Showing posts with label literature. Show all posts
Showing posts with label literature. Show all posts

युगकविका अमर विचार


-डा. गोविन्दराज भट्टराई
बरु बाँच युवक दुई घडी मात्र,
चम्की उज्ज्वल पारी समस्त।
यी पङ्क्ति युगकवि सिद्धिचरण श्रेष्ठद्वारा आधा शताब्दी अघि रचिएका हुन्। त्यसबेला एकातिर राणाकालीन दमनचक्र चरम उत्कर्षमा पुगेको थियो अर्कातिर प्रथम विश्वयुद्धपश्चात् विश्वव्यापी स्वतन्त्रताका लहर उठेका थिए, त्यसमाथि नब्बे सालको भूकम्पले गर्दा उथलपुथल मच्चाएको थियो, देशको हृदयमा पीडा, विद्रोह र आन्दोलन उम्लिँदै थियो। त्यसैबेला सम्पूर्ण मुक्ति र स्वतन्त्रताको आकाङ्क्षा राखेर अन्धकारविरुद्ध लड्ने केही नेपाली स्वप्नद्रष्टाहरू जन्मिए।सिद्धिचरण तीमध्ये एक हुन्। त्यसैबेला शारदाको जन्म हुनु एक ऐतिहासिक आरम्भ थियो। त्यही कालदेखि नै सिद्धिचरणले क्रान्तिको उद्घोष गर्न थाले। सिद्धिचरणको राष्ट्रिय जीवनमा अथवा उनका सिर्जनामा तीनवटा विशेषता छन्- देशप्रेम, साहित्यप्रेम र विद्रोहात्मकता। उनी नेपाली साहित्यमा स्वच्छन्दवादका अग्रणी हुन्।
नेपाली साहित्यमा कलाको कुरा गर्दा सिद्धिचरणको स्वच्छन्दतावादी स्वरको सम्झना हुन्छ तर उनलाई अमर गराउने तात्विकता त्यो विद्रोही चेतना हो, जुन त्यस अन्धकार युगको साहित्यमा प्रकट भयो। निरङ्कुशताका प्रतिरोधी भएकैले ०९७ सालमा उनलाई लामो कारावास सजाय तोकियो। उनीमाथि मानवीय र दैवी विपत्ति थपिए तर उनी झुकेनन्।

‘गन्तव्य लुम्बिनी’ किन लेखियो ?


Gantabya Lumbini (Destination Lumbini)
न्युरोड, काठमाडौंस्थित नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालयमा बौद्ध सम्पदास्थल सम्बन्धी एउटा डकुमेन्ट्री प्रदर्शन हुँदै थियो । त्यहाँ अचानक विवाद उठ्यो । विवादले चर्को रूप लियो । प्रश्न थियो, बुद्ध कहाँ जन्मेका हुन् ? डकुमेन्ट्रीमा बुद्धको जन्म भारतको उत्तरी सीमामा भएको भनिएको थियो भने लुम्बिनी भनेर देखाएको दृश्य चाहिँ नेपालकै थियो । कुरा स्पष्ट थियो– भारतको उत्तरी सीमा भनेर कपिलवस्तुलाई भनिएको हो । प्राचीन कपिलवस्तु वर्तमान अवस्थामा नेपाल र भारत दुई देशमा विभाजित छ । दुवै देशमा विभाजित कपिलवस्तुलाई आआफ्नो भूभागको कपिलवस्तुलाई मात्रै ‘कपिलवस्तु’ भनेर दुबै देशका एक वर्ग दावी गर्दै आइरहेका छन् । फेरि नेपालमा अर्को वर्ग पनि छ, कपिलवस्तु र लुम्बिनी एकै हो भनेर बुझ्ने । अनि, जब भारतको पिप्रहवालाई कपिलवस्तु भनिन्छ, तिनीहरू बुद्धको जन्मस्थलमाथि भारतले दावी ग¥यो, नक्कली लुम्बिनीको निर्माण गर्दैछ वा झुठो प्रचार ग¥यो भन्दै सार्वजनिक रूपमा नै कुर्लन थाल्छन् । यसै विषयमा नेपाली पत्रकारिताले पनि थुप्रै शब्द खर्चिसकेको छ  । डकुमेन्ट्री प्रदर्शनका बेला पनि यही कुराको पुनरावृत्ति भएको थियो । आफ्नो बुझाइअनुसार आपत्ती जनाउने एक नेपाली युवती थिइन् ।पुस्तकालयका एक युवा कर्मचारीले पूर्व र पश्चिमको दिशा देखाएर ती युवतीलाई सोधे– उसो भए बुद्ध यता जन्मेका हुन् कि उता ? बुद्ध नेपालमा जन्मेका हुन् भनी दावी गर्ने ती युवतीलाई संभवतः लुम्बिनीको भौगोलिक अवस्थितिका सम्वन्धमा जानकारी नै रहेनछ । वा उनी लुम्बिनी पुगेकै थिइनन् । उनी नाजवाफ भइन्, जुरुक्क उठिन् र बाहिरिइन् ।

