चाणक्य र उनका नीति


-कमल रिजाल
चाणक्य नीति एक अति लोकप्रिय नीति हो । केही समय अघि यसको अर्को नेपाली अनुवाद पनि प्रकाशमा आएको छ । ओमप्रकाश अधिकारीको यस अनुवादलाई दुर्गा साहित्य भण्डार वाराणसीले प्रकाशमा ल्याएको हो । यसअघि पनि यसका केही अनुवाद प्रकाशमा आएका छन् । सम्भवतः सर्वाधिक लोकप्रिय नीति भएर नै होला विद्वान्हरूले यसलाई बढी नै रुचाएका छन् । विभिन्न समयमा विभिन्न विद्वान्ले अनुवाद गरी प्रकाशित गराउँदै आएका छन् तर सबै अनुवाद कि गद्यमा भएका छन् कि पद्यमा भएका छन् । एकैसाथ गद्य र पद्य दुवैमा अनुवाद भएको भए जस्तो खासै लाग्दैन तर ओमप्रकाश अधिकारीले भने गद्य र पद्य दुवैमा गरेर नौलो स्वाद चखाएका छन् । छन्दको प्रयोगमा पनि उनी स्वतन्त्र देखिएका छन् । उनले समछन्दी अनुवादको नियमलाई तोडेर आफ्नै रुचिको छन्द प्रयोग गरेका छन् । 
चाणक्य नीति राजनीतिका कुशल खेलाडी आचार्य चाणक्यको अमर कृति हो । चाणक्यद्वारा प्रतिपादित नीतिपरक ग्रन्थ भएकाले यसलाई चाणक्य नीति भनिएको हो । संस्कृत साहित्यका प्रकाण्ड विद्वान् आचार्य चाणक्य अर्थशास्त्र र समाजशास्त्रको पनि त्यत्तिकै पारखी मानिन्छन् । सबैलाई थाहा भएकै कुरा हो उनको अर्थशास्त्र अहिले पनि कौटिल्यको अर्थशास्त्रको नामले विश्वविख्यात छ । त्यति मात्र होइन, उनी कूटनीतिक क्षेत्रका पनि त्यस्तै अद्वितीय प्रतिभा हुन् । कूटनीतिक विशारद भएकैले उनलाई कौटिल्य भन्ने गरिएको पनि पाएको छ । हुनत कतिपयले कुटल गोत्रीय ब्राह्मण भएकाले कौटिल्य भनिएको हो पनि भनेका छन् तर यथार्थ जे भए पनि उनी कूटनीतिक विशारद भने पक्कै हुन् । चाणक्य पनि उनको वास्तविक नाम चाहिँ होइन । उनको बाबुको नाम चणक थियो । चणकका छोरा भएकाले नै चाणक्य भनिएको हो । उनको वास्तविक नाम त विष्णुगुप्त थियो । 


