बृहत जडिबुटी उद्योग खोल्ने सपना

अमर गैरे शिवशक्ति आरोग्य हर्बल उद्योग, पाल्पा

पाँच वर्षअघिसम्म मेरो जीवनशैली बेग्लै थियो । म साधारण जीवन बाँच्थें ।
आईकम उत्तीर्ण भए पनि पढाइअनुसारको सीप थिएन । तर, समयक्रमसँगै ममा
प्राकृतिक जडिबुटीसम्बन्धी ज्ञान बढ्यो । गाउँघरमा पाइने विभिन्न जडिबुटीलाई औषधि बनाउने सीप सिकें । अहिले मसँग ७ सय २० जडिबुटीसम्बन्धी ज्ञान छ । ६ सय ६५ जडिबुटीको अनुसन्धान म अहिले पनि गरिरहेको छु ।

मैले जडिबुटीबाट स्पेसल चिया, मुटु, पाठेघर, ग्यास्ट्रिक, अल्सर, मृगौला, जन्डिस, दम, फोक्सो, युरिक एसिड, पत्थरी, मधुमेह, पेट, नसा, बाथ, मस्तिस्क क्यान्सरलगायतका रोगको औषधि बनाएको छु । मैले बनाएका औषधि गाउँलेहरूलाई निःशुल्क प्रयोग गर्न दिन्थें । उनीहरूका रोगहरू क्रमशः निको हुँदै गएपछि ममा उत्साह आयो । मैलै बढीभन्दा बढी औषधि उत्पादन गरेर यो कामलाई निरन्तरता दिँदै गएँ ।

सेवाभाव रहेकाले मैले बिरामीलाई निःशुल्क उपचार गर्ने गरेको छु । व्यवसायलाई कानुनी मान्यता दिन औषधि विभाग र आयुर्वेद विभागसँग परामर्श लिई डेढ वर्षअघि गुणस्तर विभागको स्वीकृतिबाट उद्योग चलाएको छु । घरेलु तथा साना उद्योग कार्यालयमा शिवशक्ति आरोग्य हर्बल उद्योग नाममा दर्ता गराएर व्यावसायिक कारोबारसमेत सुरु गरेको छु ।
यो उद्योग स्थापनामा मेरो ३० लाख रुपैयाँ लगानी लागेको छ । उद्योगमा अहिले नौ जनाले रोजगारी पाएका छन् । उनीहरूलाई दैनिक २ सय रुपैयाँ ज्याला दिन्छु । गत वर्ष आयुर्वेद औषधिको कारोबारबाट १७ लाख रुपैयाँ कमाउन सफल भएँ ।
पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँचीलगायतका जिल्ला तथा भारतबाट समेत आएका  १६ हजारभन्दा बढी बिरामीलाई प्रत्यक्ष उपचार तथा औषधिमुलो गरिसकेको छु । बिरामीको रोग निको नभए आधा पैसा फिर्ता दिने गरेकाले मेरो व्यवसायप्रति ग्राहकको आकर्षण बढेको हो ।
मैले १ सय ८ जडी स्पेसल चियासमेत बनाउने गरेको छु । देशभरिबाट यसको भएकाले मागअनुसार उत्पादन गर्न सकिएको छैन । निकट भविष्यमै गाउँमा बृहत् जडिबुटी उद्योग सञ्चालन गरी स्थानीय युवालाई रोजगारी दिने मेरो योजना छ । मैले मेहनतअनुसार औषधिको मूल्य निर्धारण गर्ने गरेको छु । यसबाट दैनिक ३ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।
अमृत अधिकारी
कारोबार दैनिक