नेपाली क्रिकेट एक कदमअधि


                                                                                           श्रीलोचन राजोपाध्याय/दीपेन्द्र गुरुङ

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाइला चालेको लगभग १६ वर्ष नाघिसकेको छ । यसबीच नेपालले थुप्रै सफलताको स्वाद चाखेको छ भने असफलताको पीडा कम्ता भोगेको छैन । तथापि, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लेको मान्नै पर्ने हुन्छ । यसको ताजा उदाहरण हो भर्खरै काठमाडौंमा सम्पन्न एसिसी टी-२० क्रिकेट । 
नेपाल फाइनलमा पराजित भयो, बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसित । तर, फाइनलसम्मको यात्रा तय गर्दा नेपालले समर्थकलाई बलियोसित प्रभावित पारिसकेको थियो । सामान्यतया ब्याटिङमा कमजोर, त्यसमा पनि २० ओभरको प्रतियोगितामा ठूला सटहरू लगाउन नसक्ने नेपालले यसपटक टोलीमा आएको सुधारको धेरै प्रमाण पेस गरेको छ । 
कुनै समय थियो, नेपाली क्रिकेट केवल बलिङमा निर्भर हुने गथ्र्यो । ब्याट्सम्यानहरू पूरा ओभर बिरलै क्रिजमा टिक्न सक्थे । तर, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट टोली बिस्तारै बलिङबाट ब्याटिङकेन्दि्रत बन्दै गएको देखिन्छ । यस प्रतियोगितामा पनि नेपालका बलरको तुलनामा ब्याट्सम्यानहरू बढी चम्के र त्रिवि मैदानमा उपस्थित दर्शकको उर्लंदो भिडलाई चौका र छक्काको वषर्ा गरेर मनोरञ्जन दिलाए । फाइनलसम्मको यात्रामा नेपालको प्रदर्शनले सन्तुष्ट भइसकेका दर्शकले फाइनलमा अफगानिस्तानसित पराजित हुँदा पनि खासै अफसोस मानेनन् । 

