Showing posts with label विचार/विवेचना. Show all posts
Showing posts with label विचार/विवेचना. Show all posts

परिवर्तनको प्रारम्भ आफैंबाट

हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसका हातमा सुम्पने प्रवृत्तिको विकास गर्यौं यो सामन्ती समाजको चरित्र हो यसबाट समाज रूपान्तरण सम्भव छैन
हामीकहाँ असल मान्छेको अभाव छैन हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन असल अभ्यासको पनि अभाव छैन समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी सकारात्मक सोच, त्यसको कार्यान्वयन असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ
कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति , जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो यो सकारात्मकता भन्ने आदर्शमात्र हो '

चाणक्य र उनका नीति


-कमल रिजाल
चाणक्य नीति एक अति लोकप्रिय नीति हो । केही समय अघि यसको अर्को नेपाली अनुवाद पनि प्रकाशमा आएको छ । ओमप्रकाश अधिकारीको यस अनुवादलाई दुर्गा साहित्य भण्डार वाराणसीले प्रकाशमा ल्याएको हो । यसअघि पनि यसका केही अनुवाद प्रकाशमा आएका छन् । सम्भवतः सर्वाधिक लोकप्रिय नीति भएर नै होला विद्वान्हरूले यसलाई बढी नै रुचाएका छन् । विभिन्न समयमा विभिन्न विद्वान्ले अनुवाद गरी प्रकाशित गराउँदै आएका छन् तर सबै अनुवाद कि गद्यमा भएका छन् कि पद्यमा भएका छन् । एकैसाथ गद्य र पद्य दुवैमा अनुवाद भएको भए जस्तो खासै लाग्दैन तर ओमप्रकाश अधिकारीले भने गद्य र पद्य दुवैमा गरेर नौलो स्वाद चखाएका छन् । छन्दको प्रयोगमा पनि उनी स्वतन्त्र देखिएका छन् । उनले समछन्दी अनुवादको नियमलाई तोडेर आफ्नै रुचिको छन्द प्रयोग गरेका छन् । 
चाणक्य नीति राजनीतिका कुशल खेलाडी आचार्य चाणक्यको अमर कृति हो । चाणक्यद्वारा प्रतिपादित नीतिपरक ग्रन्थ भएकाले यसलाई चाणक्य नीति भनिएको हो । संस्कृत साहित्यका प्रकाण्ड विद्वान् आचार्य चाणक्य अर्थशास्त्र र समाजशास्त्रको पनि त्यत्तिकै पारखी मानिन्छन् । सबैलाई थाहा भएकै कुरा हो उनको अर्थशास्त्र अहिले पनि कौटिल्यको अर्थशास्त्रको नामले विश्वविख्यात छ । त्यति मात्र होइन, उनी कूटनीतिक क्षेत्रका पनि त्यस्तै अद्वितीय प्रतिभा हुन् । कूटनीतिक विशारद भएकैले उनलाई कौटिल्य भन्ने गरिएको पनि पाएको छ । हुनत कतिपयले कुटल गोत्रीय ब्राह्मण भएकाले कौटिल्य भनिएको हो पनि भनेका छन् तर यथार्थ जे भए पनि उनी कूटनीतिक विशारद भने पक्कै हुन् । चाणक्य पनि उनको वास्तविक नाम चाहिँ होइन । उनको बाबुको नाम चणक थियो । चणकका छोरा भएकाले नै चाणक्य भनिएको हो । उनको वास्तविक नाम त विष्णुगुप्त थियो । 

संविधानसभा निर्वाचन कति सम्भव ?

-श्रीहरि अर्याल
नेपालमा फेरि एकपटक संविधानसभाको निर्वाचनमार्फत मुलुकका लागि संविधान बनाउने विषयमा व्यापक चर्चा-परिचर्चा भइरहेको छ । यसैबीच संविधानसभाका लागि दोस्रो निर्वाचन जसरी भए पनि गराएरै छाड्ने र त्यसलाई जसरी भए पनि असफल गराउनेका बीच द्वन्द्व बढिरहेको छ । यस विषयमा जनताहरूमा मात्र होइन, निणर्ायक तहमा प्रभावशाली देखिएका पार्टीका कार्यकर्ताहरूबीच पनि गम्भीर मतभेद देखिएको छ ।

पछिल्लो जनआन्दोलनको भावना अनुकूल हुनेगरी कसरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ भन्ने विषयमा व्यापक रूपमा चिन्तन-मनन गर्नुको साटो लोकतन्त्र स्थापना भएको सात वर्ष व्यतित भैसक्दा पनि मुलुक अन्योल, अस्थिरता, अराजकता र दण्डहीनताका कारण तहसनहस भइरहेको छ ।

जनता आफ्नो प्रतिनिधिमार्फत आफ्नालागि आफ्नै रायसुझाव बमोजिम लोकतान्त्रिक संविधानको निर्माण भएको हेर्न चाहन्छन् भनेर नै पहिलो संविधानसभाको निर्वाचन भएको हो । अहिले पनि जनताको चाहना भनेको मुलुकमा लोकतान्त्तिक गणतन्त्रको संस्थागत विकास होस्, त्यसलका लागि संविधान छिटो बनोस्, मुलुकको मूल कानुनका रूपमा निर्माण हुने संविधानको अधीनमा रहेर देशको शासन व्यवस्था चलोस्, दलहरूले संविधानको परिधिभित्र बाँधिएर आफ्ना क्रियाकलाप सञ्चालन गरुन्, आवधिक निर्वाचनबाट शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणको प्रक्रिया निरन्तर चलिरहोस् भन्ने नै हो ।

एसएलसीः 'गोल्डेन गेट'


