इराला
वर्ष २०१० मा आ-आफ्नो कामको प्रभाव देखाएर विश्वमा धेरैले आफूलाई नायक साबित गरे । कसैले राजनीतिलाई उत्कर्षमा पुर्याए भने कसैले व्यापारमा नयाँ शैली भित्र्याए । कोही ग्ल्यामरको संसारमा चर्चित भए, कसैले अरूले नसोचेको काम गरेर विश्वलाई आश्चर्यचकित बनाए । सयौं लेखकले नयाँ सिर्जनाका माध्यमबाट हलचल ल्याए भने सयौं वैज्ञानिकले विश्वलाई नयाँ देन दिए । हरेक विधा र क्षेत्रमा भएको नयाँपनको समष्टि रूप नै आजको प्रगति हो । यस अर्थमा वर्ष २०१० पनि हजारौं नायकको वर्ष साबित भयो । ती हजारौं व्यक्तिमध्ये केही व्यक्तित्वले भने आगामी दिनमा पनि विश्वलाई प्रभावित पार्ने देखिन्छ ।
मार्क जुवेरवर्ग
वर्ष २०१० मा मार्क जुवेरवर्गले फेसबुक नामक सामाजिक सञ्जाल निर्माण गरेर विश्वलाई नै आश्चर्यमा पारे । २६ वर्षीय यी अमेरिकी युवा विश्वका सबैभन्दा कम उमेरका अर्बपति हुन् । उनीसँग अहिले नै सात अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जुन ५० खर्ब नेपाली रुपैयाँभन्दा बढी हो । फेसबुकको लोकप्रियतासँगै उनको यो सम्पत्तिमा पनि वृद्धि हुँदै जानेछ । अहिले फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने व्यक्तिहरूको संख्या ५० करोड नाघेको छ । विश्वभर एकसाथ ९ करोडभन्दा बढी व्यक्ति यो सोसियल नेटवर्कसँग जोडिएका हुन्छन् ।
फेसबुकको यही लोकप्रियतालाई ध्यानमा राख्दै टाइम म्यागाजिनले यो वर्ष मार्कलाई वर्ष व्यक्तित्व २०१० को सम्मान दिएको छ । उक्त म्यागजिनले यति कम उमेरका व्यक्तिलाई यस्तो पद विरलै दिएको छ । यसअघि १९२७ मा अमेरिकी विमान चालक चाल्न लिन्डवर्ग तथा १९५२ मा बि्रटेनकी महारानी एलिजाबेथ द्वितीयलाई कम उमेरमै वर्ष व्यक्तित्व घोषणा गरिएको थियो । विमान चालक तथा बेलायती महारानी दुवै उक्त सम्मान पाउँदा २६ वर्षका थिए ।
सन् २००४ मा हावर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले १ हजार ७ सय छ । सबैभन्दा रमाइलो कुरा यो साइटमा काम गर्ने अधिकांश कर्मचारी उनीभन्दा बढी उमेरका छन् । साइटलाई विवादरहित एवं लोकप्रिय बनाउन जुबेरवर्गले ११ जना विशेषज्ञ राखेका छन् ।
जुलियन असान्ज
छोटो समयमै ठूलो चर्चा कमाउने व्यक्तिहरूमा जुलियन असान्ज पहिलो नम्बरमा पर्छन् । यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक हुन् । कारण उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रू पमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिए । यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन् । अमेरिकी संस्थापन पक्ष असान्जले असल पत्रकारिता नगरेको मान्छ । अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवं विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने असान्ज हिरो हुन् । उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लै ले गरे ।
