नेपाली मल्टिनेसनल

राजनीतिक अस्थिरता र द्वन्द्व सुरु भएपछि उद्यमी व्यवसायीसँग लगानीका बारेमा प्रश्न गर्दा प्रायः सबैको एउटै उत्तर हुन्थ्यो , वातावरण खै? पर्ख र हेरको स्थितिमा छौं। तर, विनोद चौधरी यसभन्दा फरक उत्तर दिन्थे। पाँच वर्षअघि टेलिभिजन अन्तर्वार्तामा चौधरी गु्रपका अध्यक्ष विनोदले भनेका थिए–वातावरण छैन भनेर कहिलेसम्म पर्खिने जहाँ अवसर छ त्यही गएर लगानी गर्नुपर्छ।

२०५१ पछि राजनीतिक अस्थिरताले उद्यमी व्यवसयी र लगानीकर्ता हतोत्साहित थिए र अहिलेसम्म छन्। तर, यस बीचमा विनोदले आफुले भनेजस्तै गरे, जहाँ अवसर छ त्यही गए र एक दसकभित्रै चौधरी ग्रुप (सिजी) नेपाली बहुराष्ट्रिय कम्पनी बन्यो। एक महिनाअघि थाइल्यान्डमा दुई वर्षभित्र सिजीले ३० ठूला होटलमा ३५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। यसै साता नयाँ दिल्लीमा विनोदले भने भारतमा हामी ५ अर्ब लगानी गर्दैछौं।