कीर्तिपुरमा एसिसी टी-२० कपमा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले केही कीर्तिमानी प्रदर्शन दिए, जुन छोटो ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोलीको अहिलेसम्मकै अब्बल प्रदर्शन दरिन पुग्यो । नेपाल फाइनलमा अफगानिस्तानसँग पराजित हुँदा लगातार तीन उपाधि भित्र्याउनबाट वञ्चित भयो । तर, फेरि खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई हेर्दा नेपालले अर्काे उपाधि भित्र्याए झैँ लाग्छ ।
एसिसी टी-२० कपमा सिंगापुरविरुद्ध बनाएको दुई सय १० रनको योगफल नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको सर्वाधिक ठूलो योगफल थियो भने प्रतियोगिताकै दोस्रो ठूलो । सिंगापुरविरुद्धको एक सय २१ रनको जित पनि अहिलेसम्मकै ठूलो जित अन्तर बन्न पुग्यो । खेलाडीहरूको व्यक्तिगत प्रदर्शनको मूल्यांकन गर्दा कप्तान पारस खड्काले हङकङविरुद्ध ८७ रन हाने, जुन २० ओभरको प्रतियोगितामा नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक हो । युवा ब्याट्सम्यानद्वय प्रदीप ऐरी र विनोद भण्डारी पनि खुबै चम्के । 
नेपालले खेलेका पछिल्ला तीन प्रतियोगितामा नेपाली खेलाडी 'म्यान अफ दि सिरिज' चुनिएका छन् । डिभिजन चारमा अफ स्पिनर बसन्त रेग्मी 'म्यान अफ दि सिरिज' घोषित हुँदा एसिसी ट्रफी एलिट र एसिसी टी-२० कपमा कप्तान पारस खड्का 'म्यान अफ दि सिरिज' घोषित भए । टी-२० मा फाइनलमा हारे पनि पारसले गरेको प्रदर्शन उत्कृष्ट थियो । 
नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शनबाट विदेशी प्रशिक्षकसमेत मोहित छन् । सन् २०११ मा नेपाल छाड्नुअघि १० वर्ष नेपाली टोलीलाई प्रशिक्षक दिएका श्रीलंकाली प्रशिक्षक रोय लुक डायस अहिले नेपाली खेलाडी निक्कै परिपक्व भएको स्वीकार गर्छन् । समूह चरणको तेस्रो खेलमा नेपालसँग उनको टोली मलेसिया पराजित भएपछि प्रशिक्षक डायसले भनेका थिए, 'पछिल्लो समय नेपाली खेलाडीमा निक्कै परिवर्तन आएको रहेछ, अहिले नेपाली खेलाडी निक्कै परिपक्व भएका रहेछन्, साथै उनीहरूमा आफैँलाई विश्वास गर्ने क्षमता बढेको देखेँ ।' 
फाइनलमा नेपाललाई पराजित गर्दै लगातार चौथोपटक उपाधि जितेको अफगानिस्तानका प्रशिक्षक कबिर खानले पनि नेपाली टोलीको खुलेरै प्रशंसा गरे । उनले एसियन बरियतामा नेपाली टोली टेस्ट मान्यताप्राप्त एसियाका चार राष्ट्र -भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश) र अफगानिस्तानपछि नेपाली टोली रहेको बताए । 'नेपाली टोली निक्कै उत्कृष्ट छ,' उनले भने, 'तर अझै अन्तर्राष्ट्रिय उपाधि भित्र्याउन नेपाली टोलीले माथिल्लो स्तरका टोलीसँग प्रतिस्पर्धा गर्न आवश्यक छ ।'
एसिसी टी-२० कपको म्याच अफ दि सिरिज घोषणा गर्ने क्रममा एसिसीका म्याच रेप|mी रमेश रत्नायकेले भनेका थिए, 'ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेकाले मेरो म्यान अफ दि सिरिज पारस हुन्, उनलाई यो उपाधि टोलीको सफल कप्तानी गरेकाले पनि दिइएको हो ।' यसको मतलब पारसले प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शन त गरेकै थिए, उनले सफल कप्तानी पनि निभाएका थिए । त्यसैले म्याच रेप|mी रत्नायकले अन्त्यमा सफल कप्तान जोडेका थिए ।

चुनौती छनोटको

नेपालले एसिसी टी-२० कपको उपाधि गुमाए पनि फाइनलसम्मको यात्रा तय गर्दै आगामी डिसेम्बरमा युएईमा हुने आइसिसी टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ । उक्त प्रतियोगिता अर्काे वर्ष बंगलादेशमा आयोजना हुने आइसिसी टी-२० विश्वकपको छनोट प्रतियोगिता हो । १६ टोली सहभागी हुने उक्त प्रतियोगितामा अन्तिम ६ भित्र पर्ने टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ । 
त्यसैले अब नेपालको चुनौती युएई प्रतियोगितामा अन्तिम ६ भित्र पर्दै विश्वकप खेल्ने रहेको छ । नेपाली टोलीका प्रशिक्षक र कप्तानलाई विश्वास गर्ने हो भने यसपटक विश्वकप खेल्ने नेपालको योजना सफल हुनेछ । प्रशिक्षक दासानायके भन्छन्, 'छनोट प्रतियोगितामा हामीले यसअघि पराजित गरेका टोली पनि छन्, त्यसैले हामीले स्वाभाविक खेल पस्कन सके विश्वकप खेल्ने हाम्रो सपना पूरा हुनेछ ।' कप्तान पारसले भने त्यसका लागि अझै निक्कै तयारी गर्नुपर्नेछ । उनले भने, 'हाम्रा लागि त्यो असम्भव छैन, तर त्यसका लागि अझै निक्कै मिहिनेत गर्न आवश्यक छ ।'

वाह दर्शक !