                                                                    -खग राज बराल 
शिक्षालयले आफ्ना शिक्षार्थीको परीक्षा लिने पुरानो र विश्वव्यापी प्रचलन हो । शिक्षालयको यो नियमित प्रक्रिया हो । कुनै तहको अन्त्यमा राज्यद्वारा लिइने परीक्षा शिक्षालयद्वारा लिइने परीक्षाभन्दा फरक किसिमको हुन्छ । राज्यद्वारा लिइने परीक्षा सार्वजनिक परीक्षा हो । सार्वजनिक परीक्षा लिने प्रचलन विश्वका प्रायः सबै मुलुकले लिने गर्छन् । सार्वजनिक परीक्षा निर्माणात्मक नभई निर्णयात्मक र औपचारिक हुने गर्छ । सार्वजनिक परीक्षा सञ्चालन तथा नियन्त्रण शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न हुने शिक्षालयभन्दा बाहिरको आधिकारिक निकायबाट लिने गरिन्छ । तोकिएको पाठ्यक्रम तथा पाठ्यांशमा आधारित भई परीक्षा सञ्चालन हुने गर्छ । सार्वजनिक परीक्षा कानुनमा आधारित भई राज्यको आधिकारिक निकायद्वारा स्वीकृत पाठ्यक्रम र पाठ्यांशका आधारमा लिइने हुँदा शिक्षालयको प्रकार, अवस्थिति, शिक्षकको उपलब्धता, भौतिक तथा शैक्षिक सुविधाको उपलब्धता, शिक्षालय सञ्चालनका दिन, सुगम तथा दुर्गम, सुविधायुक्त र सुविधाविहीन आदिजस्ता विषयका आधारमा परीक्षा सञ्चालन गरिँदैन ।
सार्वजनिक परीक्षा देशभर एकै पद्धति र एकै आधारमा सञ्चालन गरिन्छ । स्वीकृत पाठ्यक्रम तथा पाठ्यांशबाहेक अन्य पक्षमा निरपेक्ष रहेर परीक्षा सञ्चालन, परीक्षण र नतिजा प्रकाशन गरिन्छ । सम्बन्धित तहका लागि पाठ्यक्रमले तोकेका मुख्य विषय र अन्य ऐच्छिक वा सहायक विषयको परीक्षा सञ्चालन गरिन्छ । तोकिए अनुसार लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । सार्वजनिक परीक्षा सञ्चालनमा शिक्षालय सञ्चालन, सुपरीवेक्षण तथा अनुगमन गर्ने निकाय, पाठ्यक्रम र पाठ्यपुस्तक विकास तथा वितरण गर्ने निकाय, शिक्षक विकास तथा शिक्षक नियुक्ति गर्ने निकायको सहभागिता हुँदैन । प्रश्नपत्र आफ्ना शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न शिक्षकबाट निर्माण तथा परिमार्जन, परीक्षण र सम्परीक्षण गरिँदैन । सार्वजनिक परीक्षा प्रायः वर्षकोएकपटक सञ्चालन गरिन्छ, यसको नतिजामा शिक्षार्थीको श्रेणी वा प्राप्ताङ्क वा दुवै उल्लेख गरिन्छ । सबै मुलुकमा सार्वजनिक परीक्षाको नतिजालाई शिक्षार्थी र शिक्षालयको तुलना व्यक्तिगत, संस्थागत, जिल्लागत, क्षेत्रगत र राष्ट्रिय रूपमा गर्ने गरिन्छ ।

वृद्धावस्था आजको चुनौती

-रचना मास्के 
संसार विचित्रको छ । संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । अरु प्राणीजस्तै मानिस पनि जन्मन्छ, हुर्कन्छ अनि वृद्ध हुँदै जान्छ र अन्त्यमा मर्छ । म्ाानिस किन बूढो हुन्छ भन्ने विषयमा विश्वमा थुप्रै अनुसन्धान भएका छन् । विभिन्न वैज्ञानिकले यस विषयमा धेरै प्रकारका व्याख्या गरे पनि यसको रहस्य अझ खुल्न सकेको छैन ।

विश्वमा म्ाानिसहरूले धेरै उन्नति-प्रगति गरेका छन् अझ विज्ञानले त चमत्कार नै ल्याइदिएको छ । अहिले औषधि विज्ञानले प्रशस्त प्रगति गर्नुका साथै प्रकृतिलाई नै चुनौती दिँदै मानिसहरूको आयु लम्बाउँदै गएको अवस्था छ, फलस्वरूप अहिले विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपालमा २०५३/५४ सालमा लिइएको एक तथ्याङ्कअनुसार नेपाली महिला तथा पुरुषहरूको औसत आयु ५६ दशमलम १ वर्षबाट बढेर ६० वर्षको हाराहारीमा आइपुगेको छ । त्यसैले पनि नेपालमा वृद्धहरूको संख्या निरन्तर बढ्दैछ । 

नातामा भावनाको कदर

-दीपकलाल श्रेष्
सुन्दर घर, सुखसुविधाका सबै साधन, सम्पन्न र शिक्षित परविार तथा राम्रो आम्दानी हुँदाहुँदै पनि कतिपय पारविारकि नाताबीच कुनै मिठास हुँदैन । धेरैले एउटै छानामुनि सँगै बसेर पनि नितान्त एक्लो महसुस गर्नुपर्छ । आज धेरै परविारभित्र सुख, शान्ति तथा सद्भाव छैन । श्रीमान्-श्रीमतीको नातामा खिचातानी, तनाव, कटुता विभिन्न कारणले उत्पन्न हुनसक्छ । धेरै कारणमध्ये एउटा हो, एक-अर्कासँग रसिाउने  प्रवृत्ति र रसिाउँदा बोलचाल बन्द हुने स्थिति । यो सत्य हो कि दुईवटा भाँडा एकसाथ राख्दा आवाज उत्पन्न हुन्छ । यदि आवाज उत्पन्न नहुने हो भने दुवैलाई छुट्टाछुट्टै राख्नुपर्छ । सानोतिनो झैझगडा त हरेक श्रीमान्-श्रीमतीबीच भैरहन्छ । एक अर्कासँग नबोल्ने स्थिति उत्पन्न भए दुवैको मनमा चिन्ता हुन्छ र समस्या जहाँको तहीँ रहन्छ ।

यस्तो स्थितिमा संवादको अभावले तनावलाई अझ बढाउँछ । मानवीय नातामा संवादहीनताको प्रमुख कारण आपसी समझदारीको कमी, सहनशीलताको अभाव, घमण्ड, एक-अर्काको भावनालाई कदर नगर्नु आदि हुन् । कुनै पनि नाता चाहे त्यो साथीको होस् वा श्रीमान्-श्रीमतीको, सासू-बुहारीको होस् वा आमा र छोराछोरीबीचको होस्, बिनासंवाद चल्न कठिन छ । नातालाई कायम गर्न कुनै एक पक्षले केही कष्ट सहनुपर्छ । त्यसैले यस्तो स्थिति आउन नदिन एक-अर्काका गल्तीहरूलाई नजरअन्दाज गरेर संवादलाई अघि बढाउनुपर्छ ।