बहुराष्ट्रिय कम्पनी पश्चिममा पुजीवादी र धनी देशबाट मात्र उदाएका छन् भन्ने मान्यता पुरानो भइसक्यो भनी दिन सकिने एउटा उदाहरण सिजी पनि हो। नेपालसहित एसियाका विभिन्न देशमा लगानी गर्ने घोषणा कार्यान्वयन भए सिजी विश्वको उदाउँदो बहुराष्ट्रिय कम्पनी हुनेछ। एसियाको सबैभन्दा गरिब, आर्थिक र राजनीतिक रुपमा असफल देशमा जन्मे पनि विश्व प्रतिष्ठित कम्पनी हुने बाटोमा सिजी लम्किएको छ। सरकार र देशको नियम कानुन सहयोगी नहुँदा पनि सिजीले विदेशमा लगानी गरेर देशलाई विश्व अर्थतन्त्रसँग जोडिरहेको छ। विश्वका सम्पन्नले जस्तै निजी विमानमा एकबाट अर्कोमा जाने अवस्थामा पुगेका छन् चौधरी।
झन्डै ३० वर्षअघि वाईवाई चाउचाउ उद्योग नेपालमा खोल्ने सम्वन्धित फाइल पढेर टिप्पणी लेख्ने राष्ट्र बैंकका तत्कालीन चार्टर्ड एकाउन्टेन्ड टंक खनाल भन्छन् 'विनोदमा दुरदर्शी र क्षमता छ भन्ने वाइवाइ चाउचाउ उत्पादन अनुमति लिँदा दक्षिण एसियाको एकाधिकार माग्दा नै देखिएको थियो।' संयुक्त लगानी र दक्षिण एसियामा समेत एकाधिकार लिने विषय विदेशी मुद्रासँग पनि सम्बन्धित थियो। ४० वर्षअघिको एक पाने कानुनले नेपालीलाई विदेशमा लगानी गर्न पूर्णतह वन्देज छ। त्यतिबेला यो कानुनले झमेला खडा गर्न सक्थ्यो तर, नेपाली उद्यमी विदेशमा समेत जाने आँट गर्नु नराम्रो होइन भन्ने आधारमा मैले ठिक छ भन्ने टिप्पणी लेखे खनालले भने।
वाइवाइ चाउचाउ र यो एकाधिकारले विनोदलाई बहुराष्ट्रिय उद्यमी वनायो। नेपालमा वाइवाइ लोकप्रिय भयो। यसपछि चौधरी समूह नेपालमा उत्पादन भएको चाउचाउ लिएर भारतीय बजार प्रवेश गर्‍यो। केही वर्षअघि भारतका विभिन्न स्थानमा उद्योगसमेत खोल्यो। भुटान, मध्यपूर्वलगायत देशमा वाइवाइले बजार लिएको छ।
९० साल महाभूकम्प गएको २ वर्षपछि सन् १९३५ मा चौधरी परिवारले न्युरोड हालको विशालबजार अघि वार्षिक २०० रुपैयाँ भाडामा लिएर पसल खोलेको थियो। त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन। पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले। यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे।
चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टिल, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो। पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे। पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क उद्योग खोल्न लाइसेन्स लिन उपयोगी बन्यो।
तर, परम्परागत होइन नयाँ हेर्ने विनोदको स्वभाव वाइवाइमा मात्र समिति भएन्। नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए। कतिमा सफल भए कति असफल। रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे। दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे। बासुदेव फिल्म बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे। ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो। देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो। तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए। सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्‍यो। तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन।
विनोदमा कुनै पनि निर्णय गर्दा सम्वद्ध विषयका जानकारसँग बसेर सल्लाह गर्ने, अरुको कुरा सुन्ने तर, निर्णय आफैं गर्ने स्वभाव छ। छिटो कुरा बुझ्न सक्ने क्षमता पनि उनीसँग छ। अरुको कुरा राम्रोसँग सुने पनि विश्वास भने गरिहाल्दैनन्। उनको व्यवस्थापन निर्णयमा धेरै जनासँग सल्लाह गर्ने जापानी र छिटो निर्णय गर्ने अमेरिकी व्यवस्थापन सिद्धान्तको मिश्रण छ।
अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी पनि विनादसँग छ। विनोद सधै पावर निकट बस्छन्। पञ्चालयतका बेला चौधरी परिवारको राजा, राजपरिवारसंग निकटता थियो। पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजिक थिए। पावर हुनेसँग विनोद छिटो सम्बन्ध बनाउँछन्। बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो। अहिले पनि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ। राजनीतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन्।
ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गर्‍यो। खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे। त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए। दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए। यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायीक घरना टाटा समूहसँग जोडिन पुगे। श्रीलंका, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे। श्रीलंका स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलंका रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ। मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा दुई वर्षअघि सार्वजनिक भएको थियो। अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ। विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै थिए। मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए।
सिजी बहुराष्ट्रिय हुनुमा सरकारको कुनै योगदान छैन। यस मुद्दामा सरकार पूर्णतह मौन छ। सरकारको उच्च तहमा विदेशमा लगानी गरेर देशलाई हानी हुँदैन भन्ने छ। तर, कानुनले प्रतिबन्ध लगाएको छ। नेपालीले विदेशमा लगानी निकै पहिले देखिनै गर्दै आएका हुन्। तिव्वतमा नेपालीले उद्योग व्यवसाय खोलेका थिए। ७ दशक अघि भारतीय कम्पनीको सेयर नेपालीले किनेका थिए। भारतमा कतिपय ठाउँमा नेपालीका सिनेमा घर र व्यवसाय थिए।
केहीले आरोप लगाउँछन् स्वदेशी पुँजी विदेश गयो। विश्वभरका प्राय लगानीकर्ताको एउटै स्वभाव हुन्छ जहाँ अवसर छ त्यही जाने। कोकाकोला अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइदा लिन नै नेपाल आएको हो। अमेरिकी सरकारले वालमार्टलाई भारत प्रवेश दिन उच्चस्तरमा वार्ता गर्नु नबुझेर होइन। स्वदेशी उद्यमी विदेशमा गएर लगानी गर्दा देशलाई हानी हुँदैन। विदेशमा गएर जोखिम लिन सक्ने समूह देशमा उपलब्ध अवसर छोप्न सधैं तत्पर रहन्छ। देशमा भारतीय रुपैयाँ (भारु) अभाव छ। सिजीले भारतमा वाइवाइ बिक्री गरेर भारु कमाइदिएको छ। माल्दिप्स गएर डलर र पाउन्ड कमाएको छ। नेपालमा जलविद्युत, दुरसञ्चार र एयरलाइन्स जस्ता क्षेत्रमा लगानी गर्न सिजी पर्खिरहेको छ। करिव १० वर्षअघि देखि नै राष्ट्र बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानुन संशोधन गर्न अर्थमन्त्रालयमा प्रस्ताव पठाएको थियो। सरकारले तीन वर्षअघि बजेटमा नेपाली लगानीकर्तालाई विदेशमा उद्योग व्यवसाय गर्न दिन कानुनमा संशोधन गर्ने प्रस्ताव परेको थियो। तर, यो कार्यान्वयन भएन्।
सीजीभित्रै झन्डै ४० कम्पनी छन्। विदेशमा आक्रमक रुपमा लगानी विस्तार गरेपछि सिजीमा अझै आधुनिक व्यवस्थापन र संस्थागत सुशासनको अभाव देखिन्छ। वाइवाइले वार्षिक कारोवार कति गर्छ, सिजी टेलिभिजन नाफा छ या नोक्सानमा। यो अहिलेसम्म सीजीले सार्वजनिक गरेको छैन। सीजीले विभिन्न क्षेत्रमा २५ करोड अमेरिकी डलर लगानी गरेको मात्र सार्वजनिक गरेको छ। भारतमा रिलायन्स वा टाटा ग्रुपले जस्तो आम सर्वसाधारण नेपालीलाई आफ्नो कम्पनी र अर्थतन्त्रसंग जोड्ने क्षेत्रमा पनि सीजी पछि परेको छ। सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ। तर, यी स्टक एक्सेन्जमा कारोवार हुने कम्पनीमा सीजी समुहको लगानी हुनुले कुनै प्रभाव पारेको छैन। सेयर बजार कम्पनी र लगानीकर्ताको छवि नाप्ने व्यारोमिटर पनि हो। तीन बर्ष अघि सीजीले नेपाल बंगलादेश बैंकको सेयर किन्दै छ भन्ने हल्ला बजारमा आउँदा सेयर बजार प्रभावित भएको थियो। आम सर्वसाधारणलाई सेयर दिदां प्रतिफल पनि धेरैले पाउंछन्। रिलायन्सको सेयर किनेर घरखर्च चलाउने भारतमा थुप्रै सर्वसाधारण छन्। सर्वसाधारणलाई सेयर दिएको भएर नै रिलायन्स प्रति धेरैको सम्वन्ध गासिएको छ। सीजीले सेयर बजारलाई वेवास्ता गरेको छ। सेयरले कम्पनी र एउटा परिवार मात्र होइन धेरैलाई धनी वनाउंछ।

