जिन्दगीका जागिर

             ...त्यसवेलासम्म म जनकपुर बस्थेँ, जतिवेला मलाई वर्षौंदेखि छापामार युद्ध गर्ने मोहनी थियो । अचानक त्यो मोह टुट्यो र जनकपुरप्रतिको मेरो मोह पनि टुट्यो । ठिटै थिएँ । भर्खर बिए पास गरेको । म आफ्नै खुट्टामा उभिन चाहन्थेँ र लेखक भएर बाँच्ने प्रवल इच्छा थियो । एक दिन जनकपुर चुरोट कारखानाको सित्तैमा काठमाडौँ लगिदिने ट्रक फेला पारेँ । आफ्ना पाण्डुलिपि बोकेर काठमाडौँ लागेँ । मसँग डेढ सय रुपैयाँ मात्रै थियो ।

काठमाडौँको यथार्थ अर्कै रहेछ । यता आएपछि मलाई उर्दू महाकवि मिर्जा गालिबले भनेजस्तै भयो- हमने माना कि दिल्ली मे रहेँ, लेकिन खायेंगे क्या ? मैले दुई पुस्तक 'लिलाम' र 'जगदीशका कथाहरू' बेचेर गुजारा चलाएँ । ती दुवै रत्न पुस्तक भण्डारबाट छापिए । अहिले लाग्छ, मैले लेखेर बाँच्ने दुस्साहस मात्रै गरेको रहेछु । लेखेरै बाँच्न खोजेर म फेल भएँ र मैले जागिर खाने निर्णय गरेँ 

जागिरे जीवन त्यसवेलाको चर्चित साप्ताहिक पत्रिका समीक्षाबाट सुरु भयो । सम्पादक थिए- मदनमणि दीक्षित । सैद्धान्तिक झुकावको हिसाबमा समीक्षा रुसपन्थी थियो । यो पत्रिका अलिक बौद्धिक र लोकपि्रय पनि थियो । अर्को थियो नयाँ सन्देश, जसले तरुनीका नाङ्गा छाती र तिघ्राको ठूलो फोटो मात्रै छाप्थ्यो । त्यसैले त्यस पत्रिकाप्रति मेरो आकर्षण थिएन । म छापामार युद्धको मोहनीबाट छुटेपछि थोरो, टाल्सटाय र गान्धीका दर्शनतिर आकषिर्त भएको थिएँ । समीक्षामा काम गरेर मेरो साहित्यिक लक्ष्यप्रति बाधा हुँदैन जस्तो लाग्यो र यसमा जागिर खाने निर्णय गरँे । मैले मदनमणिसँग जागिर मागेँ र उनले एकै वचनमा दिए पनि । किनभने मेरा कथा त्यसअघि समीक्षामा छापिइसकेका थिए र उनी मेरो लेखन पनि मन पराउँथे । उनले मलाई महिनाको दुई सय तलब दिने भए । त्यो २०२६ सालको कुरा हो । मैले समाचार लेख्न थालेँ । पहिलो समाचार के थियो, सम्झना छैन । पञ्चायतकालमा समीक्षामा थुप्रैपटक प्रतिबन्ध लागेको थियो । मैले काम गर्दा पनि दुईपटक प्रतिबन्ध लाग्यो । समीक्षा सीमित प्रगतिशीलताभन्दा अलि माथि थियो । राजा महेन्द्र असंलग्न शिखर सम्मेलनमा भाग लिन जाम्बियाको राजधानी लुसाका जाँदै थिए । त्यो महत्त्वपूर्ण समाचार थियो । दोस्रो समाचार थियो- सिरहामा भोकमरीले पाँच मरे । पन्चले यी दुई समाचारले 'श्री ५ मरे' भन्न खोजेको हो भनेर समीक्षाको प्रकाशनमा प्रतिबन्ध लगाए । समीक्षा बन्द हुनासाथ मेरो जागिरले पनि बिदा हुनुपर्‍यो । म दुई महिना खाली भएँ । ती दुई महिनामा मैले साबिती उपन्यास लेखिसिध्याएँ । पोखरा र चितवनतिर भाँैतारिएँ । पोखरामा भूपी शेरचनको अन्तर्वार्ता पनि लिएँ, त्यसैवेला ।


०२८ मा कोलम्बो योजनाको छात्रवृत्तिमा समाजशास्त्रमा एमए पढ्न पट्ना पुगेँ । पट्नाबाट फर्केपछि पनि मेरो मनमा जागिर नपाइने चिन्ता उत्तिकै थियो । ०३१ मा परिवारनियोजन संघका महासचिव वासु शशीले मलाई संघमा कार्यक्रम अधिकृत हुने गरी बोलाए । त्यो मेरो दोस्रो जागिर र पहिलो सम्मानजनक निम्तो थियो । उनी आफू पनि लेखक भएका कारण लेखकलाई राम्रो पारिश्रमिक दिने विकास र स्वास्थ्यसम्बन्धी एक मासिक पत्रिका नियोजन निकाल्न थालेका थिए । एउटा लेखको ७० रुपैयाँँ दिन्थे, जुन त्यतिवेला उच्च पारिश्रमिक थियो । म त्यस पत्रिकामा धेरैजसो अनुवादको काम गर्थें ।