वर्ष २०१० का पछिल्ला महिना विश्वभरिका सञ्चारमाध्यमले सबैभन्दा धेरै पटक फुकिएको वा लेखिएको नाम हो, विकिलिक्स र त्यसका सञ्चालक जुलियन अन्साज । अमे रिकी सरकारका गोप्य एवं अति गोप्य भनिएका दस्तावेजहरू उनी प्रमुख रहेको विकिलिक्समा सार्वजनिक भएपछि अमेरिकी सरकार यति धेरै आत्तियो कि त्यसको बचाउ गर्न विदेश मन्त्री हिलारी क्लिन्टनले प्रमुख देशहरूको भ्रमण गर्नुपर्यो । साता दिनसम्म सिनेटमा अन्साजविरुद्ध कस्तो कारबाही गर्न सकिन्छ भनेर छलफल गर्नुपर्यो । कतिपय सिनेटले अन्साजलाई ओसामा विन लादेनजस्तै आतंकवादी घोषणा गर्नुपर्ने राय व्यक्त गरे भने कतिले उनलाई गोली ठोक्नुपर्ने मत राखे । अन्साजले लगातार अति गोप्य दस्तावेज सार्वजनिक गरेपछि उनीविरुद्ध बलात्कारका दुईवटा अभियोगमा मुद्दा दायर गरियो । उनलाई स्वतन्त्र बाँच्न यति कठिन भयो कि उनले आफैंले बेलायती प्रहरीसमक्ष आत्मसमर्पण गरे । उनको साइटलाई अमेरिकी संस्थापन पक्षले धेरैपल्ट इन्टरनेट सञ्जालबाट हटाउने, उनको बैंक खाता बन्द गर्ने तथा विभिन्न किसिमका अप्ठयारोमा पार्न खोजे पनि उनका समर्थकहरूले ती सबै प्रयासलाई अवरुद्ध तुल्याएका छन् । अहिले अन्साज टाइम म्यागजिनको सर्वेक्षणमा सबैभन्दा बढी मत पाउने व्यक्ति बनेका छन् । विकिलिक्सका लाखौं मिरर साइट खोलिनुले पनि उनी कति शक्तिशाली छन् भन्ने अनुमान गर्न सकिन्छ । यद्यपि उनलाई टाइमले वर्ष व्यक्ति घाषणा गर्न सकेन । अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागेजिनले अमेरिकालाई हानि हुने दस्तावेज प्रकाशित गरेकै कारण अन्साजलाई उक्त सूचीमा नराखिएको अनुमान गरिन्छ ।
अस्टे्रेलियामा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन् । १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बने । कुनै पनि कम्प्युटरमा रहे को सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो । जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्व इन्टरनेट सञ्जालमा बामे सर्दै थियो । उनी सधैं समयभन्दा दुई पाइला अघि रहे । उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ ।
हु जिन्ताओ
वर्ष २०१० का अर्का शक्तिशाली व्यक्ति चिनियाँ राष्ट्रपति हु जिन्ताओ हुन् । यही वर्ष चीन विश्वको दोस्रो आर्थिक महाशक्ति बनेपछि चीनको नेतृत्व गरिरहेका हु जिन्ताओ प्रभावशाली व्यक्तिमा दरिएका हुन् । गत कात्तिकमा अमेरिकाको चर्चित पत्रिका फोब्र्सले गरेको विश्वव्यापी सर्वेक्षणमा हु जिन्ताओले अमेरिकी राष्ट्रपतिलाई समेत जितेका थिए । १ अर्ब ३० करोड जनसंख्यामा प्रत्यक्ष शासन गर्ने हुको चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई राज्य सञ्चालनमा पूर्ण सहयोग गरिरहेको छ ।
बाराक ओबामा