कसरी बन्छ कानुन

-सुरज कुँवर 
सिद्धान्तअनुसार, 'जनताले जनप्रतिनिधिमार्फत जनताका लागि बनाउने कानुनबारे' समाजमा प्रायः सुनिन्छ, 'कानुन नभाको देशमा यस्तै हुन्छ !' कतै-कतै आन्दोलनकारीले चर्को स्वरमा नारा लगाउँदै भनिरहेका हुन्छन्, 'कडा कानुन चाहियो !' आदि-इत्यादि ।
छरपस्ट समाजलाई एक सूत्रमा बाँध्ने, मुलुक र समाजसापेक्ष कानुन (ऐन, नियम, विनियम) कसरी र कसले बनाउँछ होला ? आम मानिसका लागि यो जिज्ञासाको विषय हो । हरेक मुलुकमा कानुन बनाउने पद्धति आ-आफ्नै हुन्छ ।
कतिपयलाई लाग्न सक्छ, 'कानुन मुखले बोलेजत्तिकै छिटो तयार हुने विषय होला ?,' तर, नेपाल कानुन आयोगका सचिव राजेन्द्र किशोर क्षत्री कानुन बनाउने काम ओठे बोली होइन भन्छन् । ठूलो जलविद्युत योजना, पूर्वाधार निर्माणजस्तै यो पनि गह्रुँगो कर्म हो । फरक यति हो, पूर्वाधार जमिनमा देखिन्छ । यो कागजमा लेखिन्छ । मूल कानुन अर्थात् संविधानलाई कानुनको उदाहरण मान्ने हो भने, यो कार्य कति गाह्रो हुन्छ भन्ने जान्न/बुझ्न हाम्रै देशको असफल संविधानसभा गतिलो उदाहरण हुनसक्ला ।     
आयोगका अनुसार, कानुन बनाउने नेपालमा पनि बेग्लै शैली छ । समयानुकूल बदली भइरहने  शैली सुरुका दिनमा परम्परागत थियो । मनुस्मृति र धर्मशास्त्रमा आधारित व्यवहार र अदालत प्रणाली थियो । तर जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमणपछि नेपालको कानुन तर्जुमा शैली अमेरिकी र बेलायतीहरूको अवधारणा रहेको 'कमन ल' प्रणाली र २००७ सालपछि अपनाइएको फ्रान्सेली अवधारणा 'कन्टिनेन्टल ल' प्रणाली बाट प्रभावित छ । त्यसताका शास्त्र व्यवहारले समाजका 'छोटाबडा' सबैलाई नसमेटेकाले समानताका दृष्टिकोणबाट हेर्न मुलुकी ऐन ल्याइयो । सिंहदरबारमा रहेको आयोगका सचिव क्षत्री हाल नेपालमा कानुन तर्जुमा गर्ने अवधारणा र संरचना 'हाइबि्रड' विधिमा आधारित रहेको भन्छन् । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि फेरि कानुन बनाउने प्रक्रिया बदलिएको छ । सरकारले अवलम्बन गरेको नीतिअनुकूल कानुनको मस्यौदा तर्जुमा गर्ने प्रमुख जिम्मेवारी कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको हो भने दीर्घकालीन प्रभाव पार्ने कानुन बनाउने, अनुसन्धान गर्ने, पुराना कानुन अद्यावधिक वा पुनरावलोकन गर्ने आदि काम नेपाल कानुन आयोगको हो ।  

राज्यलाई किन तिर्ने कर ?

-प्रकाश शर्मा ढकाल
नेपालमा आयकर, भ्याट, अन्तःशुल्क, भन्सारसमेतका करहरू स्वयं कर निर्धारण पद्धतिमा आधारित भएकाले पहिलो कर प्रशासक करदाता नै हुन् । त्यसैले आफ्नो कारोबारको यथार्थ विवरण दिनु उसको कर्तव्य र दायित्व हो । कर दायित्व घटाउने मनसायबाट प्रेरित भै आफ्नो कारोबारको यथार्थ विवरण नदिँदा भविष्यमा पर्न सक्ने कानुनी कारबाहीको हेक्का अहिले नै राख्नुपर्छ ।
विश्व बैंकको एक अध्ययन प्रतिवेदनले नेपालको अनौपचारिक अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशतभन्दा बढी देखाएको छ । आव २०६८/०६९ को कुल गार्हस्थ्य उत्पादन १५५८ अर्बको हिसाबले यो अंक ५९२ अर्ब हुन आउँछ । केही समयअघि आन्तरिक राजस्व विभागले झूटा तथा नक्कली भ्याट बिल प्रकरणमा ५१८ करदाताको कारोबारको अनुसान्धान तथा छानबिन गरी ६ अर्ब ५९ करोड ७७ लाख ६ हजार कर निर्धारण ग¥यो । शासकीय सुधार कार्ययोजना २०६८ को कार्यान्वयनको प्रगति विवरण अनुसार विभागले आव ०६८/०६९ मा ३४१७ करदाताको कर परीक्षणबाट ८ अर्ब ११ करोडभन्दा बढी कर निर्धारण गरेको छ । त्यस्तै राजस्व अनुसन्धान विभागबाट गत आवमा गरिएको अनुसन्धानबाट भ्याट, अन्तःशुल्क र भन्सार महशुलसमेत गरी ३५ अर्ब ३६ करोड भन्दा बढी कर निर्धारण एवं असुल ग¥यो भने आयकरतर्फ ६ अर्ब ८ करोडभन्दा बढीको कारोबारमा थप कर निर्धारण गर्न सम्बन्धित कर कार्यालयहरूलाई पत्राचार ग¥यो । त्यसैगरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम ६ अर्ब ८ करोड ६२ लाखभन्दा बढी माग दाबी लिई मुद्दा दायर ग¥यो । भन्सार विभागअन्तर्गत जाँचपासपछिको परीक्षण कार्यालयले आव २०६८÷०६९ मा २ सय ९२ वटा जाँचपासपछिको परीक्षणबाट २ करोड ८ लाखभन्दा बढी रकम असुल ग¥यो ।
यी तथ्यहरूले नेपालको कर चुहावट÷छलीको वर्तमान अवस्थालाई इंगित गर्छ । विश्व बैंकको प्रतिवेदनका आधारमा कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशतको अनौपचारिक अर्थतन्त्रलाई आधार मान्ने हो भने ९३ अर्बभन्दा बढी राजस्व छली भएको अनुमान गरिएको छ । भन्सारमा न्यून÷अधिक मूल्यांकन, आन्तरिक कारोबारमा न्यून बिजकीकरण वा बिना बिल लेनदेन नै कारोबार गर्ने, आफ्नो आयमा समावेश गर्नुपर्ने आयलाई समावेश नगर्ने तथा नभएको खर्चलाई समेत खर्च कट्टीका रूपमा लिई आफ्नो कर दायित्व कम गर्ने परिपाटीका कारण आन्तरिक तथा बाह्य अर्थतन्त्रको यथार्थ चित्रण हुन सकिरहेको छैन । उल्लिखित कार्यहरूको एउटै प्रमुख आशय भनेको कसरी राज्यलाई तिर्नुपर्ने कर दायित्व कम गर्ने भन्ने मनोविज्ञानबाट प्रेरित छन् ।

