एसियाका सबैभन्दा कान्छा अर्बपति योशिकाजु टानाका

आफ्नै स्वविवेकले एसियाका सबैभन्दा कान्छा अर्बपतिको स्थानमा आफ्नो नाम लेखाएका ३२ वर्षे योशिकाजु टानाका अरुहरूको सफलताको शिष्य हुन् । सामाजिक नेटवर्किङ साइट ‘ग्री’ का संस्थापक टानाका आफ्ना जापानी
प्रतिद्वन्द्वीहरूको गतिविधिबारे धेरै नजिकबाट नियालिरहेका हुन्छन् । विशेषगरी उनले सामाजिक नेटवर्किङ साइटः ‘मिक्सी’ र ‘डेना’ को कार्यशैलीप्रति सजक रहेका हुन्छन् ।

उनले प्रत्येक सोमबार बिहान १० बजे स्टाफ मिटिङ गर्ने गर्छन् । जसमा उनले आफ्नो कामदाहरूको कार्यकुशलताको प्रबद्र्धन गर्छन् र प्रतिद्वन्द्वीहरूलाई पछाडि पारी नम्बर एक बन्ने संकल्प गर्छन् ।

पछिल्लो केही वर्षयता ‘ग्री’ को स्टक बढ्ने क्रम अत्यन्त तीव्र बनेको छ । सन् २००९ मा स्टक दोब्बरले बढेको थियो । उनले सन् २००८ को डिसेम्बरमा कम्पनीको १७ करोड अमेरिकी डलर बराबरको सेयर बिक्री गरेका थिए । हाल कम्पनीमा उनको सेयर ५१ प्रतिशत कायम छ, भने उनको खुद सम्पत्ति झन्डै १.६ अर्ब डलर छ । जुन रकम उनलाई जापानका सर्वोत्कृष्ट ४० धनीहरूको सूचीमा १८ औं स्थानमा उभिन मद्दत गरेको छ । त्यसैगरी सामाजिक नेटवर्किङ साइट ‘मिक्सी’ का संस्थापक केन्जी कासाहारा ३३ औं स्थानमा छन् । उनको खुद सम्पत्ति ७२ करोड डलर छ ।
आफ्नै स्वविबेकले सम्पत्ति आर्जन गरी केवल ३५ वर्षभन्दा कम उमेरका एसियाली तीन अर्बपतिमध्ये एक हुन टानाका । वास्तवमा विश्वमा आफ्नै परिश्रमले अर्बपति बनेका सबैभन्दा कान्छो÷कम उमेरका अर्बपतिको ताज भने २६ वर्षे फेसबुकका संस्थापक मार्क जकरबर्गले पहिरेका छन् ।

हालसम्म ग्रीका प्रयोगकर्ता संख्या १ करोड ५० लाखको हाराहारी पुगेको बताइएको छ । जुन अघिल्लो वर्ष कायम ८० लाखको तुलनामा निकै उच्च हो । यसले जापानमा दोस्रो ठूलो सामाजिक सञ्जालका रूपमा रहेको डेनालाई गत सेप्टेम्बर महिनामा उछिनेको थियो ।

अहिले प्रमुख प्रतिद्वन्द्वीका रूपमा रहेको सामाजिक नेटवर्किङ साइट मिक्सीलाई पाखा लगाउने सुरमा निरन्तर ग्री लागि परेको छ । हाल मिक्सीको प्रयोगकर्ता संख्या १ करोड ८० लाखको हाराहारीमा छन् । यसको प्रयोगकर्ता बढ्ने क्रम पहिलेको तुलनामा न्यून हुन थालेको छ ।
टानाका भन्छन्, “हामीले मिक्सीलाई आगामी ६ महिनाभित्र नै उछिन्ने छौं । धेरै उत्साही टानाका आफ्ना सेवाग्राही÷प्रयोगकर्ता छिट्टै नै दोब्बर अर्थात् ३ करोड पुग्ने दाबी गरेका छन् ।
ग्री वेबसाइटले मुख्य गरी सहज मोबाइल गेम तथा मनोरन्जनात्मक खालका क्षेत्रलाई बढी जोड दिँदै आएको छ । टानाकाले भने, “जापानीहरू गेम खेल्न धेरै रुचाउँछन् ।” टानाकाको वेबसाइट ग्रीप्रति धेरै आकर्षक बनेका टोकाई टोकियो सुुकुरिटिजका विश्लेषक आकिरा सुजुकीले भन्छन्, “ग्री धेरै हल्का र सहज छ ।”
टानाकाले अमेरिकी भविष्यविद् अल्भिन टफलरको लेख पढेपछि पहिलो पटक डिजिटल समाजप्रति आकर्षित बनेका थिए । उनी सन् १९९० मा प्रकाशित टफलरको ‘पावरसिफ्ट’ नामक पुस्तकको अध्ययनले धेरै प्रेरित बनेका हुन् । उक्त पुस्तक अध्यन गर्ने समयमा उनी माध्यमिक विद्यालयका विद्यार्थी थिए ।
सन् १९९६ मा पहिलो पटक अमेरिका भ्रमणको क्रममा उनले इन्टरनेटको अनुभव लिएका थिए । अमेरिका बसाइको क्रममा निहान युनिभिर्सिटीबाट राजनीति र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका टानाका समकक्षी अर्बपति हिरोसी मिकिटानीसँग केही वर्ष अनलाइन बिक्री वितरणमा जागिर गरेका थिए  । हाल मिकिटानी जापानको अनलाइन सपिङ मल ¥याकुटेन सञ्चालन गर्दै आएका छन् ।
उनले विद्यार्थी जीवनमा वेबसाइट र ब्यानर विज्ञापन बनाउने कार्यलाई बढी जोड दिएका थिए । त्यसको अलावा उनले ब्लग बनाउने कार्यलाई पनि प्राथमिकतामा राखेका थिए । त्यसपछिका दिनहरूमा उनका दैनिकी सामाजिक नेटवर्किङ साइटमा नै रम्न थाल्यो ।
यसरी सन् २००४ मा आएर उनले स्वतन्त्र वेबसाइट खोले, जसको नाम ‘ग्री’ राखियो । जापानी टेलिकम संस्था केडीडीआईसँग सन् २००६ मा ग्रीले सहकार्य गर्ने सहमति गरेपश्चात् यसको विस्तार उच्च भएको हो । हाल ग्रीमा टेलिकमको हिस्सा ७ प्रतिशत छ । दुई संस्थाबीचको सहकार्यले मानिसहरू मोबाइलको होम पेजबाट ग्रीको साइटसम्म पुग्ने अवसर पाए । जसले गर्दा ग्रीको प्रयोगकर्ताहरू बढ्ने क्रमले अझ बढी निरन्तरता पाएको हो ।
करोबार दैनिक