हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।
हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका
लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच, त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ ।
कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति छ, जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो । यो सकारात्मकता भन्ने त आदर्शमात्र हो ।'