पाइलट कसरी बन्ने ?

 

 
 
 
काठमाडौ, पुस १६ - नेपाली आकाशमा जहाज उड्न थालेको ६१ वर्ष भयो । ६० को दशकतिर विदेशी पाइलट मात्रै रहेको नेपाली आकाशमा यतिबेला नेपालीको बाहुल्य छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार नेपालमा पाइलट कोर्सको व्यावसायिक तालिम केन्द्र नभएकाले पछिल्ला वर्ष पाइलट पढ्न नेपाली विद्यार्थी अमेरिका, फिलिपिन्स, दक्षिण अपि|mका, क्यानाडा, अस्ट्रेलियालगायतका मुलुक जान्छन् । चार वर्षअघि नेपालमा व्यावसायिक पाइलट कोर्स पढाउन शिवानी एयरले अनुमति पाएको थियो । तर सञ्चालनमा आएको दुई वर्ष नबित्दै उक्त कम्पनी बन्द भयो । बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पाका अनुसार ७० को दशकदेखि पाइलट पढ्न विदेशिने क्रम यतिबेला अमेरिकातिर घट्दै गइरहेको छ भने फिलिपिन्समा बढ्दो छ किनकि अमेरिकाले जुम्ल्याहा भवनमा भएको आक्रमणपछि बाहिरबाट पाइलट कोर्स पढ्न जानेलाई कडाइ गरेको छ ।

सुरुका वर्षमा कोलम्बो प्लानअन्तर्गत एसएलसी पास गरेका जेहेन्दार विद्यार्थी पाइलट कोर्स पढ्न अमेरिकालगायतका मुलुक छात्रवृत्तिमा पसेका थिए । तर यतिबेला पैसा हुने विज्ञान र गणितका जोकोही जेहेन्दार विद्यार्थी सहजै पाइलट कोर्स पढ्न सक्छन् । विश्वविद्यालयको कुनै पनि तहसँग सम्बन्धित नभएको यो प्राविधिक तालिम दिन विभिन्न मुलुकमा केन्द्र छन् ।
आर्थिक अवस्था बलियो भएका विद्यार्थीहरूको रोजाइमा अमेरिका पर्छ तर वायुसेवासँग सम्बन्धित संस्थाले ग्यारेन्टी नबसेसम्म भिसा पाउन कठिन छ । त्यहाँ कडाइ गरिएपछि अधिकाशंको रोजाइमा यतिबेला फिलिपिन्स भएको छ । किनकि उक्त मुलुकका लागि भिसा आवेदन लिइरहनु पर्दैन । त्यही पुगेपछि सजिलै भिसा पाइन्छ, अमेरिकाको दाँजोमा शुल्क पनि सस्तो छ ।
हाल नेपाल सरकारले पाइलट कोर्स पढ्न विदेशिनेलाई अनिवार्य विज्ञान वा गणित विषय लिई प्लसटु वा 'ए' लेभल वा यी दुई सरह हुनुपर्ने तोकेको छ । पुतलीसडकको एक कन्सल्टेन्सीका कार्यक्रम निर्देशकका अनुसार पाइलट कोर्स गर्न चाहनेलाई सघाउन राजधानीमा दुई दर्जन बढी निजी परामर्श केन्द्र छन् । प्राधिकरणबाट अनुमति पाएका अधिकांश केन्द्रले पाइलट तालिम दिने विदेशी संस्थासँग सहकार्य गरी पठाउँछन् । यिनले शैक्षिक डकुमेन्टका साथ शिक्षा मन्त्रालय, सिनामंगलमा रहेको प्राधिकरणको अनुमतिपत्रलगायतका आवश्यक डकुमेन्ट जुटाइदिन्छन् । प्रक्रियामा सघाएबापत १५ देखि ३० हजारसम्म सेवा शुल्क लिन्छन् । केहीले पठाउनुअघि काठमाडौंमै केही घन्टा विमान र विमानस्थलबारे सामान्य प्रयोगात्मक कक्षा पनि दिन्छन् ।
अमेरिकाबाट पाइलट कोर्स गरी हाल नेपाल वायुसेवा निगमको टुइनअटर उडाइरहेका पाइलट दीपु जुआर्चनका अनुसार अमेरिकामा पाइटल कोर्सका लागि २८ देखि ३५ लाख खर्च हुन्छ । उनका अनुसार पाइलट कोर्सको अवधि नौ महिनादेखि १८ महिनासम्मको छ । पाइलट कोर्स पढेर नेपाल आउनेबित्तिकै उडान भर्न पाउन सजिलो छैन । नेपालमा फेरि प्राधिकरणले लिने परीक्षा पास गर्नुपर्छ । २७ सय घन्टा उडाइसकेपछि क्याप्टेनका लागि योग्य भइन्छ । वायुसेवा सञ्चालक संघका अनुसार पूर्वाधार, एयरलायन्स कम्पनी र एयरक्र्यापmटको विकास हुन नसकेका कारण हाल २ सयभन्दा बढी पाइलट कोर्स सकेका प्राविधिक युवायुवती बेरोजगार छन् । छिमेकी मुलुक भारतमै पनि पाइलट कोर्स सकेका प्राविधिक बढेपछि त्यहाँको सरकारले रोजगारमा पहिलो प्राथमिकता आफ्नालाई दिन थालेको छ । त्यहाँको सरकारी नीतिका कारण भारतमा रोजगार खोज्दै  जाने प्रचलन हाल घट्दै गएको छ । राम्रो कमाइका लागि यो मुलुकबाहेक अन्य मुलुकमा नेपाली पाइलटलाई काम पाउन मुस्किल छ । नेपाली आकाशमा यतिबेला २ सय ५० हाराहारी पाइलट छन् । उनीहरूको  सुरुवाती मासिक पारिश्रमिक ४० हजारदेखि सुरु भई वरिष्ठ क्याप्टेनको ७ लाखसम्म रहेको छ ।

सूरज कुंवर
साभार : कांतिपुर दैनिक