किन आउँदैनन् भारतीय प्रधानमन्त्री?

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल आउने भारतीय प्रधानमन्त्रीभन्दा चौबल नेपाली प्रधानमन्त्री भारत भ्रमणमा गएका छन्। झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्दबाहेक सबै प्रधानमन्त्रीले भारत भ्रमण गरेका घटनाले प्रधानमन्त्रीका लागि दिल्ली कति नजिक रहेछ प्रस्ट हुन्छ। यस्ता भ्रमणलाई द्विपक्षीय सद्भावनाका लागि भन्ने गरिए भारतको तर्फबाट त्यसको निरन्तरता पाइँदैन। भारतबाट भ्रमणको निम्तो आउनासाथ गर्व  गर्ने प्रधानमन्त्रीहरू भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन भने असफल हुँदै आएको घटनाले नेपालको कुटनीतिक क्षमता कमजोर बनेको प्रस्ट पार्छ। पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपेन्द्र यादवले दिल्ली नेपालका नेताहरुको राजनीतिक तीर्थस्थल भएको टिप्प्णी गरेबाटै दिल्ली र नेपालका नेताहरुको सम्बन्ध बुझ्न सहज हुन्छ। 
प्रधानमन्त्रीमा निर्वाचित भएपछि छिमेकी देशले कुटनीतिक मर्यादा अनुरुप बधाई र भ्रमणको निम्तो दिने गर्छन्। त्यही मर्यादालाई निरन्तरता दिँदै भारतले पनि नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिँदै आएको छ। नेपालका प्रधानमन्त्रीहरू आवश्यकताभन्दा रहर पुरा गर्न निम्तो पाउने बित्तिकै भारत दौडने गरेका छन्। तर, भारतीय पक्षबाट भने त्यस्तो भ्रमण नियमित भएको पाइँदैन। नेपालका सरकार प्रमुखले भारत भ्रमणलाई गौरवको रूपमा लिने गरे पनि भारतीय प्रधानमन्त्रीले खासै चासो दिने गरेका छैनन्। पछिल्लो पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराई कात्तिक ३ गतेबाट पाँच दिने भारत भ्रमण गरी आइतबार स्वदेश फर्केका छन्। पछिल्लो १४ वर्षमा बनेका सात प्रधानमन्त्रीले ११ पटक भारतको उच्चस्तरीय भ्रमण गरेका छन्। तर सोही अवधिमा जम्मा तीनजना भारतीय प्रधानमन्त्रीले मात्रै नेपालभ्रमण गरेको दुष्टान्तले नेपाल भारत प्रधानमन्त्रीस्तरीय भ्रमणको असमानता देखिएको छ। त्यो पनि नेपालमा भएको सार्क सम्मेलनमा सहभागिता समेत गरेर। पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादव यसो हुनुलाई कुटनीतिक असफलताको संज्ञा दिन्छन्।  

पछिल्लोपटक २०५४ सालमा भारतीय प्रधानमन्त्री आईके गुजरालले नेपाल भ्रमण गरेका थिए। त्यसयता त्यो तहमा भ्रमण भएको छैन। जबकि यसबीचमा नेपालका तर्फबाट पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवाले चारपटक, गिरिजाप्रसाद कोइरालाले तीनपटक, तथा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डां बाबुराम भट्टराईले एक/एकपटक भारतभ्रमण गरिसकेका छन्। प्रधानमन्त्री हुँदा धेरैजसोको प्राथमिकता दिल्ली दरबार हुनुमा हिनभावनाले काम गरेको विश्लेषकहरु बताउँछन्। झलनाथ खनाललाई प्रधानमन्त्री हुँदा भारतले भ्रमणमा नबोलाउनुलाई धेरैले उनको असफलतासंँग पनि जोडे। २०४६ को राजनीतिक परिवर्तनपछि अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ मा, गिरिजाप्रसाद कोइरालाले २०४८, २०५७ र २०६३ मा भारतको भ्रमण गरेका थिए। भारतको भ्रमण गर्नेहरूमध्ये कोइरालाको पछिल्लो भ्रमणले ठूलै सम्मान पायो। २०६२/०६३ को जनआन्दोनलको सफलतापछि नयाँ दिल्ली पुगेका उनलाई स्वागत गर्न प्रधानमन्त्री मनमोहन सिंह स्वयम् विमानस्थल आएका थिए। उनले कोइरालालाई एसियाकै महान् नेताको संज्ञा पनि दिए। पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष मनमोहन अधिकारीले २०५२ सालमा भ्रमण गरेका थिए। 
त्यो भ्रमणमा अधिकारीले सन् १९५० को सन्धि पुनरावलोकनको मुद्दा उठाएपछि ठूलै हलचल मच्चिएको थियो। यस्तै शेरबहादुर देउवा पनि आफू  प्रधानमन्त्री भएका बखत चारै  पटक अर्थात २०५२, २०५७, २०५८, २०६१ सालमा भारत भ्रमण गरेका थिए। प्रचण्डले २०६५ र माधवकुमार नेपालले २०६६ मा भारत भ्रमण गरे। भारतीय प्रधानमन्त्री  चन्द्रशेखरले २०४७ फागुन १ देखि ३ गतेसम्म नेपालको भ्रमण गरेका थिए भने पीभी नरसिंह रावले २०४९ कात्तिक ३ देखि ४ गतेसम्म, आईके गुजरालले २०५४ जेठ १९ गतेदेखि २५ गतेसम्म नेपालको भ्रमण गरेका थिए। सद्भावना भ्रमण दोहोरो हुनुपर्नेमा नेपालका प्रधानमन्त्रीले भारतलाई असाध्यै महत्व दिएको तर भारतले बेवास्ता गर्ने गरेको तर्क पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको छ। 
दक्षिणतर्फको छिमेकी भारतको प्रभाव नेपाली राजनीतिमा लामो समयदेखिको हो। त्यसैले पनि नेपाली राजनीतिज्ञमा भारतीय मनोविज्ञानलाई अनौठो मान्न सकिन्न। तर भारतसँगको सम्बन्धलाई आफ्नो सत्ताको आयुसंग जोडेर हेर्ने हाम्रो मथिङ्गलमा परिवर्तन नआएसम्म नेपाललाई भारतीय पक्षले महत्व नदिने पक्का छ र आउँदा दिनमा भ्रमणको तथ्यांक झनै असुन्तुलित बन्ने छ। 
वीक्ली नेपाल