नेपालमा दुई हजार ८४ पिएचडी डाक्टर

 

image


७० प्रतिशत पिएचडी विदेशबाट



नेपालमा विद्यावारिधि -पिएचडी) उपाधि लिएर विद्याभूषण पदक पाउनेको संख्या करिब दुई हजार एक सय पुगेको छ । विदेशबाट पिएचडी गरेका व्यक्तिको भने यकिन तथ्यांक छैन ।
शिक्षा मन्त्रालयको 'रेकर्ड'मा ०१७ देखि ०६७ सालसम्ममा स्वदेश तथा विदेशका विश्वविद्यालयबाट पिएचडी गरेर विद्याभूषण पदक लिनेको संख्या दुई हजार ८४ पुगेको छ । माओवादी नेता डा. बाबुराम भट्टराईलगायत केही चर्चित व्यक्तिले विदेशबाट पिएचडी गरेका छन् । विदेशका विश्वविद्यालयबाट अहिले पनि ७० प्रतिशत नेपालीले पिएचडी गरेको पाइएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले नेपालबाट विद्याभूषण पदक लिएको यकिन तथ्यांक भने छैन ।
पिएचडी गरेर पहिलोपटक विद्याभूषण लिने नेपाली पुरुषोत्तमनारायण सुवाल हुन् । उनले ०१७ मा पिएचडी गरेर 'क' श्रेणीको महेन्द्र विद्याभूषण पदक लिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको 'रेकर्ड'मा उनले 'फर्माकोग्नोसिप' विषयमा पिएचडी गरेको उल्लेख छ । त्यति नै वेला त्रिभुवन विश्वविद्यालय स्थापना भए पनि पिएचडी कार्यक्रम भने सुरु भएको थिएन ।

त्रिभुवन विश्वविद्यालयले पिएचडी सुरु गरेको साढे तीन दशक भएको छ । तर, विदेशमा पिएचडी अध्ययन गर्नेको संख्या निकै बढेको छ । भारत, जापान, अमेरिकाका विश्वविद्यालयबाट पिएचडी गर्ने नेपालीको संख्या धेरै छ । ०६७ मा एक सय ५२ जनाले 'क' श्रेणीको विद्याभूषण पदक पाएकामा एक सय ६ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका छन् । ०६६ मा एक सय १७ जनाले विद्याभूषण पदक पाएकामा ७७ जनाले विदेशी विश्वविद्यालयबाट पिएचडी गरेका हुन् । पिएचडी गर्नेलाई 'क' श्रेणीको विद्याभूषण प्रदान गरिन्छ ।
पिएचडी गर्ने नेपालीले ०१७ देखि राज्यबाट विद्याभूषण पदक पाउन थालेका थिए । ०३१ देखि शिक्षा दिवसको अवसर पारेर 'महेन्द्र विद्याभूषण' पदक उपाधि दिन सुरु गरिएको थियो । तर, लोकतन्त्र स्थापनापछि 'नेपाल विद्याभूषण' नामले पदक दिन थालिएको छ ।
पिएचडी गरेको विषयको थेसिस र निवेदन शिक्षा मन्त्रालयमा दिएपछि उच्चस्तरीय छानबिन समितिले यकिन गरेर पदक दिने व्यवस्था गरिएको छ । पिएचडी गरेको धेरै वर्ष बिते पनि निवेदन दिएमा जुनसुकै वर्ष पनि पदक दिन सक्ने व्यवस्था शिक्षा मन्त्रालयले गरेको छ ।
नेपालका विश्वविद्यालयबाट पनि केही विदेशी नागरिकले पिएचडी गरेका छन् । शिक्षा मन्त्रालय उच्च तथा प्राविधिक शाखा प्रमुख लक्ष्मण खनालले नेपालका विश्वविद्यालयबाट पनि एकाध विदेशी नागरिकले पिएचडी गर्ने गरेको बताए । उनले भने, 'एक वर्षमा नेपाल विद्याभूषण पाउने विदेशी नागरिक एक-दुईजना हुन्छन् ।' ०६७ मा एकजना विदेशीले नेपाल विद्याभूषण पदक पाएका थिए ।
दस वर्षयता ०६७ मा सबैभन्दा धेरैले विद्याभूषण पदक पाएका छन् । ०६७ मा एक सय ५२, ०६६ मा एक सय १७, ०६५ मा एक सय दस, ०६४ मा ७३ जनाले पदक पाएका थिए । त्यस्तै, ०६३ मा भने कार्यक्रम नै भएन । ०६२ मा ८८, ०६१ मा एक सय २६, ०६० मा ९१, ०५९ मा ९४, ०५८ मा ५९, ०५७ मा ७४ जनाले विद्याभूषण पदक पाएका थिए ।
हाल नेपालका त्रिभुवन, नेपाल संस्कृत र काठमाडौं विश्वविद्यालयले पिएचडी कार्यक्रम सञ्चालन गरेका छन् । बौद्ध विश्वविद्यालयले समेत यस वर्षबाट पिएचडी कार्यक्रम सुरु गरेको छ ।

यस्ता शीर्षकमा पिएचडी
पछिल्लो समयमा चर्चित राजनीतिक व्यक्ति-विशेषमा समेत पिएचडी गरिएको छ । त्रिवि मानविकी डिनको कार्यालयका अनुसार कांगे्रस सभापति स्व. गिरिजाप्रसाद कोइरालाबारे दुईजनाले पिचएडी गरेका छन् ।
०५९ मा कृष्णप्रसाद दाहाल र ०६० मा ज्ञानु पाण्डेले कोइरालाका बारेमा पिएचडी गरेका हुन् । त्यस्तै, गणेशमान सिंहका बारेमा कमला वाग्लेले ०६६ मा पिएचडी गरेकी छिन् । लैनसिंह वाङदेलका बारेमा सुरेन्द्रप्रसाद श्रेष्ठले पिएचडी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक रमेशकुमार जोशीका अनुसार सबैभन्दा बढी लक्ष्मीप्रसाद देवकोटा र बिपी कोइरालाका बारेमा पिएचडी गरेका छन् । कतिपयले उखान, विदेशी युद्धमा नेपाली सेनाले प्रयोग गरेका किल्ला, कुमारी पुजा, पाल्पा गौडालगायत शीर्षकमा समेत पिएचडी गरेको त्रिविले जनाएको छ ।

साभार :   नयाँ पत्रिका