नेपालमा ब्रायन एडम्स

'समर अफ सिक्स्टी नाइन', 'कट्स लाइक अ नाइफ' तथा 'एभि्रथिङ आई डु' जस्ता गीत आफ्नो आई पोडमा सुनिरहेका श्रोताहरू यो साता  असाध्यै खुसी छन् । सञ्चारमाध्यम तथा विद्युतीय उपकरणमा मात्र सुन्न तथा हेर्न पाइएका गायक ब्रायन एडम्स आफ्नै आँखाअघि उभिएर  यिनै गीत गाइरहेको देख्न पाउने भएपछि उनका युवा प्रशंसकहरूमा अहिले खुसीको लहर छाएको छ । ओडीसी नेटवर्कको आयोजना तथा जे पीआर इभेन्ट्सको व्यवस्थापनमा भोलि शनिबार राजधानीका दशरथ रंगशालामा विश्वप्रसिद्ध गायक ब्रायन एडम्स एकल गायन कार्यक्रममा  सहभागी हुँदैछन् । नेपालका लागि आफ्नो पहिलो सांगीतिक कार्यक्रममा सहभागी हुन एडम्स भोलि शनिबार बिहान आफ्ना ४० भन्दा बढी  संगीतकर्मीसँगै आफ्नै निजी विमानबाट काठमाडौं अवतरण गर्दैछन् ।


विश्वप्रसिद्ध गायकलाई काठमाडौंसम्म ल्याउने कार्य आयोजकहरूका लागि कम चुनौती पूर्ण भने छैन । ओडिसी नेटवर्कका सुरेशजंग  रायमाझीका अनुसार दुई साताअघि एडम्सका पर्सनल म्यानेजर रोई ल्याम्ब तथा एडम्सका प्रोडक्सन म्यानेजर रिचार्ड क्रोमले सांगीतिक कायर् क्रम आयोजनास्थल दशरथ रंगशाला, एडम्स बस्ने पाँचतारे होटल, काठमाडौंको सुरक्षा व्यवस्था आदि सबै निरीक्षण गरेर चित्त बुझाएपछि  मात्र ब्रायन एडम्स काठमाडौं आउने पक्का भएको हो ।
ब्रायन एडम्सको कार्यक्रमलाई भव्य बनाउन आयोजक संस्थाले भारतबाट आवश्यक साउन्ड सिस्टम तथा स्टेज सजावटका सामग्रीहरू  ल्याइसकेका छन् । कार्यक्रमलाई आकर्षक बनाउन रंगशालाभित्रका विभिन्न स्थानमा २० बाई २० का चारवटा एलसिडी स्क्रिन राखिनेछन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर भोलि फागुन ७ गते ब्रायन एडम्सको सांगीतिक कार्यक्रम आयोजना गर्ने दौडधूपमा ओडिसी नेटवर्क  तथा जेपीआर इभेन्ट विगत तीन महिनादेखि सक्रिय छन् । '२ हजार, ३ हजार तथा ६ हजार रुपैयाँको टिकट नेपाली दर्शकहरूलाई बेचेर कायर् क्रम सफल बनाउनु वास्तवमै चुनौतीपूर्ण छ,' आयोजक संस्थाका रायमाझी भन्छन्, 'नेपाल पर्यटन वर्ष-२०११ लाई हामीले तथा हामीलाई यो  अवसरले राम्रो साथ दिइरहेको छ ।' रायमाझीका अनुसार ब्रायन एडम्सको कन्सर्ट हेर्नका लागि टिकट काट्नेहरूमा नेपाल भ्रमणमा रहेका  विदेशीहरूको संख्या पनि उल्लेख्य छ । 'जापानीहरूको एउटा ठूलो समूह फेब्रुअरी १९ तारिखकै दिन काठमाडौं अवतरण गर्दैछन्, रायमाझी  भन्छन्, 'उनीहरू नेपाल भ्रमणका क्रममा ब्रायन एडम्सको कन्सर्टमा समेत सहभागी हुने लक्ष्यका साथ नेपाल आउन लागेका हुन् ।'


