
टेलिकमले लुम्बिनीमा व्यावसायिक रूपमा भने थ्रिजी सुरु गरेको छैन । भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर मात्र सेवा शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । थ्रिजी सिम पनि तत्काल वितरण नहुने शाक्यले बताए । “छिट्टै सिम वितरण गर्ने योजना छ तर समय तोक्न सकिन्न,” उनले भने । थ्रिजी सेवा लिइरहेका पर्यटकले भने यो सेवा पाउनेछन् ।
प्रारम्भमा मायादेवी मन्दिरको सेरोफेरोमा बीटीएस र अन्य उपकरण जडान गरी सेवा सञ्चालन गरिएको र छिट्टै अर्को स्थानमा थ्रिजीका आवश्यक उपकरण र बीटीएस जडान गरिने शाक्यले बताए । थ्रिजी सेवा सञ्चालन भएपछि पर्यटकलाई थप सुविधा हुने र लुम्बिनीको प्रचार–प्रसारमा सहयोगी हुने लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए ।
टेलिकमले छिट्टै पूर्वाधार खडा गरी भैरहवा र बुटवलमा समेत यो सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ । थ्रिजीमा उच्च गतिको इन्टरनेट हुने भएकाले टेलिभिजन हेर्ने, भिडियो तथा फोटो पठाउने, फेस टु फेस कुराकानी गर्नेलगायतका धेरै सुविधा हुन्छन् । यसअघि टेलिकमले काठमाडौं उपत्यका र पोखरामा यो सेवा सुरु गरिसकेको छ ।