चौथो क्यान इन्फोटेक लुम्बिनी

कम्प्युटर एशोसिएशन अफ नेपाल लुम्बिनी (क्यान लुम्बिनी) को आयोजनामा आगामी माघ ६ देखि ९ गतेसम्म बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान  इन्फोटेक लुम्बिनी हुने भएको छ । बुटवलको हाटबजारस्थित बालमन्दिरमा हुने चौथो इन्फोटेकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय १६ स्टल सहभागी हुने तथा  ३ लाख दर्शकले अवलोकन र ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको क्यान लुम्बिनीले जनाएको छ ।

इन्फोटेकमा जापान, कोरिया, भारत, जर्मनी आदि देशमा निर्मित कम्प्युटर, ल्यापटप आदि सूचना प्रविधिसँग सम्बन्धित सामानहरू २० देखि ४० प्रतिशत कम मूल्यमा  उपलब्ध गराउने आयोजकहरूको दाबी छ । गुणस्तरीय सामानहरू एउटै थलोमा उपलब्ध गराएर बजार मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्ने र विश्वमा विकसित  सूचना-प्रविधिको जानकारी गराउने उद्देश्यले इन्फोटेकलाई निरन्तरता दिन लागिएको अध्यक्ष प्रकाश रानाले साप्ताहिकलाई बताए । ४ हजार ५ सय रुपैयाँको ल्यापटप  विशेष आकर्षण हुने इन्फोटेकमा आईसीटी कन्फरेन्सअन्तर्गत भिलेज कनेक्टिभिटी, डिजिटल सिक्नेचरलगायत नयाँ प्रविधिहरूका सम्बन्धमा गोष्ठी एवं सेमिनारसमेत सम्पन्न गरिनेछ ।