कहाँ पर्छ नेपाल?

'कहाँ छ नेपाल?' हामीले मनाइरहेको पर्यटन वर्षको लगभग २४ महिनाअघि फिलिपिन्सकी महिलाले सोधेको प्रश्न हो यो। आफूलाई सगरमाथाको देश भनेर चिनाएपछि विदेशीको अनुहारमा हामी सुखद आश्चार्यको भाव खोज्ने गछौँ। तर, उनीहरूले सगरमाथाको देश, बुद्ध जन्मेको देश भनेर चिनाउँदा पनि नेपाल बारे अनभिज्ञता प्रकट गर्दाको पीडा भने अर्कै हुन्छ। भौगोलिक दूरीमा दक्षिण पूर्वी एसियाली राष्ट्र फिलिपिन्स दक्षिण एसियाली नेपालभन्दा धेरै पर छैन। तर दक्षिण एसियाको संघार नाघ्नेबित्तिकै भारत र चीनलाई राम्रै चिनेकाले पनि नेपाल बारे भने अनभिज्ञता प्रकट गर्छन्। मैले नेपाललाई चिनाउन माउन्ट एभरेस्टको देशभन्दा धेरैले त्यो त तिब्बतमा होइन र? भन्ने प्रश्न सुन्नु परेको छ। त्यस्तै बुद्ध जन्मेको देश भनेर भारत ठानिदो रहेछ। सन् १९९८ मा नेपाल भ्रमण वर्षको सुरु भएको केही परबाट पर्यटन वर्षको उद्घाटन हुनु संयोग मात्रै होला तर नेपाली पर्यटनको स्थितिमा भने जहाँको तहीँ छ। पर्यटन वर्ष मनाउँदा जहाँ थियौँ हामीले त्यहीँबाट भ्रमण वर्ष मनाइरहेका छौँ।
नेपाल भ्रमण वर्ष मनाउने क्रममा हामीले कति दूरी तय गर्‍यौँ भनेर मूल्याङ्कन भएको छ कि छैन? हामीले ल्याएको त्यस कार्यक्रम कत्तिको सफल रह्यो अथवा रहेन, अनि त्यसमा के कस्ता कमी कमजोरी रहे भन्ने अध्ययन गरिएको छ वा छैन? त्यस्तै नेपाल भ्रमण वर्षको कार्यक्रमको प्रभाव कत्तिको पर्‍यो, हामीले निर्धारण गरेको लक्ष्य प्राप्ति भयो भएन वा हामी त्यसको कति नजिक पुग्यौँ भन्ने प्रश्नको जवाफ त माथिका प्रसङ्गबाट राम्ररी थाहा पाउन सकिन्छ। पर्यटन वर्षमा १० लाख पर्यटकलाई भिœयाउने लक्ष्य राखिएको छ। तर १० लाख विदेशीलाई भिœयाउन कति करोड विदेशीमाझ प्रचारप्रसार गर्नुपर्छ भन्ने हेक्का भने राखिएको छैन।
पछिल्ला ३ वर्षमा हामीले प्रचारप्रसारका राम्रा अवसर गुमाएका छौँ। सन् २००८ मा चीनको राजधानी बेइजिङमा सम्पन्न ओलम्पिक विश्वले ओलम्पिक इतिहासमा अहिलेसम्म राखेको सर्वाधिक चासोको घटना थियो। त्यहाँ ठूलो संख्यामा खेल पर्यटक आएका थिए। त्यसबाहेक हजारौंको संख्यामा खेलाडी र खेल अधिकारी थिए। त्यो विश्वमाझ आफूलाई चिनाउने राम्रो अवसर थियो। त्यस्तै गत वर्ष भारतमा भएको राष्ट्रमण्डल खेलका क्रममा पनि हजारौं खेलाडी र खेल अधिकारी जम्मा भएका थिए। त्यसअघि बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलका क्रममा पनि त्यो अवसर थियो। तर ती अवसरको फाइदा हामीले उठाउन सकेनौँ।
नेपाललाई अन्तर्राष्ट्रियरूपमा चिनाउने सगरमाथा र बुद्धको जन्मथलोका बारे धेरै विदेशीलाई थाहा छैन। नेपाल चिन्नेले पनि यसलाई हिंसा चर्किएको देशका रूपमा ठान्छन्। हामीले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएका थियौँ। नेपाल भ्रमण वर्ष र अहिलेको पर्यटन वर्ष मनाउने शैलीमा तात्विक फरक आएको छैन। भ्रमण वर्षको सुरु पुरानो वस पार्कको बाटो जुलुस निकालेर गरिएको थियो भने भ्रमण वर्षको थालनी दशरथ रङ्गशालामा रंगारंग कार्यक्रमबीच भएको थियो। बाँकीमा १२ वर्ष पहिले र अहिले खासै फरक छैन। त्यति बेला नेपाल आउने केही विदेशीसँग नेपाल भ्रमण वर्षका बारेमा प्रश्न गर्दा आफ्नो देशमा यससम्बन्धी कुनै प्रचारप्रसार नभएको बताउँदै प्रतिप्रश्न गर्थे - भिजिट नेपाल ९८ का लागि हामी त तयार छौँ, तिमीहरू कति तयार छौ? अहिले त्यसमा पनि खासै परिवर्तन भएको छैन। केही समयअघि एउटा टेलिभिजन कार्यक्रमका सहभागीले यस्तै गुनासो गरेका थिए। नेपाल भ्रमण वर्ष र नेपाल पर्यटन वर्ष जे भने पनि दुवैको उद्देश्य देशमा पर्यटकलाई आकर्षित गर्ने त हो।
नेपाल आएका पर्यटक यहाँको प्राकृतिक सुन्दरताबाट मुग्ध हुने गर्छन्। विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका हिम शृङ्खला नेपालमा छन्। हिमालको काखमा तालैतालको सुन्दर पोखरा नेपालमा छ। बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै पर्छ। पछिल्लो समयमा पर्यटन व्यवसायमा थपिएका सबै नयाँ आयाम नेपालमा पनि भेटाउन सकिन्छ। पदयात्रा, बन्जी जम्पिङ, र्‍याफि्टङ, पारा ग्लाइडिङ, जस्ता रोमाञ्चक खेलको नेपालमा प्रचुर सम्भावना रहेको भने पर्यटकलाई नेपाल आएपछि मात्र थाहा हुन्छ। नेपाल नआएकाको भने अझै पहिलो प्रश्न हुने गरेको छ - नेपाल कहाँ छ?
राजेन्द्र    ज्ञवाली
साभार: नागरिक न्यूज़