नेपाली खेलकुदमा उपलब्धि जस्तै होस्, दर्शकहरूले फुटबललाई धेरै माया गर्छन् । रंगशालामा जुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भए पनि नेपाली टोलीको समर्थनमा हजारौँ दर्शक पुग्छन् । तर, आजभोलि क्रिकेटमा दर्शकको चाप बढ्न थालेको छ । यसै हप्ता सम्पन्न एसिसी टी-२० कपका लागि नेपाली टोलीले खेलेको हेर्न हजारौँको संख्यामा दर्शक टियू क्रिकेट मैदानमा ओर्लिए ।
दर्शकले नेपाली टोलीलाई माल्दिभ्सविरुद्ध समूह चरणको खेलबाटै साथ दिएका थिए । नेपाल लगातार जित हात पार्दै सेमिफाइनल र फाइनलसम्म पुग्दा दर्शकको मानवसागर नै ओर्लियो । युएईविरुद्धको सेमिफाइनलमा १५ हजारको हाराहारीमा दर्शक कीर्तिपुर पुगेका थिए । तर, अफगानिस्तानविरुद्धको फाइनल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आएको स्वयम् क्यानले दाबी गरेको छ । फाइनल खेल हेर्न बस्ने ठाउँ नपुगेर दर्शकले बाहिरबाट घेरिएको सबै बार तोडिदिएका थिए ।
दर्शकको साथ र उपस्थिति नेपाली क्रिकेटका लागि वरदान र अभिशाप दुवै सावित भएको छ । वरदान यसकारण कि नेपालले तिनै दर्शकलाई देखाएर भौतिक संरचनामा आफूभन्दा निक्कै अघि रहेका राष्ट्रहरूलाई पछि पार्दै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको छ । तर, झन्डै १६ महिनाअघि आईसिसी विश्व क्रिकेट लिग डिभिजन पाँचअन्तर्गत सिंगापुरविरुद्धको खेलमा दर्शकले ढुंगामुढा गरेपछि आइसिसी र एसिसीले नेपाललाई झन्डै दुई वर्ष कुनै प्रतियोगिता दिएन । 
यसपटक फेरि तिनै दर्शकको साथ देखाएर नेपालले एसिसी टी-२० कप आयोजनाको जिम्मेवारी लिएको थियो । तर, नेपाललाई फेरि दर्शकले त्यस्तै व्यवहार गरिदिने हुन कि भन्ने डर थियो । तर, यसपटक दर्शक निक्कै भव्य देखिए । नेपालले राम्रो खेल्दा वा हारनजिक पुग्दा पनि दर्शकले नेपाली टोलीलाई हौस्याइरहे । 
त्यसैले खेलपछि आयोजक नेपाल क्रिकेट संघ -क्यान) महासचिव अशोकनाथ प्याकुरेल निक्कै हषिर्त देखिए । उनले प्रतियोगिता सोचेको भन्दा निक्कै सफल सम्पन्न भएको बताए । 'दर्शक सहभागिता र व्यवस्थापनका हिसाबले हामी यसपटक निक्कै सफल भयौँ, हामीले प्रतियोगिताको सफल सञ्चालन गरेका छौँ,' उनले भने ।' महासचिव प्याकुरेलले यसपटक दर्शकको साथ अभूतपूर्व रहेको समेत बताए ।
क्यानले टियू क्रिकेट मैदानमा खेल हेर्न आउने दर्शकका लागि पहिलोपटक 'टिकट'को व्यवस्था गरेको थियो । टिकट बेचेरै क्यानले आधा करोडभन्दा बढी रकम उठायो । तर, टिकट सकिएपछि धेरैजसो दर्शकलाई क्यानले टिकटै नलिई मैदानभित्र पठाउन बाध्य भयो । साथै टिकट बिक्री गर्ने स्थानसमेत सहज देखिएन । टिकट काट्ने ठाउँ नै थाहा नपाउने तथा भएका टिकट सेन्टरहरूमा पनि लामो लाइन बस्नुपर्नेलगायत समस्या देखियो ।
नया पत्रिका