सुरक्षाको राम्रो व्यवस्था


ब्रायन एडम्स काठमाडौं आउने पक्का भएलगत्तै सांगीतिक कार्यक्रम सुरक्षित रूपमा सम्पन्न गर्ने ठूलो जिम्मेवारी आयोजकसमक्ष आएको छ ।  आयोजकले कन्सर्टका लागि झन्डै २ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ हुनेछन् । 'हामीलाई नेपाल प्रहरीले ठूलो सहयोग गर्दैछ, आयोजक  संस्थाका सीमान्त गुरुङका अनुसार कार्यक्रमलाई सुरक्षित बनाउन निजी क्षेत्रको सुरक्षा गार्डको समेत प्रयोग गरिँदैछ ।' गरुड सेक्युरिटीले  प्राइभेट सुरक्षाको जिम्मा लिएको छ । कन्सर्टलाई व्यवस्थित गर्न रंगशालाभित्र तथा बाहिर दुई दर्जनभन्दा बढी सीसीटीभी जडान गरिएका  छन् । कार्यक्रम आयोजनास्थललाई तीन भागमा विभाजन गरेर सुरक्षा प्रदर्शन गरिनेछ । रंगशालाभित्रै पाँच सयभन्दा बढी सरकारी सुरक्षाकर्मी  खटिनेछन् । रंगशालाको वरिपरि करिब १ हजार नेपाल प्रहरी, सशस्त्र तथा ट्राफिक प्रहरीले सहकार्य गर्दैछन् । कन्सर्टमा स्टेज सुरक्षा, स्टिल  रेखा तथा दर्शक चेक गरी तीन समूहमा निजी सुरक्षाकर्मी खटाइनेछ । ब्रायन एडम्सका निजी सुरक्षाकर्मीहरूसँग पनि नेपाली सुरक्षाकर्मीले  सहकार्य गर्नेछन् । उच्च टिकट मूल्यका कारण पनि कन्सर्टमा होहल्ला गर्ने समूहको संख्या बढी नहुने अनुमान आयोजकहरूको छ ।


दोहोरो अवसर


पर्यटन वर्ष-२०११ को अवसर परेकाले कन्सर्टमा नेपाली पर्यटनमा सहयोग गर्ने दाबी आयोजक जेपीआर तथा ओडीसी नेटवर्कको  छ ।  कन्सर्टका लागि ब्रायन एडम्स भोलि शनिबार बिहान काठमाडौं ओर्लर्नेछन् । काठमाडौं ओर्लिएलगत्तै उनी सोझै होटल जानेछन् । दुईदिने ने पाल बसाइपछि उनी आइतबार अपराह्न फर्किनेछन् । काठमाडौं बसाइका क्रममा उनलाई हेलिकप्टर चार्टर गरेर हिमाली भेगको अवलोकन  गराउने योजनासमेत बनाइएको छ । फोटोग्राफरका रूपमा समेत चर्चित ब्रायन एडम्सले माउन्टेन फ्लाइटको क्रममा कैद गर्ने हिमाली क्षे त्रका तस्बिरले विदेशमा नेपालको राम्रो प्रचार-प्रसार हुने अनुमान आयोजकको छ ।