चीनको गरीबी निवारणको मोडेल

श्याम श्रेष्ठ,
चीन अहिले विश्वकै सबैभन्दा ज्यादा धनीमध्ये  एकमा गणना हुने मुलुकमा बदलिएको छ । यतिखेर संसारकै सबैभन्दा ज्यादा विदेशी विनिमय र सुनको सञ्चिती चीनसित छ । गत डिसेम्बरको अन्तसम्ममा उसको विदेशी विनिमय र सुनको संचिति ३,५४९ अर्ब अमेरिकी डलर थियो । यति ज्यादा विदेशी विनिमयको भण्डार विश्वको सबैभन्दा धनी मुलुक अमेरिकासित पनि भएको देखिँदैन । अब अमेरिकालाई आपत पर्दा समेत ऋण दिनसक्ने मुलुक चीन भएको छ । अमेरिकी अर्थतन्त्र डुब्दा आफू पनि डुबिन्छ भनेर भर्खरै केही वर्षअघि शुरु भएको महामन्दीमा चीनले नै ठूलो मात्रामा ऋण दिएर अमेरिकालाई धराशयी हुनबाट बचाएको हो । अहिले अमेरिकी सरकारको ट्रेजरी सेक्युरिटीमध्ये पाँचमा एक भाग चीन एक्लैले किनिदिएको छ र यो थैली एकहजार अर्ब अमेरिकी डलरभन्दा पनि ज्यादा रकमको छ । 
 चीनसित यति धेरै पैसा हुनुको मुख्य कारण तीन दशक भन्दा पनि ज्यादा समयसम्म उसको आर्थिक वृद्धि दर दुई अंकका दरले वृद्धि भइरहनु, औद्योगिक र कृषि उत्पादन वृद्धि दर पनि उच्च हुनु र आयात भन्दा निर्यात ज्यादा भइरहनु हो । 

बाहुन कुलमा जन्मिनु नै अभिशाप?

-अमृता लम्साल

अय्क भ्रष्टाचारमा चुर्लुम्म डुबेको यो सरकारले एकपछि अर्को अपराध गर्दै अझ २५ वर्षसम्म एकलौटी राज्यसत्ता हाँक्ने सपना देखिरहेको छ, नेपाली कांग्रेस, नेकपा एमालेलगायत सत्ता विपमा उभिएका विभिन्न नौ दलले माघ २५ गते बुधबार जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको संयुक्त विरोध सभाको सम्बोधन गर्दै गौतमले भने तर, जनताको नजरमा पुरै खुलस्त भइसकेकाले २५ दिनभित्र प्रधानमन्त्री भट्टराईको टुप्पी समातेर कुर्सीबाट झारेर देखाइदिन्छौं। 
माथि उल्लेखित भनाईहरू धरोधर्म आफूले बनाएर लेखेको होइन, पत्रिकामा प्रकाशित समाचारबाट 
साभार गरेको मात्रै हो। 
साभार गर्नुको कारण चाहिं, माथिल्ला तहमा पुग्ने नेताहरूले सार्वजनिक स्तरमै पनि यस्ता भाषण दिन पछि पर्दैनन् भने त्यस्तै नेतागिरी गरेर हिंडन चाहनेले फोनमा वा इमेलमा वा सामाजिक सन्जाल मार्फत यस्तै/त्यस्तै आशयका धम्की पठाउनु कुन ठूलो कुरो भयो र? 
धेरै पनि उधृत नगरौं होला! धम्की सुन्दा सुन्दा अघाई सकियो। चाहे सरकारको कुर्सीमा बस्ने हुन या सडक चाहारेर दिन बिताउने, उनीहरूको सबैभन्दा प्रिय गरिखाने/मागिखाने भाँडो धम्की नै भएको छ। यो पंक्तिकारले पनि गत हप्ता गोडा आधा दर्जन जति धम्कीको सामना गर्नुपर्‍यो। त्यो पनि हुँदो–न–खाँदोसंग! जन–आस्थाका सम्पादक किशोर श्रेष्ठले लेखे जस्तै,''एउटाले बिराउने शाखा पिराउने:....'' 
यसको मतलव कसैले बिराएको भन्न खोजेको पनि होइन, तर बित्थामा एउटासंग उठेको रीस अर्कालाई पोखेर धम्की दिने परम्परा कहिलेसम्म चल्दै जाने हो? 

