लक्ष्मण अधिकारी, नेपालका ३७ वटा सार्वजनिक संस्था र छवटा दूरसञ्चार सेवाप्रदायकमध्ये मुलुकलाई सबैभन्दा बढी आर्थिक योगदान दिने संस्था नेपाल टेलिकम यही माघ २२ गतेदेखि दशौं वर्षमा प्रवेश गरेको छ । ८४ लाखभन्दा बढी ग्राहक आधार भएको यस कम्पनीले आर्थिकरूपमा मात्र नभएर सेवा विस्तारका दृष्टिले पनि उल्लेख्य योगदान दिइरहेकोे छ । देशको सुगम क्षेत्रदेखि अति दुर्गम क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गरेर डिजिटल डिभाइडलाई कम गरी मुलुकलाई सूचना तथा सञ्चार प्रविधिको युगमा प्रवेश गराउन यस कम्पनीले विगतदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । तीव्र सेवा विस्तार, समयानुकूलका प्रविधियुक्त सेवा, मजबुत आर्थिक स्थिति, प्रतिस्पर्धात्मक र पारदर्शी महसुल दर जस्ता विशेषताले यस कम्पनीलाई मुलुकको एउटा गौरव गर्न लायक संस्थाका रूपमा स्थापित गरिदिएको छ ।
२०६० सालमा कम्पनीमा रूपान्तरण भएको यस संस्थाको नौ वर्ष अगाडि (२०६० असार) कम्पनीको ग्राहक आधार चार लाख २२ हजार रहेकोमा गत मङ्सिरसम्ममा ग्राहक आधार ८४ लाख १० हजार नाघिसकेको छ । अर्कोतर्पm आर्थिक तथ्यांक हेर्दा नौ वर्ष अगाडि (आ.व.०५९र०६०) को कुल आम्दानी रु. सात अर्ब ६६ करोड ९२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा रु. ३६ अर्ब ७९ करोड १८ लाख पुगेको देखिन्छ । त्यस्तै नौ वर्ष अगाडि कम्पनीको कुल नाफा रु तीन अर्ब १३ करोड ७२ लाख रहेकोमा आर्थिक वर्ष २०६८ र ०६९ मा यो मुनाफा ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ ।
















