एसियामा बढ्दैछन्, अर्बपतिहरू

एसियाको नयाँ बढ्दो अर्थतन्त्रका अर्बपतिहरूले युरोपेली अर्बपतिहरूको संख्यालाई उछिनेको फोब्र्सले जनाएको छ । सो आर्थिक पत्रिकाद्वारा सार्वजनिक वार्षिक धनीहरूको सूचीअनुसार अर्बपतिहरूको संख्याको आधारमा अमेरिकापछि एसिया दोस्रो स्थानमा छ ।
शक्तिशाली एसियालीहरूले युरोपेली अर्बपतिहरूलाई पाखा लगाइदिएका छन् । युरोपको सबैभन्दा ठूलो अर्बपतिहरूको थलोका रूपमा रहेको रूसबाट उदाउँदा एसियाली राष्ट्रहरूमा अत्यधिक कच्चा पदार्थको माग आउन थालेको छ । यसले पनि त्यहाँका धनाढ्यहरूको वित्तीय अवस्था परनिर्भर रहेको संकेत देखिएको छ ।
“यो वर्ष चीनले वास्तवमै धेरै राम्रो गर्न सफल भयो,” फोब्र्सका वरिष्ठ सम्पादक लुइसा क्रोलले भनिन्, “एसियामा पहिलो पटक युरोेपको तुलनामा बढी अर्बपतिहरू देखिएका छन् ।”
एसियाली राष्ट्रहरूमा अर्बपतिको संख्या अधिक रहेकोमा चीन सबैभन्दा अघिल्लो पंक्तिमा परेको छ । अघिल्लो पटक फोब्र्सले सार्वजनिक गरेको धनीहरूको वार्षिक सूचीमा त्यहाँ जम्मा ६९ जना अर्बपति रहेकामा एक वर्षको अन्तरालपछि अहिले अर्बपति संख्या बढेर १ सय १५ पुगेको छ ।
यसैगरी हङकङमा अर्बपति संख्या २५ बाट बढेर ३६ पुगेको छ । भारतमा पनि अर्बपति संख्या बढ्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो वार्षिक प्रतिवेदनमा जम्मा ४९ जना अर्बपति रहेको भारतमा यो पटक ५५ जना पुगेका छन् ।

यसरी समग्रमा एसिया–प्रशान्तमा अर्बपति संख्या अघिल्लो पटक कायम अर्बपतिको संंख्या २ सय ३४ बाट बढेर ३ सय ३२ पुगेको छ । जसले युरोपका ३ सय अर्बपतिहरूलाई सजिलै उछिनेको छ ।
युरोपमा हाल रहेका ३ सयमध्ये १ सय १ जना अर्बपति रूसी छन् । जसमध्ये रूसको राधजानी सहर मस्कोमा मात्र ७९ जना अर्बपति बस्ने गरेको फोब्र्सले जनाएको छ, जसलाई औपचारिक रूपमै विश्वका अर्बपतिहरूको राजधानी पनि भन्ने गरिन्छ ।
एसियामा उल्लेख्य मात्रामा अर्बपतिहरूको उदय हुनुको रहस्य यस क्षेत्रको बढ्दो स्टक बजार र व्यवसायी–मैत्री सरकारको ठूलो योगदान रहेको क्रोलको भनाइ छ ।
उता युरोपमा रुसको कमोडिटी उद्योगले अर्बपतिहरूको संख्या बढाउन उल्लेख्य सहयोग गरेको हो । मुख्यगरी कच्चा पदार्थ तथा विलासी सामग्रीका भोका एसियाली राष्ट्रहरूमा माग बढ्ने क्रमले निरन्तरता पाएकोले गर्दा ती कमोडिटीमा आधारित रुसी अर्बपतिहरूको सम्पत्ति बढेको हो ।
“यदि तपार्इं संघाई बस्न जानुहुन्छ भने आजको दिनमा धनी हुन धेरै सहज छ । यदि म २२ वर्षको भएँ र एउटा उद्यमी भने मैले कर्मचारी तन्त्रको बारेमा बोल्न सक्थेँ”, क्रोलले भनिन् ।
विश्वकाज्ञे सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा यो ब्रह्मान्डकै सबैभन्दा धनी व्यक्तिहरूको बसोबास छ । अमेरिकामा अर्बपति संख्या ४ सय १३ पुगेको छ, तर उनीहरूको हिस्सा क्रमशः घट्दै आएको छ जसले गर्दा एसियाली अर्थतन्त्रको उदयले स्वागत पाएको छ अर्थात् बर्सेनि एसियालीहरूको अंश उच्च बन्दै गएको छ ।
एक दशकपहिले विश्वका कुल अर्बपतिहरूमध्ये आधाभन्दा बढी अमेरिकी नागरिक थिए । जबकि अहिले आएर अमेरिकी अर्बपति संख्या विश्वको कुल अर्बपति संख्याको एकतिहाइ मात्र कायम छ ।
व्यक्तिगत सेयर हिस्साको आधारमा यो वर्ष पनि लगातार दोस्रो पटक मेक्सिकन टेलिकम व्यवसायी कार्लोस स्लिम हेलु विश्वको सबैभन्दा धनी व्यक्तिको स्थानमा उभिएका छन् । सामान्यतया मेक्सिको बाहिरका नागरिकहरूको बारेमा खासै ज्ञान नभएका स्लिमको खुद सम्पत्ति बढेर ७४ अर्ब अमेरिकी डलर पुगेको छ । एक वर्षभित्र उनको सम्पत्ति २०.५ अर्ब डलर उच्च बनेको हो ।
यसैगरी विश्वका सर्वाधिक धनीहरूको सूचीमा दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स परेका छन् । उनको खुद सम्पत्ति ५६ अर्ब डलर पुगेको छ । ठूलो मात्रामा परोपकारी कोषमा रकम वितरण गरेको कारणले गेट्सको सम्पत्ति उच्च बन्न नसकेको फोब्र्सले जनाएको छ ।
विश्वका तेस्रो धनी व्यक्तिको स्थानमा अमेरिकी लगानी गुरु वारेन बफेट परेका छन्, भने चौथो स्थानमा फ्रान्सेली नागरिक बर्नार्ड अर्नोल्ट उभिएका छन् । यी दुवैको सम्पत्ति क्रमशः ५० अर्ब डलर र ४१ अर्ब डलर कायम छ ।
यो वर्ष विश्वभरिका अर्बपतिहरूको संख्याले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्ष कायम १ हजार ११ अर्बपति संख्या यो वर्ष बढेर १ हजार २ सय १० पुगेको फोब्र्सका प्रधान सम्पादक स्टिभ फोब्र्सले बताएका छन् ।
“विश्वव्यापी अर्थतन्त्रमा सुधार हुँदै आएको छ, तर सुधारको गति स्थानमा समान छैन,” फोब्र्सले भने, “धनीहरूको सूचीले विश्व अर्थतन्त्रमा अतिरिक्त परिवर्तन आइरहेको प्रतिविम्बित गरेको छ ।”
अहिले पनि विश्वका अधिकांश क्षेत्रमा पछिल्लो विश्वव्यापी आर्थिक मन्दीको प्रभाव कायमै रहेको छ  । पहिलो पटक विश्वका धनीहरूको सूची मन्दीको वास्तविकता अनुभव गर्दै सार्वजनिक भएको छ, तर फोब्र्सका सम्पादकहरूले सूचीमा परेका अधिकांश अर्बपतिले कठिनाइ तथा असफलतालाई पन्छाउँदै सम्पत्ति कमाउन सफल भएको बताएका छन् ।