राजनीतिक चक्रव्यूह

लोकनारायण सुवेदी,
देशमा पछिल्लो पटक एकीकृत माओवादीले बहालवाला प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने जुन प्रस्ताव अघि सारेको छ, यो पनि सन्देहको घेरा बाहिर छैन । प्रायः धेरैजसो कानुनविद्ले यो प्रस्तावलाई संविधान विपरीत भनिरहेका छन् । त्यसमा पनि संविधान संशोधन गर्न अहिले विधायिका छैन । यस्तो प्रस्तावमा राष्ट्रिय बहस आरम्भ गर्दा संविधानवादको कुरा पनि हराएर जाने सम्भावना पनि त्यत्तिकै छ । शक्ति सन्तुलनको मर्ममा यसले प्रहार गर्छ भने सर्वोच्चलाई पनि विवादको भुमरीमा पार्छ । अनि अरु प्रायः सबैजसो संवैधानिक अंगहरू निस्तेज पारिएको बेला  पाँचजना न्यायाधीशमा मात्र सीमित तुल्याइएको सर्वोच्चका प्रमुखलाई प्रधानमन्त्री बनाउँदा सर्वोच्चको पूर्ण इजलाश बस्ने स्थिति नै प्रभावित हुन पुग्दछ । यसका अतिरिक्त सर्वोच्चका बहालवाला न्यायाधीशको रोलक्रम पनि यसबाट प्रभावित हुन सक्तछ । यसरी त्यहाँ अवाञ्छित अन्तरविरोध उत्पन्न हुनजाने खतरा पनि पैदा हुन सक्तछ । त्यसैले यो प्रस्तावको पछाडि समस्या समाधान गर्ने उपायको खोजीभन्दा पनि कुटिल रणनीतिक खेल लुकेको त छैन भन्ने प्रश्न खडा हुन्छ । यद्यपि एनेकपा माओवादीका अध्यक्षले प्रमुख प्रतिपक्षका नेताहरूसँग सरसल्लाह गरेरै यो प्रस्ताव ल्याएको कुरा पनि सार्वजनिक गरिसकेका छन् । वास्तवमा सत्ताप्रति चरम आसक्त भएका शक्तिहरूले जस्तोसुकै खेल पनि खेल्न सक्ने आजको डरलाग्दो स्थितिमा देश र जनताप्रति जिम्मेवार कसैले पनि सत्ता होइन सत्यको पछि नलाग्ने हो भने बाह्य शक्तिकेन्द्रको पूर्ण पकडमा देश पर्न जाने डरलाग्दो दुश्चक्र सामु  हामी नेपाली खडा छौं । यसबाट देशको सार्वभौमिक अखण्डता, राष्ट्रियता र स्वाधीनता तथा गणतन्त्रात्मक लोकतन्त्रलाई नै दाउमा राख्ने प्रपञ्च त कतै भइरहेको छैन भन्ने भयावह आशंका पनि उठिरहेको छ ।

टेलिकमको विगत र वर्तमान


लक्ष्मण अधिकारी, नेपालका ३७ वटा सार्वजनिक संस्था र छवटा दूरसञ्चार सेवाप्रदायकमध्ये मुलुकलाई सबैभन्दा बढी आर्थिक योगदान दिने संस्था नेपाल टेलिकम यही माघ २२ गतेदेखि दशौं वर्षमा प्रवेश गरेको छ । ८४ लाखभन्दा बढी ग्राहक आधार भएको यस कम्पनीले आर्थिकरूपमा मात्र नभएर सेवा विस्तारका दृष्टिले पनि उल्लेख्य योगदान दिइरहेकोे छ । देशको सुगम क्षेत्रदेखि अति दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गरेर डिजिटल डिभाइडलाई कम गरी मुलुकलाई सूचना तथा सञ्चार प्रविधिको युगमा प्रवेश गराउन यस कम्पनीले विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । तीव्र सेवा विस्तार, समयानुकूलका प्रविधियुक्त सेवा, मजबुत आर्थिक स्थिति, प्रतिस्पर्धात्मक र पारदर्शी महसुल दर जस्ता विशेषताले यस कम्पनीलाई मुलुकको एउटा गौरव गर्न लायक संस्थाका रूपमा स्थापित गरिदिएको छ ।
२०६० सालमा कम्पनीमा रूपान्तरण भएको यस संस्थाको नौ वर्ष अगाडि (२०६० असार) कम्पनीको ग्राहक आधार चार लाख २२ हजार रहेकोमा गत मङ्सिरसम्ममा ग्राहक आधार ८४ लाख १० हजार नाघिसकेको छ । अर्कोतर्पm आर्थिक तथ्यांक हेर्दा नौ वर्ष अगाडि (आ.व.०५९र०६०) को कुल आम्दानी रु. सात अर्ब ६६ करोड ९२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा रु. ३६ अर्ब ७९ करोड १८ लाख पुगेको देखिन्छ । त्यस्तै नौ वर्ष अगाडि कम्पनीको कुल नाफा रु तीन अर्ब १३ करोड ७२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा यो मुनाफा ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ ।

जलविद्युत् – प्रत्यक्ष वैदेशिक लगानीका तगारा

विकास थापा,
मुलुकको सबैभन्दा आशलाग्दो पूर्वाधार क्षेत्र जलविद्युत्मा विदेशी लगानी भित्र्याउन २०४८ सालदेखि प्रयास थालिएको हो । जलविद्युत् सेवा क्षेत्र नभई आर्थिक वस्तुको रूपमा परिभाषित गर्दै सरकारको सहभागिता कम र निजी क्षेत्रको ज्यादा हुने गरी २०४८ सालमा जलविद्युत् विकास नीति लागू गरियो । यसको मुख्य उद्देश्य विद्युत्को यथोचित विकास गरी जलविद्युत्लाई निर्यातयोग्य वस्तुको रूपमा विकसित गर्ने नीतिअनुसार जलविद्युत् प्रवद्र्धकले विभिन्न सहुलियत दिने भनियो । यी नीतिलाई टेकेर अरुण तेस्रोको अवसानपछि दुई महाशक्ति प्रवद्र्धकका रूपमा उदाए खिम्ती र भोटेकोसी । ९६ मेगावाटका यी दुई जलविद्युत् आयोजनाका लागि राज्यले पूर्वघोषित नीतिअनुरूप छुट मात्र पाएनन्, यिनले तिर्नुपर्ने रोयल्टीसमेत नेपाल विद्युत् प्राधिकरणले तिरिदिने, सरकारले प्रसारण लाइन बनाइदिने, अमेरिकी डलरमा (उच्च दरमा) पीपीए गरिदिने लगायतका सहुलियतहरू प्रदान भए । यिनै सहुलियतका कारण अमेरिका र नर्वेको प्र्रत्यक्ष विदेशी लगानी भित्रिए । राज्यले बर्खायाममा ९६ मेगावाटको बिजुली त पायो, तर यसको सिधा असर प्राधिकरणमाथि पर्न गयो । जसले गर्दा हरेक वर्ष यी दुई आयोजनाका लागि पीपीए बापत प्राधिकरणलाई ४ अर्ब रुपियाँ घाटा पर्न थाल्यो । त्यो बढेर गत वर्षसम्म सञ्चित नोक्सानी ३० अर्ब पुग्यो । प्राधिकरणको बिग्रेको आर्थिक अवस्थाका कारण उसले माग सम्बोधन गर्ने थप जलविद्युत् आयोजनाहरूमा लगानी गर्न सकेन र लोडसेडिङले यो अवस्था लिन पुग्यो । यसका साथै खिम्ती र भोटेकोसीले पाएका सुविधाहरू अरु निजी क्षेत्रले पाएनन् र राज्यले दिन सकेन । यसले गर्दा मझौला खालका जलविद्युत् आयोजनाहरूमा प्रत्यक्ष विदेशी लगानी अहिलेसम्म एक सपनाको रूपमा रहेको छ । 