सीजीका तीन व्यावसायिक त्रुटी

व्यवसायीक नहुनुको पाठ
निजीकरण हुन लागेको बुटवल पावर कम्पनी किन्न सीजीले प्रस्ताव गरेको थियो। सरकारी स्वामित्वको यो कम्पनी किन्ने विनोदमा तिव्र इच्छा पनि थियो। बीपीसीमा वेलायत र अमेरिकी लगानीको इन्डिपिडेण्ट पावर कम्पनी सीजीको एउटा साझेदार थियो। यही कारण अमेरिका र बेलायतले समेत विनोदलाई सहयोग गरेका थिए। बीपीसी निजीकरण गर्ने क्रममा सरकारले विभिन्न विवादका कारण तीन पटक टेण्डर माग गर्यो। अन्तिममा विनोदले यो कम्पनी किन्न सकेनन्। यसको मुख्य कारण थियो। सीजी र साझेदारहरुले किन्न खोजेको पैसा प्रतिस्पर्धीको भन्दा झण्डै १० करोड रुपैंया कम थियो। बढी पैसा दिने समुहले वीपीसी किन्यो। यो कम्पनीबाट आएका विज्ञले बीपीसी १ अर्ब १० करोड रुपैंयासम्म हाल्न हुने सुझाव दिएकी थिईन्। तर, विनोद चौधरीले करिव ८४ करोड रुपैंयामा किन्ने प्रस्ताव गरे। विनोदले गोप्य सुत्रवाट अर्को प्रतिस्पर्धी समुहले ८२ करोड रुपैंयामा किन्ने प्रस्ताव गरेको थाहा पाएको दावी गर्दै ८४ करोड हाल्न साझेदारहरुलाई मनाएका थिए। टेण्डर खोल्नु अघि १५, २० करोड रुपैंयाँ बचाएको दावी साझेदारसंग गरेका थिए। तर, उनको गोप्य सुत्र काम लागेन। उनको हातबाट वीपीसी गयो। यो निर्णय अमुर्त गोप्य सुचना भन्दापनि व्यवसायीक रुपमा हुनुपर्छ भन्ने पाठ हो।