कन्सर्टका दर्शक


रंगशालामा १८ हजार दर्शक अटाउने क्षमता छ । आयोजकहरू पनि यही संख्याको हाराहारीमा टिकट बिक्री गर्दैछन् । रंगशालाको प्यारापिट  निर्माण भएको धेरै भैसकेकाले पनि आयोजक १८ हजारभन्दा बढी दर्शकलाई रंगशालामा नछिराउने पक्षमा छन् । कन्सर्टका लागि गत माघ १  गतेदेखि टिकट बिक्री प्रारम्भ भएको हो । मनकामना बैंक, भाटभटेनी सुपर मार्केट, दरबारमार्गका विभिन्न आउटलेट्स, नाङ्लो बेकरी क्याफे  आदि स्थानमा भोलि शनिबार बिहानसम्म टिकट बिक्री गरिनेछ । दिउँसो २ बजे रंगशालाको मुख्य द्वार खुल्नुअघिसम्म पनि रंगशालाको मुख्य  प्रवेशद्वारमा काउन्टर सेलमार्फत टिकट बिक्री गरिनेछ । कन्सर्टका दिन रंगशालाका सबै गेट खोलिनेछन् । विश्व प्रसिद्ध गायकको नेपालमा  पहिलो कन्सर्ट हुन लागेकोमा पर्यटन व्यवसायीहरूसमेत उत्साहित छन् । पर्यटन व्यावसायिक योगेन्द्र शाक्य भन्छन्— 'यसले नेपालको पर्यटन  प्रवर्द्धन गर्नेछ । यो कन्सर्ट कर्पोरेट हाउसका लागि पनि आफ्नो प्रचार प्रसार गर्ने ठूलो अवसर हो ।' आयोजक ओडिसीका निर्देशक सीमान्त  गुरुङ भने यो कन्सर्टलाई नेपालकै गौरवका रूपमा चित्रण गर्छन् । 'हामी यो कन्सर्टप्रति उत्साहित छौं, गुरुङ थप्छन्— 'यो कार्यक्रम सफल  भएपछि नेपालमा विदेशी कलाकार ल्याउने कामलाई हामी निरन्तरता दिन्छौँ ।'


पार्किङको व्यवस्था


कन्सर्टका दिन अर्थात् भोलि शनिबार काठमाडौंका ट्राफिक व्यवस्थालाई सहज बनाउन ट्राफिक प्रहरीले ठूलो भूमिका निर्वाह गर्दैछ । कन्सर्ट  हेर्न भेला हुने दर्शकका सवारी साधनहरू टुँडिखेल, खुलामञ्च, रंगशालाको वरिपरिको स्थान, युनाइटेड वल्र्ड टे्रड सेन्टर, काठमाडौं मल, सिभिल  मल आदि स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । 'भोलि रंगशालासँगैका सडकहरूमा एकतर्फी सवारी चलाउने विषयमा ट्राफिक  प्रहरीसंग सहकार्य गर्दैछौं, आयोजक रायमाझी भन्छन्— 'ट्राफिक प्रहरीबाट सकारात्मक आश्वासन पाएका छौं ।'


सात बजेदेखि ब्रायनको कन्सर्ट


भोलि शनिबार दिउँसो २ बजे नै दशरथ रंगशालाका ढोकाहरू खोलिनेछन् । दिउँसो ४ देखि साढे ५ बजेसम्म डिजे सेसन सञ्चालन गरिनेछ ।  साँझ ५ बजेदेखि ७ बजेसम्म तीनवटा नेपाली सांगीतिक समुहले गीत-संगीत प्रस्तुत गर्दैछन् । मंगोलियन हार्ट, १९७४ एडी तथा नमस्ते  ब्यान्डले नेपाली दर्शकहरूलाई नेपाली गीत गाएर मनोरञ्जन गराउनेछन् । साँझ ७ देखि ९ बजेसम्म ब्रायन एडम्सले आफ्ना लोकप्रिय गीत -संगीत प्रस्तुत गर्नेछन् । दिनेश डिसी तथा माल्भिका सुब्बाले कन्सर्टमा उद्घोषण गर्दैछन् ।


को हुन् ब्रायन एडम्स ?