संस्कारबारे केही कुरा


– विदुर मल्ल


संस्कार र संस्कृतिको विकास मानव समाजमा लामो अभ्यासपछि निर्माण हुने कुरा हो। एक पटक निर्माण भएको संस्कार र संस्कृति बदलिन वा समाप्त हुन निकै गाह्रो हुन्छ। कुनै पनि संस्कार वा संस्कृतिको विकासमा मानव समाजमा व्याप्त चिन्तनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। चिन्तनलाई त्यो समयको वा स्थानको भौतिक परिस्थितिले निर्धारण गरेको हुन्छ। त्यसैले संसारका विभिन्न स्थानमा र विभिन्न कालखण्डमा मानव सभ्यतामा फरकफरक खालका संस्कार र संस्कृतिको निर्माण भएका छन्। मानव सभ्यताको सुरुका दिनहरूमा संसारमा घट्ने विभिन्न घट्नाहरू अत्यन्तै रहस्यमय मानिन्थे। उदाहरणका लागि आदिम कालमा आकाशबाट पानी खस्नु, आकाशमा गड्याङ्–गुडुङ् गर्दै बिजुली चम्कनु, एकछिन अघिसम्म बोल्ने मान्छे वा हिंड्ने जीव एकछिन पछि निर्जीव देखिनु, ठूलो हावाहुरी आउनु आदि त्यति बेलाका रहस्यमय र आश्चर्यलाग्दा घट्ना मानिन्थे। त्यसैले त्यति बेलाको चेतना अनुसार मानिसले अलौकिक शक्तिको कल्पना गर्‍यो र उसले प्रकृतिका ती डरलाग्दा र आश्चर्यलाग्दा सबै चीजको पूजा गर्न थाल्यो। नदी, आगो, सर्प, वायु, सूर्य, बाघ जस्ता शक्तिशाली चीजहरू पूजाका विषय बने। अनि मान्छे मरेपछि उसको आत्मा स्वर्ग वा नरकमा जाने, उसको आत्माले पुनर्जन्म पाउने जस्ता कल्पना गर्न थाल्यो। त्यसले विस्तारै संस्कार र संस्कृतिको रूप धारण गर्दै गयो। त्यसैले त्यतिबेला प्रकृतिको पूजा गर्ने, अलौकिक शक्तिमा विश्वास गर्ने संस्कृति विकसित हुन पुग्यो। आदिम कालमा परिवारको गठन भइसकेको थिएन। त्यतिबेला एकल विवाहको प्रचलन पनि थिएन। यौन स्वच्छन्दता थियो। त्यो नै त्यति बेलाको संस्कार र संस्कृति थियो। बिस्तारै व्यक्तिगत सम्पत्तिको सुरुवातसँगै परिवार, विवाह जस्ता संस्कृति र त्यससँग सम्बन्धित संस्कारहरूको विकास हुँदै गयो। हिन्दू धार्मिक संस्कारलाई हेर्दा मानव सभ्यताको पौराणिक कालमा आइपुग्दा समेत बहुपति प्रथा कायम रहेको पाइन्छ। उदाहरणका लागि सत्यवतीले कुमारी अवस्थामा नै पराशर ऋषिसँग यौन सम्बन्ध कायम राखी व्यासलाई जन्म दिएकी थिइन्। तर उनलाई कुमारी नै रहेको बताइन्छ। पछि उनको विवाह शान्तनुसँग भयो।

यसरी देखिनेछ सुधि्रएको नेपाल


-दिवाकर पन्त


परिस्थितिजन्य बाध्यताले आफ्नो मुलुकबाहिर रहनुपरे पनि आफ्नो मातृभूमिको माया झन् गाढा बन्दो रहेछ। यस नाताले डायस्पोराबाट चिहाउँदा पनि मुलुकको अवस्थाले पीडाको अनुभूति हुन्थ्यो। कतिपय कुरा सुनेको र पढेको भरमा अनुभूत गर्नुपरेकाले यथार्थ बुझ्न पनि सकिएको थिएन। तर, यहाँ आएर जुन प्रत्यक्ष अनुभूति गरियो, यसबाट चाहिँ अति पीडादायी अवस्थामा मैले आफूलाई पाएको छु। देशको यो गञ्जागोल, दिशाहीनता, अकर्मण्यता, असुरक्षा, दुर्दशा र तनावले आज समस्त नेपाली डिप्रेसनको सिकार भएझैँ लाग्छ। कुनै पनि मुलुकको लागि यो सबभन्दा क्षतिको विषय हो। जुन देशको नागरिक स्वतन्त्र, स्वच्छन्द र ऊर्जाशील हुन नसकी नैराश्यबाट घेरिन्छ त्यो देशले कुनै पनि क्षेत्रमा प्रगति हासिल गर्न सक्दैन। यही अवस्था अहिले नेपालमा भइरहेको छ।  
यस्तो अवस्था निम्तिनुको प्रमुख कारण भनेको अहिलेका यी निकृष्ट र स्वार्थी राजनीतिज्ञ नै रहेछन् भन्ने मैले अनुभूति गरेको छु। बाहिर बसेर जे सुनेको थिएँ, यहाँ बसेर प्रत्यक्ष अनुभूति गर्दा झनै कहालीलाग्दो अवस्था मैले पाएँ। यसो हुनुमा जनताको भूमिका यसमा खास केही छैन। किनकि, जनताले त दलहरूलाई विश्वास गर्नुपर्थ्यो, गरे। जुन विश्वासको जगमा दलहरूले ०६२/६३ पछि अन्तरिम संविधान निर्माण गरे, त्यसलाई जनताले माने र त्यसअनुसार भएको चुनावमा भाग पनि लिए। जनताले जहिले पनि परिवर्तन चाहिरहेका हुन्छन् भन्ने मान्यताको आधारमा यहाँनेर के भन्नैपर्ने हुन्छ भने नेपाली जनताले लिकबाट बाहिर गएको प्रजातन्त्रलाई लिकमा ल्याउने, विधिको शासनबाट बाहिर गएको अवस्थालाई विधिभित्र ल्याउने र दैनिक जनजीविकाको सवालमा राष्ट्रलाई स्थायित्व प्रदान गर्ने खालको परिवर्तन खोजेका थिए। तर, दुई वर्षको संविधानसभालाई जबर्जस्ती चार वर्ष पुर्‍याएर पनि संविधान बनाउन नसक्ने हरकत दलहरूले देखाए। विशेषगरी दल होइन दलका नेता असफल भए। नेतामा पनि प्रमुख दलका प्रमुख नेताहरूलाई दोष दिनुपर्ने हुन्छ। त्यसमा पनि आफूलाई क्रान्तिकारी दाबी गर्दै आएको सबभन्दा ठूलो दल एमाओवादी नेतृत्वको अहम् भूमिका छ अहिलेको यो दुरावस्था निम्त्याउनमा। उसले कतै जानाजान नियतवश नै यो सब गरिरहेको हो कि भन्ने पनि लाग्छ, जुन मुलुक र समस्त नेपालीका लागि दुर्भाग्यको कुरा हो। तर, अकर्मण्यता र सुझबुझको अभावका सवालमा अरू दल पनि अछुतो हुन सक्दैनन्।  

किन रोकियो डिजेल प्लान्ट?