 बौद्धहरूका लागि लुम्बिनी एक संवेजनीय स्थल हो । बुद्ध स्वयंले पनि यो भनेर गएका छन् । यसै भएर बौद्धहरू लुम्बिनीलाई तीर्थस्थलकै रूपमा लिन्छन् र सकभर जीवनमा एकपल्ट पुग्नै पर्ने स्थलको रूपमा मान्यता छ । गैरबौद्धहरू पनि यसको पर्यटन गर्दछन् । यो बुद्धको जन्मस्थल त पक्कै हो, यसका अतिरिक्त यहाँ थुप्रै कुराहरू पनि हेर्न पाइन्छन् । विभिन्न समयमा भएका बौद्ध गतिविधिहरू हाल पुरातात्विक अवशेषका रूपमा रहेका छन् र यी कुराहरूकै कारण यो क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ ।


मृत्युलाई जित्दै कवि जगदीश

लियो टाल्स्टोयले 'बुढो खोल्सतोमेर' कथामा 'ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको' बताएका छन् । ती के भने- मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ, उसको आयु कति लामो छ र मृत्युको घडी कसरी आउँछ । 'अन्तर्मनको यात्रा'ले मदन पुरस्कार पाएपछि जगदीश घिमिरेलाई भेट्ने लालसा तीब्र भएको थियो । उनलाई भेट्दा लागेको थियो-टोल्स्टोयले भनेजस्तै मृत्युका यी तीनै रहस्य खुल्ने भए सृष्टिको स्वरूप नै भिन्नै हुन्थ्यो । त्यसबेला म उनीसँग मृत्यु-संवादको मुडमा थिएँ । सायद, म गलत थिएँ, मृत्युको सिलुएट -पाश्र्वछायाँ) मा उभिएर आफ्नो जीवनको सिंहावलोकन गरिरहेका कविसँग मृत्युबारे चिन्तन गर्नु एउटा अपराध जस्तै थियो तर भेटमा उनी निकै फूर्तिला देखिए । लाग्यो, मृत्युको छायाँले उनलाई सताउन छाडेछ ।
वि.सं. २०६३ वैशाखमा उनी बिरामी भए । विशेषज्ञहरूले जीवनको म्याद तोकिदिए-२-३ वर्ष । बढी भए त राम्रो भो तर घटी भयो भने ? उनी यही सोचेर तर्सिन्थे । 'अब ती कुरा पुराना भए । अब म त्यो मृत्यु-चिन्तन र मृत्यु चिन्तामा छैन । म जीवन चिन्तनमा छु', यो साँझ उनी जीवन चिन्तनमा डुबेजस्ता भेटिए । उनी अहिले मन्थलीमा छन् र बसेर जीवनको आख्यान लेख्दै छन्-'बेपत्ताको डायरी' । जुन उनकै शब्दमा-छिटै प्रकाशमा आउने छ । उनलाई स्वास्थ्यको समस्या छ । अहिले पनि लगातार खाने किमोथेरापीमा छन् ।
जवानीका जोशमा मान्छे खोलाका ठूला जङ्घार पनि तर्छ, दुर्लघ्य पहाड पनि चढ्छ । भर्भराउँदो जवानीमा मृत्युबारे कसैले सोच्दैन । नत्र जीवनको मधुरतम रस पनि बाँकी रहने थिएन । त्यसबेला मान्छेलाई लाग्छ-यत्तिकैमा पुग्छ होला, मर्नेहरू मरिरहुन्, म अमर छु । त्यसबेला शरीरको नश्वरता र क्षणभङ्गुरता पनि मान्छेले बिर्सेकै हुन्छ । जगदीश घिमिरेको जवानी सिद्धिएको धेरै भयो । उनी अमेरिकाको ओक्लोहामा सहर पुगेपछि मात्रै थाहा पाए 'मलाईर् मल्टिपल माइलोमा क्यान्सर छ ।' त्यसैदिन उनको ढाड फ्याक्चर भयो र उनी हलचल गर्न नसक्ने गरी ढले । उनी उपचार गर्न जाँदा जति उत्साही थिए, त्यहाँबाट फर्किंदा त्यो भन्दा हजारौं गुणा दुःखी थिए । शरीरमा थियो-माइलोमा । नशा-नशामा मृत्यु, यो चिसोमा उनी भन्छन्, 'म बाँचुन्जेल त्यो दिन बिर्सन सक्नेछैन ।'

