युरोप पुरै अपांग, हजारौं यात्रु अलपत्र





                (बेलायतको हिथ्रो विमानस्थलमा अलपत्र परेका यात्रु)
तिन दिन देखि परेको हिउँले पुरै युरोप अपांग पारेको छ । हिउँले विमानस्थल ढाकेर बेलायतमा ५० प्रतिशत विमान सेवा रद्द गरिएको छ । राजमार्ग, सडक र अन्य गल्ली गल्लीमा लाखौँ कार र बस रोकिएका छन् । लाखौँ मानिस गाडी भित्रै परेका छन् । गत चौबीस घण्टा भन्दा लामो समयदेखि पानीसम्म नखाइ बस्दा कतिको स्वास्थ्य स्थिति सोचनिय भैसकेको छ । जर्मनी, फ्रान्स, बेल्जियम, बेलायत, नर्वे, स्वीडेन, फिनल्याण्ड सारा देशको हालत उस्तै छ ।

युरोपका विभिन्न देशलाई जोड्ने रेल सेवा विच्छेद भएका छन् । हजारौं यात्रु रेल स्टेसन, विमानस्थल र बस पार्कमै अलपत्र परेका छन् । बस्ने, खाने र सुत्ने ठाउँको टुंगो छैन । कतिपय ठाउँमा तापक्रम घटेर माइनस २० सम्म झरेको छ । हिउँ सँगै थपिएको हावा हुरीले गर्दा हजारौं उडान रद्द गरिए हिजो सोमवार । सोमवार बेलायतको हिथ्रो विमानस्थलबाट उड्ने छोटो दूरीका सबै उडान रद्द गरिएको थियो ।
घर घरमा विद्युत आपूर्ति काटिँदा कतिले पकाएर खान पाएका छैनन् । घर तताउन नपाउँदा कठ्यांग्रिएर भोकै परेका छन् । अस्पत्तालहरु चिसो लागेका बिरामीले भरिभराउ छन् । आपत्कालिन सेवा र एम्बुलेन्सको माग यति बढेको छ की सरकारले दिन सक्ने अवस्थै छैन । विरामे लिन जाने चिकित्सक र एम्बुलेन्स गाडीहरुपनि हिउँले गर्दा रोकिएका छन् । हिउँ यति धेरै पर्‍यो कि कतिपय मानिसले त सडकमै हिम चिप्लेटी खेले ।
युरोपेलीहरूको मुख्य पर्व क्रिसमस पर्सिबाट शुरु हुँदै छ । लगतै नयाँ वर्ष छ । यही बेला हिउँले जीवन अस्तव्यस्त बनाएकाले युरोपेली सरकारहरूले आफ्ना सबै भ्रमण योजना रद्द गर्न नागरिकहरुसित आग्रह गरेका छन् । त्यसता भ्रमणमा जान उत्साह नगर्नपनि ट्राभल कम्पनी र अन्य सरोकारवालालाई आग्रह गरेका छन् । विमानस्थलका लागि घरबाट निस्किनु अघि आफ्नो उडान रद्द भए नभएको जाँच गरेरमात्र निस्कनपनि विमानस्थल अधिकारीहरूले सचेत गराएका छन् ।

          (पेरिसको ओर्ली विमानस्थलमा एउटा विमानको पखँटाबाट हिउँ पन्छाउँदै विमानस्थल कर्मचारी)
विमानस्थलभरि सिरक, सिरानी र स्लिपिङ ब्याग यत्रतत्र देखिन्छन् । विमानस्थलको रेस्टुरेन्टमा हजारौं लाइनमा बस्छन् खाना लिनकोलागि। बल्ल बल्ल पालो आएर रिसेप्सनमा पुग्दा सिद्दिसकेको हुन्छ । कति यात्रु भोकै पर्ने अवस्था छ ।
युरोपको सबै जसो देशमा जाडो याममा हिउँ परेपनि यस पटक खसेको हिउँले धेरैलाई छक्क पारेको छ । बेलायती अधिकारीहरूका अनुसार त्यहाँको हिथ्रो विमानस्थलमा आठ इन्च हिउँ जमेको थियो । त्यसैले रसिया र मस्को जाने विमान रद्द गर्नु परेको थियो । विमानमा जमेको हिउँ पन्छाउनै श्रमिकहरूलाई त्यहाँ हम्मेहम्मे पर्‍यो । विमान गुड्ने धावन मार्गको हिउँ त उनीहरूले झन् पन्छाउनै सकेनन् ।
अमेरिकी सरकारले पनि नेदरल्याण्डको एम्स्टरडम, पेरिस, फ्र्याङ्कफर्ट र लण्डन उड्ने आफ्ना नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । हङकङको क्याथे प्यासेफिक एयरलाइन्सले लण्डन उडान अर्को सूचना जारी नगरेसम्मकालागि भन्दै रद्द गरेको छ । अष्ट्रेलियाली कम्पनी क्वान्टसले लण्डन उड्ने केही रद्द गरेको र केहीको समय बदलेर  ढिलो गरिएको जनाएको छ । जर्मनी, डेनमार्क, फ्रान्स, बेलायत यी सबै मुलुकले कहीँ कतै जानु पहिले मौसमी जानकारी लिएर र उडान जाँच गरेर मात्रै जान आग्रह गरेका छन् । अझ मौसम भविष्यवाणी गर्ने राष्ट्रिय एजेन्सीहरूले त मंगलवार र त्यसपछिको केही दिन अझ बाक्लो हिउँ पर्न सक्ने भन्दै सचेत गराएका छन् ।
हिउँ सहितको हावा हुरी तीव्र भएपछि सोमवार पेरिसको चार्ल्स द गोल र ओर्ली विमानस्थलबाट उड्ने कम्तीमा ३० प्रतिशत उडान रद्द गरियो । १३ हजार यात्रु विमानस्थलमै अलपत्र परे । सडकमा हिउँ पन्छाउनका लागि नगर प्रहरीहरूलाई उपयुक्त उपकरणसहित परिचालन नगरेर नागरिक प्रति बेवास्ता गरेको भन्दै फ्रान्सेलीहरुले सरकारको आलोचना गरेका छन् ।