 बढ्दो लोडसेडिङ अन्त्य र मुलुकमा देखिएको ऊर्जा संकट निवारण गर्ने बहानामा बाबुराम भट्टराई सरकारले पहिलो प्राथमिकतामा राखेको थर्मल प्लान्ट किन्ने योजना मुख्य सचिव लीलामणी पौडेलको पहलमा स्थगित भएको छ।  विना अध्ययन योजना ल्याइएको र मुलुकको अर्थतन्त्रले धान्न नसक्ने कारण देखाउँदै नेपाल विद्युत प्राधिकरणले थर्मल प्लान्ट किन्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको हो। प्राधिकरणको गत बुधबार बसेको सञ्चालक समिति बैठकले थर्मल प्लान्ट किन्ने योजनाअन्तर्गत दुईपटक टेण्डर आह्वान गरिसके पनि त्यसलाई पनि स्थगन गर्ने निर्णय गरेको हो। युरोपमा विद्यावारिधि गरेका एक विद्यार्थीको शोधपत्रलाई आधार मानेर थर्मल प्लान्ट किन्ने बाबुराम सरकारको योजना हचुवाकै भरमा आएको ऊर्जाविद्हरूको दाबी छ। मुख्यसचिव लीलामणि पौडेलले सो शोधपत्र एक महिना लगाएर अध्ययन गरेको र वस्तुनिष्ठ नभएको, प्राविधिक र आर्थिक रूपमा पनि निकै खर्चालु देखिएको छलफलमा बताएका थिए। मुलुकका लागि घातक ठानिएको थर्मल प्लान्ट मुख्यसचिव पौडेलकै प्रस्तावमा स्थगित भएको प्राधिकरणका एक उच्च कर्मचारीले बताए। थर्मल जडान गर्दा कम्तीमा पनि नौ महिनाको समय लाग्ने र त्यसले यस वर्षको ऊर्जा संकटलाई निवारण गर्न नसक्ने जनाउँदै ८० मेगावाट बराबरको थर्मल प्लान्ट किन्ने योजना स्थगित भएको स्रोतले बतायो। 
बाबुराम भट्टराई सरकारले निकै प्राथमिकता दिएर दुई चरणमा थर्मल प्लान्ट जडान गर्ने मह140वाकांक्षी योजना अघि सारेको थियो। त्यसलाई ऊर्जा संकट निवारण कार्ययोजनामा समेत पारिएको थियो। थर्मल जडान गर्दा सुरुमा नौ अर्ब लाग्ने सरकारी दाबी त्यतिखेर झुठो ठहरियो, जब टेण्डर आह्वान गरेपछि पहिलो चरणमै १५ अर्ब रूपैयाँ लाग्ने स्थिति देखियो। बजेट अनुपातमै ६ अर्बको अन्तर देखिएपछि मुख्यसचिव पौडेलले थर्मल मुलुकको हितमा नरहेको सञ्चालक समितिको बैठकमा स्पष्ट रूपमा राखेको एक बोर्ड सदस्यले तरुणलाई बताए। स्रोतका अनुसार थर्मल जडान गर्ने कार्य ऊर्जा संकट निवारणका लागि भन्दा पनि कमिसनकै लागि ल्याउन खोजिएको सञ्चालक समिति अध्यक्षसमेत रहेका पौडेलले आन्तरिक रूपमा बताएका थिए। 

मदिरा अभिशाप कि वरदान

-डा. गंगाप्रसाद खरेल
मदिरा भन्नाले अल्कोहल (इथानोल) युक्त पेय पदार्थलाई जनाउ“छ । वाइन, वियर र रक्सी (डिस्टिलेशन गरी तयार पारिएको पेय) सबै यसैअन्तर्गत पर्दछन् । यी पेयवस्तु इतिहासको कालखण्डमा कहिले पनि विवादरहित बन्न सकेनन् । आलोचनाको बाबजूद पनि नत उत्पादनमा कमी आयो न त पारखीको संख्या नै घट्यो । नेपालजस्तो गरीब देशमा पनि एक दर्जन जति मदिरा उद्योगहरू संचालनमा छन् । विदेशबाट आयतित मदिराको संख्या र मात्रा दिनानुदिन बढ्दो छ । गाउँदेखि बजार र गरीबदेखि धनी सबैमा एकछत्र छाएको छ । 
हिन्दूधर्मको पवित्रग्रन्थ वेदमा ‘सोमरस’ उल्लेख गरिएको पेयवस्तु मदिरा जस्तै गुण भएको हुनु पर्दछ । वाइन जस्तै वस्तुको वर्णन बाइबल ग्रन्थमा पनि पाइन्छ । इसाई धर्मका प्रवर्तक येशु ख्रीष्ट आफै पनि वाइनका पारखी थिए रे, फ्रान्सका प्रसिद्ध वैज्ञानिक लुई पास्चरलाई वाइनले मोहनी लगाएको थियो । पास्चराइजेशन प्रशोधन विधि आविष्कार गरी उनैले फ्रान्सको वाइन उद्योग जोगाएका थिए । उनले ‘एक बोटल वाइनमा सबै किताबमा भन्दा बढी दर्शन लुकेको हुन्छ’ भनेर वाइनको रहस्य दर्शाएका थिए । इस्लाम धर्मले यो पेयलाई वर्जित गरे पनि अन्य धर्म र समुदायमा यसलाई मान्यता दिएको छ । आपूmलाई मीठो लागेको वस्तु पितृलाई पनि मनपर्ने मान्यताअनुसार धेरै धर्म एवं धर्मावलम्बीहरूले पितृकार्यमा मदिरा अर्पण गरेर पूजा गर्दछन् । नेवारी समुदायमा सगुनको रूपमा यसलाई ग्रहण गरिन्छ । नेपालमा चाडपर्व, भोजभतेर, विवाह, व्रतबन्ध, पास्नी आदिमा यसको उपभोग बढ्दै गएको छ । 