केन्याली मूलका बाराक ओबामा अमेरिकाका ४४ औं राष्ट्रपति हुन् । वर्ष २०१० मा उनी विश्वकै शक्तिशाली राजनैतिक व्यक्ति बने । गत वर्ष उनलाई टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गरेको थियो भने नोबेल पुरस्कार कमिटीले उनलाई शान्ति नोबेल पुरस्कारले सम्मानित गरेको थियो । फेसबुक तथा विकपिडियाको चर्चाका कारण यो वर्ष उनी पहिलो शक्तिशाली व्यक्तिबाट चौथोमा झरेको विभिन्न सर्वेक्षणले देखाएका छन् । निर्वाचनमा उनले ५२ प्रतिशत अमेरिकी जनताको मत प्राप्त गरेका थिए । राष्ट्रपति भएपछि उनले अमेरिकी अर्थतन्त्रमा आएको मन्दीलाई थोरै सुधारेका छन् भने आतंकवादविरुद्धको युद्धलाई जारी राखेका छन् । उनले विश्वका ठूलो अर्थतन्त्रका रू पमा पहिचान बनाउँदै गएका चीन, भारत र ब्राजिलसँग व्यावसायिक मित्रता गाँसेर अमेरिकाको परम्परागत पहिचानलाई बचाउने सक्दो प्रयास गरेका छन् ।
सोनिया गान्धी
सन् १९४६ मा इटलीमा जन्मिएकी सोनिया गान्धी अहिले विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा सत्ताको साँचो लिएर बसेकी छिन् । भारतीय कांग्रेसकी अध्यक्ष सोनियालाई परिस्थितिले प्रधानमन्त्री बन्ने बाटो प्रदान गरेको थियो, तर उनले दुई पटक आफ्नो हातमा आएको उक्त पद पार्टीका विश्वासिला अर्थशास्त्री मनमोहन सिंहलाई दिएर उदारता मात्र प्रस्तुत गरिनन्, देशको अर्थतन्त्र बलियो बनाउने संकेत पनि दिइन् । अर्थशास्त्रीलाई प्रधानमन्त्रीका रूपमा पाएको भारतले गएका सात वर्षमा यति ठूलो प्रगति गर्यो । उसलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रूपमा व्याख्या गर्न थालिएको छ । वर्ष २०१० मा गरिएका विभिन्न सर्वेक्षणले सोनिया गान्धीलाई विश्वकी शक्तिशाली महिलाका रूपमा व्याख्या गरेको छ ।
सुल्तान अब्दुल्ला
वर्ष २०१० मा विभिन्न कारणबाट एक जना मुस्लिम नेता विश्वका लोकप्रिय नेतामा गनिएका छन् । साउदी अरेबियाका सुल्तान अब्दुल्ला बिन अब्दुल अजिजलाई विश्वका लोकप्रिय नेताको उपाधि प्राप्त भएको छ । यसअघि लोकप्रिय नेताको उपाधि पाएका बाराक ओबामालाई उछिन्दै सुल्तान अब्दुल्लाले यो उपाधि पाएका हुन् । प्रत्येक वर्ष लोकप्रिय नेताको सर्वेक्षण गर्ने पेव रिसर्च सेन्टरको ग्लोबल इन्स्िटच्युटले गरेको सर्वेक्षणले उनलाई वर्ष २०१० को लोकप्रिय नेताको उपाधि दिएको हो । सर्वेक्षणमा सुल्तान अब्दुल्लाको हकमा विश्वभरिका मुस्लिमहरूले उनको पक्षमा मतदान गरेका थिए । कुनै पनि नेताको पक्षमा आएको यो सबैभन्दा ठूलो मत हो । मुस्लिम राष्ट्र भैकन पनि सन्तुलन कूटनीतिमार्फत सबैसँग समान सम्बन्ध राखेका कारण उनलाई ती देशका जनताले विश्वकै लोकप्रिय नेता मानेका हुन् । रिसर्च सेन्टरका अनुसार मुस्लिम नियमलाई कडाईका साथ लागू गरेर पनि विश्वका सबै मुलुकसँग सदावहार मित्रताका लागि उनी विश्वभर लोकप्रिय छन् ।
मिसेल ओबामा