गलत साझेदार

रुपन्देहीको महालक्ष्मी सुगर मिल्समा स्थानिय कनौडिया परिवारसंग मिलेर सीजीले लगानी गरेको थियो। मिल्स सुरु भएको केही महिना पछि नै साझेदारहरु मिलेर चलाउन नसक्ने अवस्थामा पुगे। मिल्स क्षेत्र कनौडिया परिवारको राजनीति गर्ने क्षेत्र पनि थियो। दुवै पक्ष मिल्न नसकेपछि सीजीले कनौडियालाई मिल्स स्वामित्व विक्री गर्यो। तर, ऋण दिने बैंकवाट स्विकृत भने लिएको थिएन। मिल्सले राष्ट्रिय बाणिज्य बैंक लगायतलाई १ अर्व भन्दा बढी तिर्नु थियो। यही कम्पनीका कारण विनोद सहित अन्य परिवारका सदस्य बैंकको कालो सुचीमा परे। सर्वोच्च अदालतका न्यायाधिशको निर्णय पनि विवादमा पर्यो। कालोसूचीमा पर्दा विनोदको प्रतिष्ठामा समेत चोट पुगेको थियो। कनौडिया परिवारले बैंकको ऋण तिर्न थालेपछि चौधरी परिवार कालोसुचीबाट बाहिर निस्क्यो।

ग्राहकलाई खुशी बनाउन नसक्नु
चौधरी समुहको पहिलो हाउजिगं परियोजना पनि विवादमा पर्यो। घर किन्नेहरुले स्वामित्व र गुणस्तरका वारेमा प्रश्न उठाए। ग्राहकको गुनासोलाई सीजीले सुरुमा वेवास्ता गर्यो। समयमै सम्बोधन गर्न सकेन। उपभोक्ता अदालतसम्म यो मुद्दा पुग्यो। यो विवादको असर सीजीका अन्य हाउजिगं परियोजनालाई समेत पार्यो। ग्राहक वा सेवा किन्ने देउता हुन उनीहरुलाई पहिले सन्तुष्ट बनाउनु पर्छ भन्ने मान्यतालाई सम्मान नगर्दा सीजीलाई नै नोक्सान पर्यो।
 