५१ वर्षअघि क्यानाडामा जन्मिएका ५ फिट ८ इन्च अग्ला ब्रायन एडम्स रक गायक मात्र नभै संगीतकार तथा गीतकार समेत हुन् । लेखक  तथा समाजसेवीका रूपमा समेत आफ्नो छवि बनाएका ब्रायन फोटोग्राफर समेत हुन् । सन् १९८० को दशकमा 'ब्रायन एडम्स' शीर्षकको  पहिलो गीतिसंग्रहबाट सांगीतिक क्षेत्रमा लागेका ब्रायन एडम्स 'समर अफ सिक्स्टी नाइन', 'एभि्रथिङ्स आई डु' तथा 'प्लिज फर्गिभ मी' जस्ता  गीतमार्फत विश्वभरिका दर्शकमाझ लोकप्रिय छन् । ३२ वर्षदेखि निरन्तर रूपमा सांगीतिक क्षेत्रमा सक्रिय रहेका ब्रायन एडम्सले अमेरिकन  म्युजिक एवार्डसहित विश्वकै प्रतिष्ठित संगीत पुरस्कार ग्रामी एवार्डसमेत जितिसकेका छन् । उनका २० भन्दा बढी एकल गीतिसंग्रह सावर् जनिक भैसकेका छन् । उनको 'रेकलेस' शीर्षकको चौथो गीतिसंग्रह सर्वाधिक बिक्री भएको एल्बम थियो । उक्त संग्रह विश्वभरिमा ६ करोडदे खि १० करोडको संख्यामा बिक्री भएको बताइन्छ । तीन वर्षअघि २००८ मा बिल बोर्डको पचासौँ वर्षगाँठमा प्रकाशित एउटा सूचीमा उनी  ३८ औं स्थानमा परेका थिए ।


नजिकबाट ब्रायन एडम्स नामः ब्रायन गाए एडम्स
जन्मः १९५९ नोभेम्बर ५
उचाइः ५ फिट ८ इन्च
जन्मस्थानः किङ्सटन, ओन्टारियो, क्यानडा
सांगीतिक शैलीः रक
पेशाः गायक, गीतकार, संगीतकार, फोटोग्राफर, सामाजिक कार्यकर्ता
वाद्ययन्त्रः गिटार, बास गिटार, किबोर्ड, पियानो, होर्मोनियम
सक्रियताः सन् १९७७ देखि हालसम्म
ब्रायन एडम्सका दश लोकप्रिय गीत


१. समर अफ  सिक्स्टी नाइन
२. (एभ्रिथिङ आई डू) आई डू इट फर यू
३. हेयर आई एम
४. प्लिज फर्गिभ मी
५. हेवेन
६. द बेस्ट अफ मी
७. अल फर लभ
८. क्लाउड नम्बर नाइन
९. डू आई हृयाब टु से द वर्ड्स
१०. ब्याक टु यू


ब्रायन एडम्सका गीतिसंग्रह


स्टुडियो एल्बम


ब्रायन एडम्स (१९८०)
यू वान्ट इट यू गट इट (१९८१)
कट्स लाइक अ नाइफ (१९८३)
रेकलेस (१९८४)
इन टु द फायर (१९८७)
वेकिङ अफ द नेबर्स (१९९१)
१८ टिल आई डाइ (१९९६)
अन अ डे लाइक टु डे (१९९८)
रुम सर्भिस (२००४)
११ (२००८)
लाइभ एल्बम
लाइभ ! लाइभ ! लाइभ ! (२००२)
एमटिभी अनप्लग्ड (१९९७)
लाइभ एट द बुडोकान (२००३)
लाइभ इन लिस्बन (२००५)
बेयर बोन्स (२०१०)
साउन्ड ट्रयाक एल्बम
स्प्रिटः स्टालियन अफ द किमारोन (२००२)
कलर मि कुब्रिक (२००५)
कम्पिलेसन एल्बम
हिट्स अन फायर (१९९८)
सो फार सो गुड (१९९३)
द बेस्ट अफ मि (१९९९)
एन्थोलोजी (२००५)
आइकन (२०१०)
पुरस्कार
अमेरिकन म्युजिक एवार्ड  (१९९२)
ग्रामी एवार्ड (१९९२)
जुनो एवार्ड (१९८३ देखि २००० सम्म )
एमटिभी भिडियो म्युजिक एवार्ड्स (१९८६)
कृष्ण भट्टाराई 
 साप्ताहिक