फोब्र्स म्यागेजिनले विश्वका शक्तिशाली महिलाको सूची प्रकाशित अमेरिकी प्रथम महिला मिसेल ओबामा प्रथम स्थानमा थिइन् । उक्त सर्वेक्षणको प्रकाशन त्यसबेला भएको थियो, जतिबेला अमेरिकी राष्ट्रपतिको दल डेमोक्रेटिकले संसद्मा हारको सामना गरिसकेको थिएन । समय घर्कंदै जाँदा मिसेलको प्रथम पोजिसन केही खस्किएको छ । यद्यपि उनी विश्वमा सोनिया गान्धीपछि सबैभन्दा शक्तिशाली महिलाका रूपमा अझै कायम रहेको टाइम एवं ग्लोबल सर्वेक्षणले देखाएको छ । दुई छोरीकी आमा मिसेल कति शक्तिशाली छिन् भने राष्ट्रपति बाराक ओबामाले सार्वजनिक रूपमै आफूले ठूला राजनीतिक निर्णयमा पनि मिसेलको कुरा मानेको बताएका छन् । विद्यालयदेखि नै काला जातिको पक्षमा राजनीति गरेकी मिसेल तीखो व्यङ्ग्यका लागि माहिर मानिन्छिन् । उनलाई युवा अवस्थामा एंग्री यङ्लेडीको उपनामले चिनिन्थ्यो । मिसेलकै कारण बाराक राजनीतिको यो शिखरसम्म पुगेको दाबी पनि फोब्र्स म्यागजिनको छ ।
महिन्द्रा राजापाक्षे
वर्ष २०१० मा श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजापाक्षेको नाम पनि छ । उनलाई विभिन्न सर्वेक्षणले वर्षका शक्तिशाली व्यक्तिहरूको सूचीमा दसौं स्थानभन्दा माथि राखेका छन् । उनीहरूको विचारमा राजापाक्षेको नेतृत्वमा दुई वर्षअघि तमिल टाइगरको २५ वर्ष लामो संघर्षलाई विराम दिइएको थियो । उनले तामिल विद्रोहलाई दबाएपछि भएको राष्ट्रपति निर्वाचनमा बहुमत प्राप्त गरेका थिए । यो विजयले श्रीलंकाली जनताले तमिलहरूबाट मुक्ति पाउन चाहेका थिए भन्ने कुरालाई अनुमोदन गरेको निष्कर्ष ती सर्वेक्षणहरूले निकालेका छन् । त्यतिमात्र होइन, तमिल टाइगर विद्रोहको अन्त्यपछि श्रीलंकालाई स्थायी शान्ति एवं विकासतर्फ लान विश्वलाई गरेको आह्वानकै कारण अहिले श्रीलंकामा अर्बौंको लगानी भित्रिएको छ ।
हमिद कारजाई
अफगानिस्तानमा लगातार ८ वर्ष राष्ट्रपतिको पद सम्हालेका हमिद कारजाईले विश्वमा आतंकवाद विरोधी छवि बनाएका छन् । अमेरिकी सम्बद्ध नेटो सेनासँग मिलेर तालिवानहरूलाई तह लगाएकै कारण विश्वमा वर्ष २०१० देखि आतंकवादी शक्ति कमजोर भएको विश्लेषण गरिएको छ । गत वर्ष राष्ट्रपति पदमा अत्यधिक बहुमतले जितेका कारण पनि उनी आन्तरिक रूपमा बलियो बन्दै गएको संकेत मिलेको छ । सुरु-सुरुमा उनीमाथि विदेशी शक्तिका कारण अफगानिस्तानको राष्ट्रपति भएको आरोप लाग्दै आएको थियो । देशमा तालिबान शासनका विरुद्ध संघर्ष गर्दागर्दै विवाह गर्न नम्याएका कारजाईले सन् १९९९ मा एक जना मुस्लिम चिकित्सकसँग विवाह गरेका थिए । हमिदको प्रारम्भिक जीवन अफगानिस्तानलाई रूसको उपनिवेशबाट मुक्त गर्न खर्च भएको थियो भने पछिल्लो समय उनले तालिवानविरुद्धको लडाइँमा खर्चिएका थिए । अहिले कारजाईले देशमा तालिवानको शक्ति कमजोर भएको भन्दै अफगानिस्तानलाई विकास एवं शान्तितर्फ डोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आङसाङ सुकी