परिवारनियोजन संघमा रमाइलो, नरमाइलो, विरक्ति सबै थिए । सबैभन्दा रमाइलो थियो- साहित्यिक वातावरण । मैले परिवारनियोजन संघमा ६ वर्ष जागिर खाएँ । एकपटक म कार्यकारी प्रमुख पनि भएँ । अनि संघको मूल दाता आइपिपिएफको प्रतिनिधि र संघको सञ्चालक समितिका भूमिकामा गरी म संघमा १५ वर्षसम्म रहेँ । त्यसवेला विभिन्न समयमा गरी वासु शशी, यादव खरेल, नीर शाह, ईश्वरवल्लभ, डा. विश्वम्भर प्याकुरेल, विजय थापा, हेम हमाल, शारदा शर्मा मेरा सहकर्मी थिए । त्यसवेला आइपिपिएफमा काम गर्दा 'नेपालमा सबैभन्दा बढी तलब खाने जगदीश हो' भन्थे मान्छे । बढी तलब त होइन, तर मेरो तलबले आफू र परिवारलाई राम्रै पुग्थ्यो र साथीहरूसँग राम्रैसँग 'जम्न' सकिन्थ्यो । मैले संघबाट धेरै सिकेँ । संघले राम्ररी के सिकायो भने कुनै पनि संस्थाको सफल व्यवस्थापनका गाँठी कुरा मान्छे हुन्, नेतृत्व मान्छेको गरिन्छ, व्यवस्थापन वस्तुको ।
संघमै रहँदा म छात्रवृत्तिमा बेलायत गएर पढेँ । फर्केर आएपछि मलाई जाँचबुझ आयोगमा काजमा काम गर्न दरबारबाट बोलाइयो । त्यो काम थियो- राजा वीरेन्द्रले राजकाज सम्हालको पाँच वर्षको रिभ्यु गर्नु र त्यसबारे पुस्तक लेख्नु । मैले निकै गाह्रै मानीमानी त्यो काम सम्हालेँ । जाँचबुझ टोलीको सबै काम गोप्य हुन्थे । आफ्नो काम कसैलाई नभन्ने, कुनै पनि कागज र सूचना घर नलैजाने निर्देशन थियो ।
तर, मैले दरबारको स्तुतिसाहित्य लेखिनँ । केही साथीले 'यथार्थपरक र महत्त्वपूर्ण ऐतिहासिक अभिलेख लेखिस्,' भनेका थिए । किताब दरबारबाट पास भएर साझा प्रकाशन पुगेपछि त्यहाँका अध्यक्ष क्षेत्रप्रताप अधिकारीले 'यसमा राजाहरू र दरबारको देनको यथोचित उल्लेख छैन । त्यो नभईकन पुस्तक छाप्नु उचित हुन्न' भनेर फर्काइदिएछन् । मैले 'म त्यो काम गर्न सक्दिनँ,' भनेँ । शाहवंशको स्तुति लेख्न मैले मानिनँ । पछि त्यो परियोजना तुहिएछ । पुस्तक बजारमा आएन । त्यस परियोजनामा म, धुस्वाँ सायमी र नारायणबहादुर सिंह थियौँ ।
मेरो तेस्रो जागिर त्यसवेलाको सिआरएस प्रोजेक्ट -अहिले सिआरएस कम्पनी)मा भयो । अमेरिकी सल्लाहकार जिम मेसिकले ०३७ मा मलाई निम्त्याएर त्यो जागिर दिएका थिए । नेपालभित्रको मेरो सबैभन्दा ठूलो जागिर त्यही थियो । यो परिवारनियोजनको राष्ट्रिय कार्यक्रम थियो । सिआरएस प्रोजेक्ट नेपाल सरकारको अनुरोधमा आएको थियो । यसको कार्यक्रम सरकारले अनुमोदन गरेको हुन्थ्यो । दुईवर्षे कार्यकालमा गाडी पुग्ने नेपालका सबै ठाउँ पुगेँ ।
सिआरएसमा काम गर्दाको एउटा रमाइलो घटना छ । त्यो के भने रेडियो नेपालले परिवारनियोजनको साधन 'ढाल'को विज्ञापन गर्न मानेन । त्यसपछि म 'ढालको विज्ञापन रेडियोमा बजाउन' भनेर रेडियो नेपालको निर्देशककहाँ पुगेँ । निर्देशकले सञ्चारसचिवलाई देखाए । सञ्चारसचिवले मन्त्रीलाई देखाए र मन्त्रीले दरबारलाई । अनि दरबार पुगेँ । दरबारका सचिवले 'सरकारलाई भेट्नूस्,' भने । अन्त्यमा राजालाई भेटेँ । यसरी राजालाई मनाएर मात्र रेडियो नेपालले ढालको विज्ञापन बजायो । जाबो ढालको विज्ञापन बजाउन पनि दरबारै पुग्नुपर्ने व्यवस्था ०४६ सालसम्म थियो ।
