घुराइ बानी होइन, रोग

सुत्दा घुर्ने बानी छ ? घुर्दाघुर्दै सास रोकिनाले आत्तिएर ब्युँझने गर्नुभएको छ l राति बारम्बार निद्रा खलबलिन्छ ? निद्रामा बर्बराउनुहुन्छ ?उत्तर सकारात्मक छ भने एकपटक चिकित्सककहाँ गइहाल्नुस् । बढी घुर्नु आफैंमा एउटा रोग हो । 'घुर्दा सास बन्दसमेत हुन्छ,तर सास दस सेकेन्डभन्दा बढी रोकिनु असामान्य हो,'पल्मोनरी क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन कन्सलटेन्ट डा. रमेश चोखानी भन्छन्, 'एक घन्टामा पाँचपटकभन्दा बढी समयसम्म सास रोकिने समस्या छ भने चिकित्सकीय सल्लाह आवश्यक छ ।' उनका अनुसार घुर्दा सास रोकिने समस्या देखिएकाहरूलाई मुटुको रोग, पक्षाघातको सम्भावना धेरै हुन्छ ।  अमेरिकन एकेडमी अफ ओटोल्यारेंगोलजी -हेड एन्ड नेक सर्जरी) को तथ्यपत्रअनुसार ४५ प्रतिशत सामान्य वयस्क व्यक्ति कहिलेकाहीँ घुर्ने गरेका छन् । २५ प्रतिशतलाई घुर्ने बानी हुन्छ । पुरुष र बढी तौल भएकाहरूमा यो समस्या उमेर सँगसँगै बढ्दै जान्छ ।


घुराइ श्वास-प्रश्वासका बेला सास रोकिने संकेत हुन सक्ने भएकाले यसलाई सामान्य रूपमा भने लिनु हँुदैन । 'घुरिरहेका व्यक्तिलाई गहिरो निद्रामा रहेको ठानिन्छ,' डा. चोखानी भन्छन्, 'तर घुर्नु राम्रो स्वास्थ्यको सूचक होइन ।' घुर्ने बानी लागेकाहरूले राति राम्ररी निदाउन सक्तैनन््, फलस्वरूप उनीहरू दिनभरि सुस्त देखिन्छन् । हाल सास रोकिने समस्याको उपचार गराइरहेका काठमाडौंका एक व्यवसायी दुईपटक ब्यांकको चेकमा हस्ताक्षर गर्दागर्दै निदाएका थिए । घुराइका कारण निद्रामा अवरोधले गर्दा व्यक्तिको एकाग्रता भंग हुन्छ । यसले कार्यकुशलतामा नराम्रो प्रभाव पर्छ ।
घुर्दा कुनैकुनै बेला सास यतिसम्म अवरुद्घ हुन्छ, उक्त व्यक्ति आत्तिएर ब्युँझन्छ । यस्तो अक्सिजनको कमीले गर्दा हुन्छ । निदाएका बेला सास नली सामान्य अवस्थाको दाँजोमा बढी साँघुरो हुन्छ, जिब्रोपछाडिको वायुमार्ग झन् बढी साँघुरो हुन्छ । वायुमार्ग पूरै बन्द भए सास रोकिन्छ । 
टन्सिल बढ्नु, तल्लो बंगारा दोषयुक्त हुनु, जिब्रो मोटो हुनुजस्ता कारणले समेत वायुमार्ग बढी साँघुरो भएर अक्सिजन प्रवाह रोकिन सक्छ । सास तान्दा नाक आंशिक रूपले बन्द हुने कारण घाँटीको तल्लो खण्डमा दबाव उत्पन्न हुन्छ । अनि सास नलीका भित्ता एकअर्काको अझ नजिक आउँछन् ।
तीव्र स्वरले घुर्ने र निद्रामा सास रोकिने रोग धेरैजसो मोटा व्यक्तिलाई हुन्छ । १७ इन्च वा त्योभन्दा मोटो गर्दन भएका घाँटी भएका पुरुष र १५ इन्च मोटो घाँटी भएका महिलामा यस्तो समस्या पाउने गरिन्छ । केही व्यक्तिमा भने यो रोगको कारणै पत्ता लगाउन सकिँदैन । बालबालिकामा भने टन्सिल बढ्नाले सामान्यतः यो रोग लाग्छ । तीस वर्षभन्दा माथिको दुईदेखि चार प्रतिशत जनसंख्यामा घुर्ने समस्या पाउने गरिएको डा. चोखानी बताउँछन् ।
 
