Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

वास्तविक राजनेता कहिले भेटिएला ?

-दिनेश नेपाल
विषम परिस्थितिमा राष्ट्रलाई सुमार्गतर्फ लैजानु नै सच्चा राजनेताको दायित्व र कर्तव्य मानिन्छ। विश्व राजनीतिलाई सर्सर्ती दृष्टिगोचर गरिँदा संसारका कुनै पनि राष्ट्र जब–जब विषम र सङ्क्रमणको अवस्थाबाट गुजि्ररहेको हुन्छ त्यस्तो अवस्थामा नै पक्का राष्ट्रपे्रमी राजनेताको उदय भएको पाइन्छ। उदाहरणस्वरूप फ्रान्सको विषम परिस्थितिबाट नेपोलियन, इङ्ग्ल्यान्डको विषम परिस्थितिबाट ओलिवर क्रमवेल र चर्चिल, जर्मनीको सङ्क्रमण अवस्थाबाट विस्मार्क र हिटलर, इटलीको अप्ठ्यारो परिस्थिबाट मुसोलिनी, रसियाको विषम परिस्थितिबाट लेनिन, चीनको विषम परिस्थितिबाट माओ त्से तुङ, भारतको विषम परिस्थितिबाट महात्मा गान्धी र सुवासचन्द्र बोस आदिको उदयलाई लिन सकिन्छ।
माथि उल्लिखित राजनेताहरूले राष्ट्रलाई विषम परिस्थितिबाट त उन्मुक्ति दिए तर त्यसमध्ये केही जनप्रिय भए भने केही तानाशाही कहलाइए। तर, सबैले राष्ट्रलाई अन्योलको परिस्थितिबाट पार नै लगाएको देखिन्छ। यी सबै तथ्यलाई हृदयङ्गम गर्दै नेपालको राजनीतिलाई दृष्टिगोचर गरिँदा नेपालले राजनेता जन्माउन बिर्सिएको हो कि जस्तो लाग्छ।
नेपाल राष्ट्रलाई साँच्चै नै समृद्धिशाली बनाउने अभियानमा लिच्छविकालमा अंशुवर्मा लागेका देखिन्छन्, तर त्यसबेला नेपाल अहिलेको जस्तो थिएन। ततपश्चात् मल्लकालमा आन्तरिक कलहले नै नेपाल राष्ट्रलाई अलमलमा राखिरहेको देखिन्छ। लिच्छवि र मल्लकालपश्चात् शाहकालको अवधिलाई त षड्यन्त्रकाल भनिदिए पनि हुन्छ। शाहकालमा त देशले गुमाउनुभन्दा अरू केही गरेको पाइँदैन। त्यस कालमा त राजनेता साँच्चै जन्मेका पाइँदैन तर इतिहासबाट कसैले भीमसेन थापालाई त कसैले जंगबहादुरलाई मानेको देखिन्छ। तर, वास्तविकतामा एकातिर भीमसेन थापालाई राजनेता मान्ने हो भने उनकै पालामा सुगौली सन्धि हुन पुग्यो र राष्ट्रले आफ्नो केही महत्त्वपूर्ण हिस्सा गुमाउनुपर्‍यो भने जंगबहादुरले ब्रिटिस साम्राज्यलाई साथ दिँदै आफ्नो वंश उत्थान गर्नेतर्फ लागेबाट यी दुवै नै पक्का राजनेता कहलिन योग्य देखिँदैनन्। समयान्तरमा देशमा प्रजातन्त्रको आगमनपश्चात् राजा त्रिभुवनलाई राजनेता मानियो तर यो फगत् स्तुतिगान हो भन्ने कुरा समय र इतिहासले छर्लङ्ग्याइसकेको छ।