वालस्ट्रिट कब्जा आन्दोलन र यसको वास्तविकता

-भरतमणि भण्डारी
 संसार कै स्वर्ग मानिने विभिन्न देशमा त्यहाँका शोषक र व्यवस्था विरूद्ध ठूला ठूला आन्दोलनहरू भइरहेका छन्। सबैभन्दा पहिलो कडी पुंजीवादी धनाढ्य बहुराष्ट्रिय निगमहरूको वर्चस्व रहेको वालस्ट्रि्रटको शोषणका विरूद्ध अमेरिकी शहरहरूमा रहेको विशाल प्रर्दशनलाई लिन सकिन्छ। विश्व शहरबजार प्रमुख केन्द्र “वालस्ट्रिट कब्जा गरौ” भन्ने नाराका साथ सुरू भएको अभियान अहिले पनि जारी छ। आर्थिक तथा सामाजिक रूपमा धनाड्य समुहमा केन्द्रित भएको सम्पूर्ण अधिकार बहुसंख्यकको निम्ति खोल्नुपर्छ भन्ने यो आन्दोलनको उद्देश्य देखिन्छ। अरव देशहरूमा भएको बसन्त विद्रोह तथा  स्पेनको आर्थिक संकट पछिको आन्दोलनबाट  प्रभावित भएर अमेरिकीहरू सबैभन्दा पछि सानो समुहबाट सुरूभएको आन्दोलन विस्तारै अमेरिकी ठूला शहरहरूमा फैलिसकेको छ।

      यसरी वालस्ट्रि्रट कब्जा आन्दोलन १४ अक्टोवर २०११ मा आइपुग्दा अमेरिकाबाट प्रकाशित हुने मुख्य समाचार पत्रको ब्यानर न्युजको रूपमा देखापरे। १५ अक्टोवरका दिन त संसारका ८२ मुलुकहरूको १५१ व्यापारिक शहरहरूमा ठूला साना पर्दशनहरू भए। पुंजीवाद र जनतालाई दिइने सार्वजनिक सेवा कटौती विरूद्ध विश्वव्यापी परिवर्तनको नारा सहितको आन्दोलनमा विश्वका ठूला शहरहरूजस्तै न्युयोर्क, म्याडरिड, लण्डन, हङकङ, रोम, सिड्नी तथा टोकियो शहरमा ठूला ठूला पर्दशनहरू भए। यसरी आफूलाई पृथ्वी लोकको नै नाइके ठान्ने यहाँका शोषकको नीद्रा हराम भएको छ।
 


      देश जतिसुकै धनी भएता पनि आर्थिक असमानता, बेरोजगारले आक्रान्त भएका अमेरिकी जनताले सन् २००८ मा भएको राष्टपति निर्वाचनमा वाराक ओवामासंग न्युनतम मानवीय अधिकार माग गरिरहेका थिए मैले  यी सबै गर्नेछु भन्ने आस्वासन दिएर चुनाव जितेका राष्ट्रपति ओवामाले यी  आस्वासनलाई चटक्क बिर्सेर बहुराष्ट्रिय निगमहरूलाई पोस्नुका साथै उनलाई उनको निर्वाचनमा सहयोग पुर्‍याएको वालस्ट्रि्रट दातालाई सहुलियत उपलब्ध गराइरहे। सन् २००७ देखि टाट पल्टिन सुरू गरेका अमेरिकी बैंक तथा वित्तिय संस्थानहरूलाई जोगाउन अमेरिकी सरकारले राज्य कोषबाट अरबौं लगानी गर्‍यो तर हजारौा मानिसले त्यो आर्थिक मन्दीका कारण गुमाएका रोजगारी फिर्ता पाउने अवस्था भएन र त्यसमा ओवामा सरकारले ध्यान दिन सकेन। अझ त्यस पछि त त्यहाँ धनीलाई दिदै आएको विभिन्न कर छुट कार्यक्रमलाई यथावत राख्दै आम जनतालाई दिदै आएको शिक्षा, स्वास्थ्य तथा अन्य अत्यवश्यक क्षेत्रमा दिदै आएको राहात कटौती गर्ने आय भन्दा बढी मुद्रा छापेर मुद्राको आपुर्ति बढाउदा बजार भाउ आकाशियो जुन कारणले गर्दा आम जनताको ढाड अझ सेकियेा। दशकौं देखि धनीहरूलाई पोषण गर्ने र मध्यम तथा न्युन आय भएका वर्गलाई थिचोमिचो गर्दै आएको अमेरिकी प्रशासनलाई प्रतिस्थापना गर्ने र नयाँ अमेरिका निर्माण गर्ने बाचा सहित चुनाव जितेर राष्ट्रपति भएका ओवामाबाट अमेरिकी जनताले धेरै आशा गरेका थिए। तर त्यसको विपरीत ओवामा प्रशासन पनि उही पुरानो ढर्रा अर्थात धनी तथा बहुराष्ट्रिय निगमको पोषक नै भयो। जसको परिणामस्वरूप अमेरिकाका ९९ प्रतिशत १ प्रतिशतका विरूद्ध वालस्ट्रि्रट कब्जा गरौं भन्ने नारा लिएर सडकमा उठेका छन्।