जोसँग सम्भावना छ
विनोद चौधरी(सीजी) जस्तै नेपालका अन्य व्यवसायिक घरानाहरुमा पनि बहुराष्ट्रिय कम्पनी बन्ने सम्भावना छ।
राजेन्द्र खेतान, खेतान समुह
खेतान समूह पनि देशको ठूलामध्ये एउटा औद्योगिक घराना हो। बैंक, बिमा, बियर, चाउचाउ जस्ता व्यवसायमा खेतान समूहको लगानी छ। यसलाई नेतृत्व दिएका छन् युवा उद्यमी राजेन्द्र खेतानले। गत आर्थिक वर्षसम्म खेतान समूहको गोर्खा ब्रुअरी सरकारलाई बढी राजस्व तिर्ने १० ठूला कम्पनीभित्र पर्छ। खुद्रा विक्रीमा खेतान समूहको विशेष दख्खल छ।
यो समूहले हालै नेपालमा उत्पादन हुने टुबर्ग बियरमा रहेको आफ्नो स्वामित्व विक्री गरेको थियो। राजेन्द्र समूह अध्यक्ष भए पछिको यो सवैभन्दा ठूलो निर्णय थियो। राजेन्द्रसँग देशको उच्च र तल्लो तहसम्म काम गर्न सक्ने क्षमता छ। युवा उमेरमै अर्बौंको कारोबार गर्ने व्यावसायिक घरनाको नेतृत्व गर्न पुगेका राजेन्द्र पनि नयाँ व्यवसाय गर्ने क्षमता राख्छन्। यो सेयर बिक्रीबाट आएको ठूलो रकम लगानी गरेर यो समूहले देशको अर्थतन्त्रलाई नयाँ मोड दिन सक्छ।
राजेशबाबु श्रेष्ठ चितवन कोई
ठेक्का पट्टा गर्दा गर्दै चितवन कोईले मनकामना केबुल कारमा लगानी गर्यो। यो केवुलकार नेपालका लागि नयां अवधारणा थियो। यो चितवन कोईका लागि नयां सोच्ने एउटा मोड पनि बन्यो। मनकामना केवुलकार बनाएर चितवन कोईले आमजनताको स्यावासी पनि पायो पैसा पनि कमायो। यसकै सफलताले चिवतन कोईले हाल सिम्किममा पनि केवलकार बनाउंदै छ। नेपालमा पनि विभिन्न स्थानमा यस्तै केवलकार वनाउने योजना चितवन कोईको छ। केबलकार पछि धुलोदुध कारखानामा यो समुहले लगानी गर्यो। चिवतनमा उत्पादित धुलोदुध हाल विदेश निकासी हुन थालेको छ।
सौरभ ज्योति
सौरभ देशको पुरानोमध्ये एक व्यवसायीक धराना ज्योति समुहको कारोवारमा संलग्न छन्। ज्योति समुह एक शताव्दी अघि देखिनै तिव्वत व्यवसायमा संलग्न थियो। नयाँ प्रविधि र विश्व व्यवसायीक वातावरण वुझेका सौरभले यो व्यवसायीक धरनालाई नयाँ रूप दिन सक्छन्।
सुवास संघाई, संघाई गु्रप
यो समुहले व्यापारवाट कमाएको पैसा उद्योग व्यवसायमा लगानी गर्न सुरु भएको साढे एक दशक भयो। बैंक, विमा कम्पनी, चिया उत्पादन, डिर्पाटमेण्ट स्टोर लगायतमा यो समुहको लगानी छ। देशकै सबैभन्दा आधुनिक कमलादीको सिटी सेन्टरमा संघाईको लगानी छ। यो समुहले झण्डै ५ अर्वको लगानीमा दागंमा सिमेन्ट उद्योग खोल्ने तयारी गरिहरहेको छ।
आनन्द बागरिया, निम्बस समुह
आनन्द बगरीयाले देशको सबैभन्दा ठुलो कृषिजन्य उद्योग निम्बस समुहको नेतृत्व गर्छन्। निम्बस कुखुरा पालक कृषकका लागि प्रचलित नाम हो। यो कम्पनीले वािर्षक एक बर्ष भन्दा बढी कारोवार गर्छ। यो देशकै सवैभन्दा ठुलो दाना उद्योग पनि हो। बारा पर्सा लगायतका कृषकले उत्पादन गरेका उपजको सवैभन्दा ठुलो क्रेता पनि निम्वस हो। कृषिलाई व्यवसायीकरण गर्नेमा यो उद्योगको महत्वपुर्ण योगदान छ। निम्बसले कुखुराको चल्ला उत्पादनमा ठुलो लगानी गर्ने योजना पनि ल्याएको थियो। यो पनि भविष्यमा माथि उठ्ने संभावना भएको कम्पनी हो।
विरेन्द्र बस्नेत बुद्ध एयर
सुरक्षा र भरपर्दो सेवाका कारण बुद्ध एयर हाल देशकै सफल एयरलाइन्स हो। न्यून व्यवस्थापन खर्च, चुस्त व्यवस्थापन बुद्ध एयर सफलताको अर्को कडी हो। बुद्ध एयरका कार्यकारी निर्देशक विरेन्द्रले दुई बर्ष अघि साना जहाज छाडेर केही ठुलो जहाज ल्याए। ठुला जहाजले बुद्ध एयरलाई नयां मोड दिएको छ। एक अर्व रुपैंया भन्दा बढीको यो लगानी निर्णयले बुद्ध एयर अगामी दिनमा अझ माथि उडान भर्छ भन्ने देखाउंछ। अन्य नयां क्षेत्रमा समेत विरेन्द्र सक्रिय छन्।
नागरिक न्यूज़