उपचार
निद्रामा सास अवरोधको शंका भए यसको पुष्टिका लागि चिकित्सकहरूले रोगीको निद्रासम्बन्धी अध्ययन गर्छन् । रोगी सुत्दाताका पोली सोनोग्राफी गरिन्छ । यसअन्तर्गत निदाएका बेला मस्तिष्कको गतिविधि, मुटुको गति, खुट्टाको सञ्चालन, अक्सिजनको स्तर तथा सास सञ्चालन ६ देखि ८ घन्टासम्म रेकर्ड गरिन्छ । विभिन्न संवेदकहरूका माध्यमले रोगीको मुटु, फोक्सो, रगतमा अक्सिजनको मात्रा लगायतका विभिन्न अंगको अनुगमन गरिन्छ । निद्रासम्बन्धी अध्ययनले रोगी घुर्छ मात्र र ऊ निदाएका बेला सास अवरोध धेरै कम हुने देखाए ऊ सास रोकिने रोगबाट पीडित मानिँदैन । रोगी बढी घुर्दैन भने उसलाई शरीरको तौल अलि कम गर्न सल्लाह दिइन्छ । साँझ रक्सी वा चुरोट नखान, नाक सम्भव भएसम्म सफा राख्न, कोल्टो सुत्न प्रेरित गरिन्छ । चिकित्सकले पहिले विभिन्न परीक्षणद्वारा घुर्ने कारण पत्ता लगाउँछन् । नाकमा मासु पलाउनु, नाकको पर्दा बांगो हुनु घुराइको कारण भए शल्यक्रियाको सुझाव समेत दिइन्छ ।  सास अवरोध हटाउन सी पैप मेसिन 'कन्टिन्युअस पोजिटिभ एयर वे प्रेसर' मेसिन सास अवरोधका सिकार भएकाहरूका लागि अत्यन्त उपयोगी मानिन्छ । यो मेसिनमा भएको ब्लोअर -हावा पmयाँक्ने) ले हावालाई लचिलो नलीको माध्यमले धकेल्छ । यो नली एउटा मास्कले जोडिएको हुन्छ, जसलाई तपाईंले सुत्दाताका नाक र मुखमा लगाउनुपर्छ । नलीको माध्यमले हुने हावाको निरन्तर प्रवाहले नाक र घाँटीको हावा आउने जाने बाटोलाई शिथिल हुन पाउँदैन । अनि सास पनि रोकिन्छ ।   'सास अवरोध हुनेहरूले यो मेसिन उपयोग गरेपछि तिनको रक्तचाप सामान्य हुन्छ, मुटुको चाल सामान्य हुन्छ, निद्रा मजाले लाग्न थाल्छ,' डा. चोखानी भन्छन्, 'यसपछि रोगीहरू आफूलाई युवा र इनर्जेटिक अनुभव गर्छन्, सास रोकिनाले हुने  समस्याबाट जोगिन
सक्छन् ।'
 
घुराइ कम गर्ने उपाय
 
सामान्य र कहिलेकाहीँ घुर्ने समस्या भएका वयस्क व्यक्तिहरूले त्यो रोग आफैं निको पार्ने केही उपाय अपनाउन सक्छन् ।
डा. चोखानीका अनुसार यस अन्तर्गत कुनै स्वस्थ व्यक्ति वा खेलाडीको जीवनशैली अपनाउनुपर्छ, ताकि मांसपेशी बलियो होस् र शरीरको तौलमा कमी आओस् । रोगीले स्लिपिङ ट्याबलेट,  एन्टि- हिस्थामिनिक औषधि उपयोग गर्नु हँुदैन ।
सुत्न जानुभन्दा न्यूनतम चार घन्टाअघिसम्म मद्यपान गर्नु हुँदैन । सुत्नुभन्दा तीन घन्टाअघिसम्म गरिष्ठ भोजन गर्नु हँुदैन । नियमित सुत्ने प्रक्रिया विकसित गर्नुपर्छ । उत्तानो होइन, कोल्टो सुत्नुपर्छ । तकिया बेडभन्दा चार इन्च अग्लो हुनुपर्छ । 
 
मुटु रोगको लक्षण हुन सक्छ घुराइ
 
घुराइले रातिको निद्रा मात्र बिगार्दैन, यो उच्च रक्तचाप, मुटुरोग, हृदयाघातको कारणसमेत बन्न सक्छ । हंगेरीको बुडापेस्टस्थित सेमिलेबिस विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार जोडले घुर्नु र सास रोकिनुको सम्बन्ध मुटुसँग सम्बन्धित रोगसँग हुन्छ ।
अनुसन्धानकर्ताहरूले यो नतिजासम्म पुग्न १२ हजार
६ सय ४३ व्यक्तिसँग कुराकानी गरेका थिए । यसबाट के थाहा पाइयो भने घुर्ने व्यक्तिलाई 
हार्ट एटयाकको खतरा ३४ प्रतिशत बढी हुन्छ, स्ट्रोक
-पक्षाघात) को खतरा ६७ प्रतिशत बढी हुन्छ ।
 
अनुसन्धानको तथ्यांक
 
अनुसार बिस्तारैबिस्तारै घुर्ने व्यक्तिलाई भने मुटुरोगको खतरा हुँदैन । महिलामा अलिअलि घुराइले हाइपरटेन्सनको जोखिम बढाउँछ । यस्तै पुरुषहरूमा ७० वर्षको आयुपछि घुर्ने प्रवृत्तिमा कमीसमेत पाइन्छ ।
अतुल मिश्र
कांतिपुर