      विश्वको ठूलो प्रजातान्त्रिक देश ठानिने अमेरिकामा यस्तो प्रकारको स्थिति एकाएक बनेको होइन। त्यहाँका शाषकहरूले चुनाव मार्फत आम जनतालाई आसवासन दिइने तर नगर्ने प्रकृति विद्यमान नै थियो। त्यसका साथै अरव विश्वमा भएका विद्रोह पछि मानिसहरूलाई आफ्नो हक अधिकारप्रति सचेत गराउनुका साथै त्यो व्यवस्थाका विरूद्ध विद्रोह गर्नेे आत्मबल विकास हुदै गयो। खासगरी विश्वमा नै नवउदारवादी अर्थ व्यवस्थाले धनीहरूलाई मात्र पोषण गर्छ। तर बहुसंख्यक आमजनतालाई अझ कंगाल बनाउछ भन्ने कुराको प्रभाव पनि पर्न थाल्यो। विशेष गरी सोभियत संघको पतनपछि विश्व पुजीवाद नवउदारवादी अर्थतन्त्रको विकल्प रहित व्यवस्थाका रूपमा संसारभरी प्रयोग गर्यो। अनि बजार अर्थतन्त्रले नेताहरूलाई अन्धो बनाइदियो। जनताप्रति जिम्मेवारी खासगरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा न्युनतम गास, बास र कपासको प्रबन्धमा राज्य गैरजिम्मेवार बन्न पुग्यो। राज्यलाई नांगो बनाउने यी विश्व योजना अरू केही नभएर देशका नागरिकलाई नागरिकबाट उपभोक्ता बनाउने अभियान थियो। जसको राज्यले जिम्मेवारी लिनु पर्दैन। सम्पूर्ण राज्यका सामाजिक र आर्थिक शक्ति ओगटेका सम्रान्तहरूले हाम्रो सामु बजारलाई नयाँ भगवान बनाएदिए र राज्य त्यससंग आश्रित बस्तु। विकसित देशमा आम मानिसले किन यस्तो भयो भनेर प्रश्न नै गरेनन्। आँखा चिम्लेर नेताहरू माथि भरोसा गरिरहे। वास्तवमा राज्यलाई चनाखो र जिम्मेवारी बनाउने जनता जागरूक हुनु जरूरी थियो। तर त्यसो भएन। नियमन र नियन्त्रण अभावमा राज्यको अर्कमण्यका कारण धनीहरू सर्वाधिक धनी हुन पुगे भने गरिब झन दरिद्र।


      नेतृत्व परिवर्तन हुंदा सिस्टममा देखिएको समस्यालाई जरैदेखि परिवर्तन गर्ने आस्वासन दिएका नेताहरूले राजनीतिको मूलधारमा पुगेपछि पुरानै नीति र कार्यशैली दोहोर्‍याइरहे। एउटा उदाहरण बाराक ओवामा हुन्। उनीमाथि जनताको अपेक्षा बढी थियो तर रोनाल्ड रेगनदेखि जर्ज डब्लु बुससम्म आइपुग्दा जे जस्ता नीति अपनाइएको थियो तीनलाई दोहोराउन उनी विवश भए। जहाँ सम्पति नै कानुन र नीतिलाई डोराउने हुन्छ। त्यो व्यवस्था त्यसै पनि खोक्रो हुन्छ। व्यवस्थाको बिंडो थाम्ने नेतृत्व झन लाचार र खोक्रो  
हुन्छ। हामी परिवर्तन गर्न सक्छौं भनेर खडा भएका ओवामा देशभर  सर्वसाधारणको विरोध खेप्न बाध्य छन्।


      अमेरिका तथा विश्वमा भएको यो आन्देलनले आम जनसमुदायमा पुंजीवाद मार्फत युद्ध, जातिवाद तथा वित्तय पुंजीको आडमा बृहत्तर शोषण तथा अन्याय भइरहेको बारे सचेत गराउने छ। नव उदारवादी अर्थतन्त्रको प्रभाव कतिसम्म डर लाग्दो हुनेछ भन्ने कुराको ज्ञात पनि गराउने छ। आम मानिसलाई मताधिकारको आधारमा मात्र होइन। आम जनसमुदाय सम्मिलित भएको प्रगतिशील आन्दोलनले पनि विकल्प खडा गर्न सक्छ भन्ने विश्वास जाग्नेछ। एकोेहोरो आफ्नो नेतालाई मात्र भर नगरेर शोषकले के गरिरहेका छन् भन्ने कुराको पनि निगरानी राख्न उत्प्रेरित गर्नेछ। यसका साथै अर्को कुरा के पनि भन्न सकिन्छ भने नवउदारवादी विश्व व्यवस्थामा आम मानिस विश्वभरी नै पीडामा छन्। पीडाले गर्दा नै संसार आन्दोलित भएको छ र अमेरिका पनि। यदि अमेरिकीहरू विश्व आन्देलनबाट प्रभावित भएर मात्र आन्दोलित भएका भए सेलाउँछन्। यदि आफू र आफ्नो भावी पुस्तको निम्तिका लागि आन्दोलित भएका हुन भने यो आन्दोलन अघि बढ्ने छ।  


      अमेरिका जस्तो देशमा यस्तो आन्दोलन हुनु सर्वसाधारणई आश्चर्यको कुरा हो। जिउने साधनको न्युनतम विकल्प हुन्जेल कोही सडकमा उर्लिदैनन्। अमेरिकामा बितेका ४० वर्षमा धनी र गरिब बीचको डरलाग्दो खाडल बन्यो। नहुनेको पीडा डर लाग्दो बन्दै गइरहेको छ। त्यही पीडाको अभिव्यक्ति यो हो वालस्ट्रि्रट कब्जा आन्दोलन। यो आन्दोलन अमेरिका तथा विश्व पुंजीवादलाई डरलाग्दो चुनौती बनेको छ। र यो आन्दोलनलाई त्यहाँका शोषकहरूले कसरी सुल्झाउँछन् त्यो हेर्न बाँकी नै छ ।