अब १० कक्षासम्म पाठ्यपुस्तक निःशुल्क

आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयका नौ र १० कक्षाका विद्यार्थीलाई पनि निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई निःशुल्क गर्दै लैजाने नीतिअनुसार दुवै कक्षाका पाठ्यपुस्तकका लागि करिब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अन्तरिम संविधानमा विद्यालय शिक्षालाई निःशुल्क गर्दै जाने उल्लेख भएको र सर्वोच्च अदालतले समेत त्यस्तै आदेश दिएका कारण मन्त्रालयले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । शिक्षा विभागका कार्यक्रम तथा बजेट शाखा प्रमुख दीपक शर्माका अनुसार यस वर्षका लागि नौ र १० कक्षाका ६ लाख ५६ हजार चार सय २४ विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क वितरण गरिनेछ ।
पाठ्यपुस्तक खरिदका लागि विनियोजित ३७ करोड ६६ लाख ८८ हजार रुपैयाँमध्ये विद्यार्थीसंख्याका आधारमा सबै जिल्ला शिक्षा कार्यालयमा पठाइएको विभागका कार्यक्रम प्रमुख शर्माले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयहरूले रकम विद्यालयमा वितरण गर्ने उल्लेख गर्दै शर्माले भने, 'निःशुल्क पुस्तक वितरणबारेमा अख्तियारी पठाइसकेका छौँ ।'


वैशाखबाट सुरु हुने शैक्षिक सत्रमा कक्षा नौमा तीन लाख ५३ हजार पाँच सय १५ विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । शिक्षा विभागका अनुसार नौ कक्षाका लागि ६ वटा अनिवार्य र दुई ऐच्छिक गरी आठवटा पाठ्यपुस्तकका लागि प्रतिसेट पाँच सय ९६ रुपैयाँका दरले करिब २१ करोड सात लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, कक्षा १० मा तीन लाख दुई हजार नौ सय नौ विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । १० कक्षाका पाठ्यपुस्तकको प्रतिसेट पाँच सय ४८ रुपैयाँको दरले १६ करोड ५९ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कक्षा आठसम्मका विद्यार्थीले भने यसअघि नै निःशुल्क पुस्तक पाइरहेका छन् । शिक्षा मन्त्रालयले कक्षा एकदेखि पाँचसम्मका ४२ लाख ५६ हजार विद्यार्थीका लागि ७३ करोड ९४ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, कक्षा ६ देखि ८ सम्मका १३ लाख ६६ हजार विद्यार्थीका लागि ५५ करोड ४४ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ । सरकारले त्यसअघि सीमान्तकृत तथा आदिवासी जनजाति विद्यार्थीलाई मात्र पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको थियो ।
भवानीस्वोर  गौतम
नया पत्रिका