पार्श्व गायनमा मुम्बईया एकाधिकार तोड्न नेपाली निर्माता, निर्देशक र सङ्गीतकारहरूको रोजाइका गायक बनेका राजेशपायल राई ले १२औं एकल अल्बम राई इज किङ ल्याएका छन्। गायन यात्राको १९ वर्षमा एकपछि अर्को सङ्घर्ष गरेर आजको स्थानमा आइपुगेको बताउने राजेशले ३०० भन्दा बढी फिल्म, लोक, आधुनिक, पप-रक गरेर करिब १२ सय गीत गाइसकेका छन्।
२०६७ सालमा मात्रै हिट्स, अन्नपूर्ण, कालिका एफएम म्युजिक अवार्ड का साथै छिन्नलता पुरस्कार जितेका भर्सटायल राजेशको पहिलो अल्बम मूर्छना २०५२ सालमा आएको थियो। आज फिल्मी गायनसँगै सुगम सङ्गीतमा उचाइ बनाएका उनी पछिल्लो अल्बमको नामकै कारण पनि चर्चामा छन्। अल्बमको नाम नै राई इज किङ राखेर आफूलाई राजा भनाउन खोजेको हो?
सुन्दा त्यस्तो लाग्न सक्छ, तर यो मैले आफैँ राखेको नाम होइन। गत वर्ष कान्तिपुर साप्ताहिकमा गायन क्षेत्रमा मेरो योगदानको मूल्याङ्कन गर्दै राई इज किङ शीर्षकमा लेख प्रकाशित भएको थियो। मेरा श्रोता/दर्शकले त्यसलाई मन पराएर मलाई राई इज किङ भन्न थाले। अनि मलाई त्यो मन परेर नयाँ अल्बमको नाम त्यही राखेँ। यही नामबाट आफैँ नायक भएर फिल्म पनि बनाउने तयारीमा छु।
नाम राख्नुअघि त्यस्तो केही सोचिएन। ममा जातीय सङ्कीर्णता छँदा पनि छैन। अल्बमको नाम कतिपयलाई मन नपर्ला, कतिले औंला पनि ठड्याउलान् तर मेरा दर्शक/श्रोताले यसरी हेर्दैनन्। फेरि अल्बमको नाम जेसुकै भए पनि सबै नेपाली गीत नै छन्।
यसमा श्रोताका लागि विशेष के छ?
यसमा सेमी क्लासिक, रक, सुफी सबै किसिमका गीत छन्। दुःख, सुख, माया-प्रेम, राष्ट्रिय भावना सबै छन्। युवा र परिवर्तित समाजको भावना समेटिएको छ। लिम्बू भाषाको शब्द विचार चोंगे (विचार गर) लाई नेपालीमा फ्युजन गरेको छु। क्या मज्जा..., आफ्नो छैन आफ्नै मन.. आदि गीतहरू श्रोताले रुचाइरहेका छन्। यी गीतहरू आइट्युन्स, नोकिया'भीआई, सेलरोटीडटकम आदिबाट विश्वभरका श्रोताले डाउनलोड गर्न सक्छन्। कोरिया, मलेशिया र गल्फमा सीआरबीटी लिन सकिन्छ।
फिल्मी गायन फाप्यो हैन?
आधुनिक पनि फापेको छ। कुनै दिन ५/६ वटासम्म फिल्मका गीत गाइरहेको हुन्छु। गत वर्ष निकालेको दर्शन नमस्ते अल्बमका गीतहरू पनि श्रोताले औधी रुचाए। फिल्मका गीतहरू पनि हिट भइरहेका छन्। अवार्ड र सम्मानहरू पाइरहेकै छु। फिल्मका निर्माता/निर्देशकहरू पनि पार्श्व गायक खोज्न मुम्बई धाउन छाडेका छन्।
तिम्रै लागि, कानुन लगायतका ९ फिल्ममा सङ्गीत पनि दिएँ। गुण्डाराज फिल्ममा नायक बनेँ। अब आफैं फिल्म बनाउने तयारीमा पनि छु। तर, मेरो मुख्य विधा चाहिँ आधुनिक र फिल्मी गायन नै हो।






Kathmandu Time



