बुटवल मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो ।
वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा जन्मिनु भएका पराजुलीले नेपाली मुक्तक विधामा पहिलोपल्ट विद्यावारिधि प्राप्त गर्ने श्रेय प्राप्त गर्नु भएको छ । पराजुली नेपाली साहित्यका क्षेत्रमा समकालीन युवा पुस्ताबीच विशिष्ट शैलीका कविता, लेख र समालोचना विधाबाट बढी परिचित हुनुहुन्छ ।
उहाँका सृजनाका स्वरहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४५), आगो पालेका पेट र शीत ओढेका बस्तीहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४६), हाँसेर उसका ओठले -कवितासङ्ग्रह, २०६१) र लोकतन्त्रको शङ्खनाद -सहप्रकाशित कवितासङ्ग्रह, २०६२) जस्ता कविताकृति र सयौँ फुटकर लेख तथा समालोचना प्रकाशित छन् ।उहाँले सिर्जनशील साहित्यिक समाज सम्मान -२०६४), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार -२०६५), रौतहट साहित्य सञ्जाल सम्मान -२०६५), टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य सेवा पुरस्कार -२०६६) जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसक्नु भएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।