर्छ । एसएलसी परीक्षामा सफलता प्राप्त भएपछि व्यक्तिले आफ्नो क्षमता र इच्छाअनुसार विभिन्न विधामा अध्ययन गर्न पाउने गर्छ । एसएलसी परीक्षाको नतिजालाई व्यक्तिले आफूले प्राप्त गरेको विगतको नतिजासँग तुलना गर्ने गर्छ भने विद्यालयको घरेलु परीक्षाको नतिजासँग पनि तुलना गर्ने गर्छ । विद्यालयले विगतको उपलब्धि र छिमेकका अन्य विद्यालय तथा राष्ट्रिय रूपमा आफ्नो तुलना गर्ने गर्छ ।
अभिभावक र आम जनताले विद्यालयको तुलना गरी छनोटको अवसर प्राप्त गर्छन् । सरकारी निकायहरूलाई विद्यालयको उपलब्धिको तुलना गरी श्रेणी छुट्याउन र स्तर निर्धारण गर्न एसएलसी नतिजाले सहयोग पुग्छ । यसैकारण पनि एसएलसी परीक्षा सर्वाधिक महत्त्वको विषय भएको र घर-घरमा, विद्यालय-विद्यालयमा, आमसञ्चारमा, राष्ट्रियस्तरमा चर्चा-परिचर्चा गरेको हो । एसएलसी परीक्षा सरकारी निकायबाट सञ्चालन गरिने र यसको नतिजालाई सरकारी निकायबाट प्रमाणीकरण गरिने भएकाले व्यक्तिले पाउने प्रमाणपत्र स्तरीकृत प्रमाणपत्र पनि हो । यसलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता पनि प्राप्त छ । एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि सरकारी निकाय मुख्य जिम्मेवार भए पनि विद्यालय, शिक्षक, अभिभावक, आम जनसमुदाय, दातृनिकाय र विकास साझेदार सबैको चासो हुने र रहने विषय हो यो ।
एसएलसी परीक्षालाई 'फलामे ढोका'का रूपमा अभिभावक र आम सञ्चारका माध्यमले उल्लेख गरेको पाइन्छ । एसएलसी परीक्षा न कहिल्यै फलामे ढोका थियो, नत अहिले छ । यो त उज्ज्वल भविष्यको सन्दर्भमा 'सुनौला ढोका' नै हो । विद्यालय शिक्षा छोड्ने परीक्षा भएकाले यस परीक्षामा सफलता प्राप्त गरेपछि व्यक्तिका जीवनमा अनेक विकल्प आउने गर्छन् । ती विकल्पमा उपयुक्त विकल्प छनोट गरेर व्यक्तिले आफ्नो जीवनको गन्तव्य निर्धारण गर्ने गर्छ । परीक्षाका नतिजालाई विश्लेषण गरेर भनिएको हो भने नियमित, पूरक र एक्जेम्टेड गरी झन्डै असी प्रतिशत उत्तीर्ण हुने परीक्षालाई फलामे ढोका भन्न मिल्दैन । एसएलसी परीक्षाले फलामे ढोकाको आक्षेप अनाहकमा भोगिरहनुपरेको छ । यदि कुनै परीक्षालाई फलामे ढोका भन्ने हो भने चाँदीको ढोका, पित्तले ढोका र सुनौलो ढोका हुने परीक्षाको पनि पहिचान गर्न सक्नुपर्छ । कुनै पनि तहको परीक्षा आफैंमा फलामे ढोका हुनै सक्दैन । उच्च माध्यमिक तह वा विश्वविद्यालय तहको परीक्षाको नतिजालाई विश्लेषण गर्ने हो भने एसएलसीलाई फलामे ढोका भन्नेहरूले यी तहका परीक्षालाई कुन खनिज तत्त्वको ढोका भनी नामकरण गर्न त कठिन हुने देखिन्छ ।
चैत १ गतेदेखि सञ्चालन हुने एसएससी २०६९ को संस्करणलाई सार्वजनिक परीक्षाको मर्यादा कायम राख्न परीक्षालाई मर्यादित, स्वच्छ र अनुशासित बनाउन आवश्यक छ । परीक्षा सञ्चालनका हाम्रा अभ्यासले हाम्रो सार्वजनिक शिक्षाको स्तरलाई इङ्कित गर्ने गर्छ । स्वदेश तथा विदेशमा हाम्रो शिक्षा प्रणाली र हाम्रा उत्पादनको कार्यकुशलता र कार्यक्षमतामा चर्चा, परिचर्चा र टिप्पणी हुने गर्छ । एसएससी परीक्षाको मर्यादालाई हाम्रो शिक्षा प्रणालीसँग मात्र नजोडिएर हामी प्रत्येकको घर, परिवार र हामीले दीक्षित गरेको शिक्षार्थीसँग पनि जोडिएर आउने गर्छन् । हाम्रो परीक्षा व्यवस्थापन मर्यादित भएन भने हाम्रो सार्वजनिक परीक्षाको सम्मान हुने छैन । हाम्रा उत्पादित विद्यार्थीका क्षमतामाथि शङ्का गरिनेछ, हाम्रा शिक्षकहरूमाथि आक्षेप आउनेछन्, हाम्रो सिङ्गो पद्धतिमा प्रश्न उठ्नेछ । सार्वजनिक परीक्षालाई कमजोर बनाउनु भनेको सार्वजनिक शिक्षालाई कमजोर बनाउनु हो । राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि राज्यद्वारा प्रदत्त प्रमाणपत्रलाई कमजोर बनाउनु हो । सार्वजनिक परीक्षालाई मर्यादाहीन, शक्तिहीन बनाउनु भनेको लोकतान्त्रिक मूल्य-मान्यताको अवशान हो, सार्वजनिक शिक्षालाई खण्डित र दुर्बल बनाउनु हो । हाम्रो शिक्षा प्रणालीलाई कमजोर बनाउनु भनेको हाम्रो आर्थिक तथा सामाजिक स्तर खस्काउनु हो, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा शिर निहुराउनु हो । त्यसैले सार्वजनिक परीक्षाको मान्यता पाएको एसएलसी परीक्षालाई शिष्ट, मर्यादित, स्वच्छ र अनुशासित बनाएर यसको गरिमा र महिमा कायम राख्नु हामी सबैको कर्तव्य हो ।लेखक परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक हुन् ।
कान्तिपुर