चौथो जागिर ०३९ सालमा लन्डनस्थित इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसन (आइपिपिएफ)मा पाएँ । अन्तर्राष्ट्रिय कार्यक्रम अधिकृतका लागि दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालमा भएका खुला प्रतियोगिताबाट छानिएर म नेपालमा खुल्ने फिल्ड अफिसको प्रमुख भएँ । त्यसको दुई वर्षपछि ०४१ मा दक्षिण एसियाको सहायक क्षेेत्रीय निर्देशक पदमा बढुवा भएँ र मलाई काम गर्न लन्डन पठाइयो । ०४१ मा म पाँच वर्षको छोरो हिमाल, दुई वर्षकी छोरी जून र श्रीमती दुर्गालाई लिएर लन्डन पुगेँ । दुर्गा पनि बिबिसी नेपाली सेवामा काम गर्न थालिन् । मलाई वेला-वेला आप\mनो कार्यक्षेत्र दक्षिण एसिया गइरहनुपथ्र्यो । अनेक तरहमा समय बित्दै गयो । आइपिपिएफमा मैले १५ वर्ष काम गरेँ ।
मेलै पाँचौँ र अन्तिम जागिर ०५५ मा अमेरिकी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा पाएँ । अमेरिकी संस्था वल्र्ड नेबर्सबाट दक्षिण एसिया प्रतिनिधिका रूपमा काम गर्ने प्रस्ताव आयो । यो मैले सोचेकै थिइनँ । तर, आएको प्रस्ताव कसरी नर्कानु ? स्विकारेँ । कुनै औपचारिक वा अनौपचारिक अन्तर्वाताविनै उनीहरूले मलाई छानेका थिए । किनभने मैले पहिले नै उनीहरूको सल्लाहकार भएर नेपाल र अमेरिकामा पनि काम गरिसकेको थिएँ ।
पछि मेरा हाकिम पिटर गबल्सले भनेका थिए-, 'वल्र्ड नेबर्सले कुनै पनि प्रतिस्पर्धा नगराई, सम्भावित उम्मेदवारसँग अन्तर्वार्ताविना तिमीलाई छान्नु उचित थिएन ।' मैले गबल्सलाई भनेको थिएँ, 'मलाई मैले नै छानेको होइन । तपाइर्ंकोे हाकिमले हो । त्यो कुरा उनलाई नै सोध्नुस् ।' त्यसपछि उनी चुप लागे । वल्र्ड नेबर्स अन्तर्राष्ट्रिय विकास संस्था हो । यो खासमा अमेरिकी जनता र संस्थाहरूको अनुदानमा सञ्चालित छ । यसलाई डा. जोन पिटर्सले सन् २००७ मा स्थापना गरेका थिए । त्यसवेला पिटर्सले भनेका थिए, 'अमेरिकाले विश्वभरि युद्धमा जति खर्च गर्छ, त्यसको दसांस मात्रै शान्ति र विकासमा खर्च गर्ने हो भने संसार शान्तिमय र समृद्ध हुनेछ ।'
०६२ कात्तिकमा म ओक्लोहामा सहर गएँ । नेबर्सका अध्यक्ष र कार्यकारी प्रमुख मेलानी म्याकडोनाल्डलाई भेटेर भनेँ, 'म ६१ वर्षको भइसकेँ । अब रिटायर्ड हुन चाहन्छु ।' उनले 'तिम्रो स्वास्थ्य ठीक छ । तिमी अझ आठ वर्ष मजासँग काम गर्न सक्छौ । तिमीले मभन्दा पहिले नेबर्स छाड्न पाउँदैनौ,' भनिन् । मेलानीसँग यो कुरा भएको पाँच महिनापछि मलाई माइलोमा भएको थाहा भयो । हाकिमहरूले 'तिमी जति चाहन्छौ, बिदा लिएर काम गर,' भने । तर, मैले जागिर छाड्ने निर्णय गरेँ । जीवनमा अब एकछिनपछि के हुन्छ थाहा हुँदैन । त्यसैले लामा-लामा निजी योजनाको के अर्थ ? अहिले यो बुढेसकालमा भद्रगोल काठमाडौँ सहर हेर्दै घरमा बसिरहँदा ती गुलाबी जागिरे दिनहरूका सम्झनाले घेरिरहन्छन् । ती दिनहरू साँच्चै रमाइला थिए ।
प्रस्तुतिः दीपक सापकोटा
साभार : नया पत्रिका