सुन तोलाको ४२ हजार १ सय

लगातार बढिरहेको सुनचाँदीको मूल्यले आइतबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार स्थानीय बजारमा सुन प्रति १० ग्राम ३६ हजार ९५ (प्रतितोला ४२ हजार १ सय) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो हो । यसअघि गत बिहीबार र शुक्रबार प्रति १० ग्राम ३५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बेलुकी सुनचाँदीको भाउ नयाँ उचाइमा पुगेपछि स्थानीय बजारमा समेत सर्वाधिक महँगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गर्छ ।यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउदै चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ ।
शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २ रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ३८ रुपैयाँ बढेर प्रति १० ग्राम १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको छ ।“आज सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भयो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च भएपछि त्यसको असरले स्थानीय बजारमा महँगो भएको हो ।” अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेकाले तत्काल सुनको भाउ घट्ने सम्भावना नदेखिएको उनले बताए । विवाहको लगन सुरुसँगै सुनको मूल्य उच्च भएपछि सर्वसाधारण उपभोक्ता प्रभावित भएका छन् ।


इजिप्टको राजनीतिक तनावसँगै सुनको भाउ उकालो लागेको हो । लिबियामा बहुराष्ट्रिय सैन्य आक्रमणप्रति भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशले विरोध गरेपछि मूल्य झनै उच्च भएको हो ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार बेलुकीसम्ममा प्रतिऔंस १ हजार ५ सय १२ डलरको रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि सामान्य घटेर १ हजार ५ सय ८ डलरसम्म झरेको छ । यसले सोमबार स्थानीय बजारमा मूल्य सामान्य घट्ने सम्भावना देखिएको छ । भारत, चीनलगायतका देशहरूमा सुनको खपत बढिरहेका कारण भाउ अझै उकालो लाग्नसक्ने विश्लेषकरु बताउँछन् । उनीहरूका अनुसार सेयरभन्दा सुन भरपर्दो लगानीको क्षेत्र बन्दै गए पनि उत्पादन नबढेका कारण मूल्य उच्च भएको हो । 

कारोबार राष्ट्रिय आर्थिक दैनिक