नेपालमा कृषिक्रान्तिको मार्ग

-बाबुराम कार्की
योजनाबद्ध विकासका प्रयासले ६ दशक पूरा गरिसकेको छ । यसका बाबजुुद एकातिर कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान एक–तृतीयांशजति मात्र छ भने अर्कातिर झन्डै दुई–तृतीयांशभन्दा बढी सक्रिय मानिसले यसमा काम गरिरहेका छन् । यसरी दुईतिहाइ जनशक्तिले एकतिहाइ मात्र उत्पादन गर्नु विकसित नेपाली अर्थतन्त्रको प्रमुख बाधक र आजको गम्भीर चिन्ताको विषय बनेको छ । नेपालको कुल भू–भागको २८ प्रतिशत खेतियोग्य भए पनि हाल २१ प्रतिशत भूभागमा मात्र खेती गरिएको अनुमान नेपाल कृषि अनुसन्धान केन्द्रले गरेको छ । तेस्रो राष्ट्रिय जीवनस्तर सर्वेक्षण २०११ का अनुसार ७६ प्रतिशत नेपाली घरमुली कृषक रहेका र ७४ प्रतिशतसँग मात्र आफ्नो जग्गाजमिन भएको पाइन्छ । यसरी थोरै जमिनमा धेरै मानिस आश्रित हुन जाँदा प्रतिघरले उपयोग गरेको जग्गा ज्यादै न्यून (०.७ हे.) रहेको अनुमान छ । झन्डै ७० प्रतिशत कृषि मनसुनमा आधारित छ । पहाडी कमजोर भू–बनोट, निम्न सरकारी लगानी, छरिएका, साना तथा सीमान्तकृत खेतीयोग्य जमिन, अपरिपूरक सरकारी नीति तथा कार्यक्रम, बजारको अभाव, विचौलियाहरूको दादागिरी र त्यसमा राजनीतिक नेताहरूको भूमिका, संस्थागत विकासको धारणामा कमी, सुशासनको अभाव, छिमेकी देशमा कृषिमा पु¥याइएको सरकारी सहयोग, शिक्षित नेपालीहरूले कृषि पेसालाई हेर्ने दृष्टिकोण तथा स्वयं कृषकहरूमा अविकसित व्यापारिक चेतन आदि कृषि विकासका प्रमुख समस्याका रूपमा छन् ।

ऐतिहासिक मोडमा मुलुक


-कैलाशप्रसाद पाण्डेय
 नेपालका ठूला राजनीतिक दलबीचको राज्य पुनःसंरचना, शासनको स्वरूप, निर्वाचन प्रणालीलगायतका सन्दर्भमा भएको असहमतिका कारणले संविधान निर्माण नै सङ्कटमा रहने आशङ्का गरिएको छ। नेपालको राजनीतिमा नयाँ आयाम थपिने महसुस सम्पूर्ण नेपाली जनताले गरिरहेका बेला राजनीतिक दलको आआˆनै घम्साघम्सीले नेपाली राजनीतिले नयाँ स्वरूप लिइरहेको देखिन्छ। आदिवासी, जनजाति, मधेसी, थारु, दलित लगायतको आन्दोलन र ब्राहृमण, क्षेत्री, दशनामी, ठकुरी, पिछडावर्गको आन्दोलनलाई आधार बनाई पक्ष र विपक्षको राजनीतिक खेल नेताहरूले खेलिरहेका छन्। जेठ १४ आइसक्यो, सर्वोच्च अदालतले दिएको निर्देशनलाई सफलतापूर्वक कार्यान्वयन गर्न राष्ट्रपतिबाट पनि निर्देशन भइसकेको छ तर राजनीतिक दल आआˆनै अडानमा छन् त्यसैले संविधान जारी गर्नैपर्ने भएको छ। यस कुरालाई अन्तर्राष्ट्रिय जगतले पनि चासोका साथ हेरिरहेका छन्। जनता अनेक शङ्का, उपशङ्का, तर्क, वितर्कका साथ संविधान बन्ने दिनलाई पर्खिरहेका छन्। आशा गरौं, संविधान बनेर हामी सबैको जित हुनेछ।
दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मूल सन्देशले के सङ्केत गर्दछ भने वास्तवमा नेपाली जनताको चाहना शताब्दीऔंदेखि पिल्सिएर रहेका आदिवासी, जनजाति, मधेसी, दलित, महिला, सीमान्तकृत, भौगालिक रूपमा पिछिडिएका र उपल्लो जातका भनिएका अवसरविहीन समुदायमा आˆनो हक अधिकारको सुनिश्चित गरी केन्दीय एकात्मक राज्य प्रणालीको अन्त्य भई विकेन्द्रीकृत राज्यप्रणालीमा आˆना समस्या समेटिएला भन्ने उत्कट चाहनाका साथ संविधान लेखिनुपर्ने र एक्काइसौं शताब्दीको सँघारमा रहेको विश्वसँग हाम्रो पनि शिर ठड्याउनुपर्छ भनी आन्दोलित भएको जनाउँछ। जसलाई हामीले स्वाभाविक रूपमा हेरिरहेका छौं।

युगकविका अमर विचार


-डा. गोविन्दराज भट्टराई
बरु बाँच युवक दुई घडी मात्र,
चम्की उज्ज्वल पारी समस्त।
यी पङ्क्ति युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताब्दी अघि रचिएका हुन्। त्यसबेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो अर्कातिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहर उठेका थिए, त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो, देशको हृदयमा पीडा, विद्रोह र आन्दोलन उम्लिँदै थियो। त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकारविरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरू जन्मिए।सिद्धिचरण तीमध्ये एक हुन्। त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो। त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले। सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्- देशप्रेम, साहित्यप्रेम र विद्रोहात्मकता। उनी नेपाली साहित्यमा स्वच्छन्दवादका अग्रणी हुन्।
नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने तात्विकता त्यो विद्रोही चेतना हो, जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो। निरङ्कुशताका प्रतिरोधी भएकैले ०९७ सालमा उनलाई लामो कारावास सजाय तोकियो। उनीमाथि मानवीय र दैवी विपत्ति थपिए तर उनी झुकेनन्।