कहिल्यै नहार्ने कलमका योद्धा - रमेश विकल रोदन

"म लेख्दा लेख्दै मर्छु, मैले लेख्न छोडेको दिन मेरो मृत्यु हुन्छ" भने जस्तै नेपाली साहित्यका विशिष्ट स्रष्टा रमेश विकल जीवनको अन्तिम अवस्थासम्म पनि सिर्जनारत नै थिए ।
वि.सं. १९८५ कात्तिक २९ गते भाइटीकाको दिन काठमाडौँको आरुवारीमा जन्मेका रमेश विकल नेपाली साहित्यका यशस्वी साधक हुन् । जमिन्दार ब्राहृमण परिवारमा जन्मे हुर्केका भए पनि वर्गीय दृष्टि र वर्गीय पक्षधरताको कारण विकल प्रगतिवादी धाराको नेतृत्व गर्ने प्रगतिशील साहित्यकार बने ।
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकषिर्त भएर साहित्य र राजनीतितिर लागेका थिए । पछि गोविन्दप्रसाद लोहनीबाट माक्र्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए । उनले साहित्यकार आनन्ददेव भट्टबाट वि.सं. २०११ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
वि.सं. २००५।०६ तिर श्यामप्रसादको नेतृत्वमा प्रकाशित हस्तलिखित पत्रिका 'सन्देश' को पहिलो अङ्क -२००५) मा नै रमेश विकलको पहिलो कविता प्रकाशित भएको थियो । उनको सार्वजनिक साहित्यिक यात्रा भने वि.सं. २००६ 'शारदा' पत्रिकामा 'गरिब' कथा प्रकाशित भएपछि भएको थियो । यो कथा पनि श्यामप्रसादले नै गोविन्द गोठालेसँग चिनजान गराएपछि छापिएको थियो ।
नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महìवपूर्ण योगदान पुर्‍याएका छन् । उनका कथासङ््ग्रह - ७, उपन्यास-४, नाटक एकाङ्की-४, यात्रासाहित्य-३, आत्मसंस्मरण-२, व्यङ्ग्य-१, बालसाहित्य-२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।

मुक्तकमा पहिलो विद्याबारिधि मुरारी पराजुली लाई

बुटवल मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो ।
वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा जन्मिनु भएका पराजुलीले नेपाली मुक्तक विधामा पहिलोपल्ट विद्यावारिधि प्राप्त गर्ने श्रेय प्राप्त गर्नु भएको छ । पराजुली नेपाली साहित्यका क्षेत्रमा समकालीन युवा पुस्ताबीच विशिष्ट शैलीका कविता, लेख र समालोचना विधाबाट बढी परिचित हुनुहुन्छ ।
उहाँका सृजनाका स्वरहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४५), आगो पालेका पेट र शीत ओढेका बस्तीहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४६), हाँसेर उसका ओठले -कवितासङ्ग्रह, २०६१) र लोकतन्त्रको शङ्खनाद -सहप्रकाशित कवितासङ्ग्रह, २०६२) जस्ता कविताकृति र सयौँ फुटकर लेख तथा समालोचना प्रकाशित छन् ।
उहाँले सिर्जनशील साहित्यिक समाज सम्मान -२०६४), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार -२०६५), रौतहट साहित्य सञ्जाल सम्मान -२०६५), टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य सेवा पुरस्कार -२०६६) जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसक्नु भएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।