"म लेख्दा लेख्दै मर्छु, मैले लेख्न छोडेको दिन मेरो मृत्यु हुन्छ" भने जस्तै नेपाली साहित्यका विशिष्ट स्रष्टा रमेश विकल जीवनको अन्तिम अवस्थासम्म पनि सिर्जनारत नै थिए ।
वि.सं. १९८५ कात्तिक २९ गते भाइटीकाको दिन काठमाडौँको आरुवारीमा जन्मेका रमेश विकल नेपाली साहित्यका यशस्वी साधक हुन् । जमिन्दार ब्राहृमण परिवारमा जन्मे हुर्केका भए पनि वर्गीय दृष्टि र वर्गीय पक्षधरताको कारण विकल प्रगतिवादी धाराको नेतृत्व गर्ने प्रगतिशील साहित्यकार बने ।
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्मासँगको सम्पर्कपछि विकल प्रगतिशील विचारतर्फ आकषिर्त भएर साहित्य र राजनीतितिर लागेका थिए । पछि गोविन्दप्रसाद लोहनीबाट माक्र्सवादी शिक्षा पाएपछि विकल वामपन्थी विचारका पक्षपाती भएका थिए । उनले साहित्यकार आनन्ददेव भट्टबाट वि.सं. २०११ मा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
वि.सं. २००५।०६ तिर श्यामप्रसादको नेतृत्वमा प्रकाशित हस्तलिखित पत्रिका 'सन्देश' को पहिलो अङ्क -२००५) मा नै रमेश विकलको पहिलो कविता प्रकाशित भएको थियो । उनको सार्वजनिक साहित्यिक यात्रा भने वि.सं. २००६ 'शारदा' पत्रिकामा 'गरिब' कथा प्रकाशित भएपछि भएको थियो । यो कथा पनि श्यामप्रसादले नै गोविन्द गोठालेसँग चिनजान गराएपछि छापिएको थियो ।
नेपाली साहित्यिक भण्डारमा कथा, उपन्यास, नाटक, यात्रा, आत्मसंस्मरण, व्यङ्ग्य र बालसाहित्यका ५५ वटा पुस्तक प्रकाशित गरेर रमेश विकलले महìवपूर्ण योगदान पुर्याएका छन् । उनका कथासङ््ग्रह - ७, उपन्यास-४, नाटक एकाङ्की-४, यात्रासाहित्य-३, आत्मसंस्मरण-२, व्यङ्ग्य-१, बालसाहित्य-२७ र अनुवादका ७ कृतिहरू प्रकाशित छन् ।








