सरकारले सर्वोच्च अदालतका लागि सुविधासम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । हाल अदालत रहेको रामशाहपथस्थित भवन साँघुरो र अव्यवस्थित भएकाले नयाँ भवन बनाउन लागिएको हो । भवन निर्माणपछि सर्वोच्च अदालतलगायत न्यायपालिकासँग सम्बन्धित सबै कार्यालय एकै स्थानमा हुनेछन् ।सिंहदरबारपरिसरमा रहेको गृहमन्त्रालय भवनको पछाडि खाली रहेको ५५ रोपनी क्षेत्रफलमा अदालतको नयाँ भवनका लागि सर्भे भइसकेको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका सदस्य रामप्रसाद बेलवासेले बताए ।
“अदालतको प्रवेशद्वार डिजाइनको काम पनि अन्तिम चरणमा पुगेको छ,” उनले भने, “हालको भवन ज्यादै पुरानो प्रविधि र शैलीमा बनेकाले नयाँ भवनलाई अत्याधुनिक र अन्तर्राष्ट्रिय सुविधायुक्त बनाइनेछ ।”विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार नभएकाले भवनको लागत भने नखुलेको उनले जनाए । “तर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन लागिएकाले अन्य सरकारी भवनको तुलनामा लागत बढी लाग्नेछ,” उनले भने । त्यसका लागि खुला प्रतिस्पर्धाबाट भवनको डिजाइनमा इन्जिनियरहरूलाई सहभागी गराइने बेल्वासेले बताए । उनका अनुसार अन्य सरकारी भवनलाई भन्दा विशेष प्राथमिकतामा राखेर अदालत भवन निर्माण गरिने भएको छ ।
अदालत नयाँ भवनमा सरेपछि सर्वोच्च अदालतको हालको भवनलाई सिंहदरबार सुरक्षार्थ बसेको नेपाली सेनाले प्रयोग गर्ने जनाइएको छ ।
अहिले सर्वोच्च अदालत रहेको भवन ०२४ सालअघि नै बनेको हो । अहिलेको भवनमा अदालती काम–कारबाहीका लागि समेत पर्याप्त ठाउँ छैन भने अदालतपरिसरमा सवारी पार्किङसमेतको व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ । त्यस्तै, अदालतका कर्मचारीका लागि समेत हालको भवनमा पर्याप्त ठाउँ छैन । “हाल सर्वोच्च रहेको भवनमा यस्तै समस्या धेरै भएकाले अदालतका लागि नयाँ भवन बनाउन लागिएको हो,” उनले भने ।
सिंहदरबारभित्र सरकारी कार्यालयको सचिवालय भवनको व्यवस्थापनको काम सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले गर्दै आएको छ ।
विजय देवकोटा
साभार : कारोबार दैनिक





Kathmandu Time