चाणक्यको जन्म ई. पू. ४०० वर्षमा तत्कालीन भारतवर्षको तक्षशिला भन्ने स्थानमा भएको थियो । यो स्थान अहिले पाकिस्तानमा पर्छ । त्यतिबेला तक्षशिला विद्याको एक किसिमले केन्द्रबिन्दु नै थियो । विद्या अध्ययनका लागि निकै टाढादेखि मानिसहरू यहाँ आउने गर्थे । चाणक्यले पनि प्रारम्भिक शिक्षा यहींबाट लिएका हुन् । पछि के भएर हो कुन्नि उनी उच्च शिक्षाका लागि पाटलीपुत्र आए । केही समय अघिदेखि पाटलीपुत्र नन्दवंशीहरूको अधीनमा रहँदै आएको थियो । त्यतिबेला त्यहाँ मगधका राजा धननन्दले राज्य गरिरहेका थिए । चाणक्यको राजघरानामा आवतजावत थियो । विद्वानका लागि कहाँ पो बारबन्देज हुन्छ र । विद्वान् सर्वत्र पूज्यते भन्ने त नीतिमै उल्लेख छ । 
धननन्द राजा त थिए तर असल मानिस भने थिएनन् । उनी साह्रै दुराचारी व्यक्ति थिए । लोभानी र पापानी त उनको मूलभूत विशेषता नै थियो । उनमा कुशल प्रशासकमा हुनुपर्ने गुण त परै राखौं एउटा सामन्य मानिसमा हुनुपर्ने गुण पनि थिएन । चाणक्यलाई उनको बानी व्यवहार यसै पनि मन परेको थिएन । त्यसमाथि एकदिन सार्वजनिक स्थलमै दुव्र्यवहार गरिदिए । त्यसै दिन उनले धननन्दलाई सत्ताच्युत गराउने कसम खाएका थिए । नभन्दै केही समयपछि नै उनले धननन्दलाई सत्ताबाट हटाएर त्यस स्थानमा चन्द्रगुप्त मौर्यलाई राख्ने काम गरेका थिए । उनले चाहेका भए आफै राजा हुन पनि सक्थे तर त्यसो गरेनन् किनकि उनी ब्राह्मण थिए । ब्राह्मणले राज्य गर्ने होइन, सुझाव दिने हो भन्ने उनको मान्यता थियो । हुन पनि इतिहासमा अहिलेसम्म कुनै पनि ब्राह्मणले राज्य गरेको उदाहरण छैन । जहाँसम्म नवराजको कुरा छ त्यो एउटा कोरा मिथक बाहेक केही होइन । यो छुट्टै कुरा हो कि पछिल्लो समयमा कसैलाई ब्राह्मणहरूमाथि गाली गर्दैमा फुर्सद छैन । उनीहरूको दृष्टिमा मानौ समग्र समस्याको जड भनेकै यिनै समुदाय हुन्् । जबकि त्यो समुदायको आफ्नै इतिहास भने परोपकार र परहितमै समर्पित देखिन्छ । 
जे होस् आचार्य चाणक्य समर्थवान् हुँदाहुँदै पनि आफै राजा भएनन् तर चन्द्रगुप्त मौर्यलाई प्रधानमन्त्री बनाएर आफूले सकेको सहयोग गर्न भने बाँकी राखेनन्् । उनले यस अवधिमा युनानी शासकहरूलाई देशबाट हटाउने र स–साना राज्यलाई एकीकरण गरी विशाल साम्राज्य खडा गर्ने कामसमेत गरेका थिए । तथापि उनी आफै भने हमेसा एउटा कुटीमा बसे र त्यसैमा जीवन समाप्त गरे । 
चाणक्यनीतिमा १७ अध्याय र ३३८ श्लोक छन् तर जति छन् सबै उत्तिकै मार्मिक र शिक्षाप्रद छन् । हुनत बार्हस्पत्य नीतिशास्त्र, शुक्रनीति, विदुरनीति, भर्तृहरि नीतिशतक आदि अन्य नीतिग्रन्थहरू पनि उत्तिकै महìवका छन् । महाभारत त यसै पनि नीतिशास्त्रको भण्डार नै मानिएको छ । रामायण र पुराणहरूमा पनि थुप्रै नीतिपरक प्रसंग आएका छन् । यस बाहेक बुद्ध, महावीर, नानक दर्शन समेत यसबाट अछुत् छैनन् । ई. पू. ६२० तिरका युनानी विद्वान् ईसपको नीतिकथा र बाइबलका नीतिपरक प्रसंगहरू पनि आ–आफ्ना स्थानमा उत्तिकै बेजोड छन् । तथापि चाणक्य नीतिले आफ्नो छुट्टै मौलिक पहिचान बनाएको कुरालाई कतै बिर्सन हुँदैन । 
नीति शब्दको अर्थ निकै गहन छ । पाणिनीय व्याकरण अनुसार णीय प्रापणे अर्थात् प्राप्ति अर्थमा रहेको णी (नी) धातुमा क्तिन प्रत्यय लागेर नीति शब्द बनेको छ । यसको अर्थ हुन्छ जसले धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्ध । गर्ने उपाय निर्देश गरेको छ त्यही नै नीति हो । (नियन्ते प्राप्यन्ते लभ्यन्ते अवगम्यन्ते धर्मार्थकाममोक्षोपाया अनया अस्यां वा इति नीति) गीतामा कृष्णले पनि यस्तै आशय प्रकट गरेका छन् । उनी भन्छन्– ‘विजय चाहनेहरूमा (समग्र विपत्तिमाथि विजय प्राप्त गरी जीवन सार्थक पार्ने अर्थमा) नीति भनेको मै हुँ । (नीतिरस्मि जिगीषतां ) यस बाहेक कतिपय विद्वान्ले यसको व्युत्पत्ति अर्कै तरिकाले गर्ने गरेको पनि पाइएको छ । उनीहरूका अनुसार जसले अभ्युदय अर्थात् सर्वकल्याणको मार्ग प्रदर्शन गर्छ वा सुलभ गराउँछ अथवा जसबाट अभ्युदय अर्थात् सर्वकल्याणको मार्ग सुलभ हुन्छ, त्यही नै नीति हो । (नीयतेऽभ्युदयोऽनया या इति नीति) जसले जे भनेका भए पनि जसले जसरी व्युत्पत्ति गर्ने गरेका भए पनि नीति भनेको त्यस्तो विषय हो, जसले मानवमात्रकै हित र कल्याण बाहेक केही गर्दैन । मानिस जुनसुकै धर्म, सम्प्रदाय वा विचार र वादका भए पनि नीतिको आवश्यकता सबैलाई उत्तिकै रहेको हुन्छ प्राय सबै नीतिपरक ग्रन्थहरू संस्कृत भाषामै लेखिएकाले सो भाषामा दखल नभएकाहरूले चाहेर पनि यसतर्फ चासो बढाउन नसकेका यथार्थलाई स्वीकार्नै पर्छ । यस्तो अवस्थामा ओमप्रकाश अधिकारीले नेपाली भाषामा चाणक्य नीतिको अनुवाद गरेर ती समूहप्रति न्याय गर्ने प्रयास मात्र गरेका छैनन् अन्य विद्वत्वर्गलाई यसतर्फ झकझक्याउने काम समेत गरेका छन् । पक्कै उनले जस्तै अन्य विद्वान्हरूले पनि अनुवाद हुन बाँकी नीति ग्रन्थको अनुवादतर्फ ध्यान दिने हो भने यसबाट समाज के कति लाभान्वित होला भनिरहन पर्दैन । साँच्चै भन्ने हो भने नैतिक पतनको सँघारमा पुग्नै लागेको समाजलाई कसैले बचाउन सक्छन् भने यस्तै नीतिशास्त्र र नीतिपरक ग्रन्थहरूले सक्छन् । त्यसैले पनि यसतर्फको चासो बढी आवश्यक हुन पुगेको छ भन्नैपर्छ ।

 साभार:  गोरखा पत्र