हेवी बाइकतिर युवामन

हेवी बाइकप्रति नेपाली युवाको आकर्षण पछिल्लो समय बढ्दै गएको छ । अन्यभन्दा महँगो भए पनि युवा पुस्तामाझ लोकप्रिय हुँदै गएपछि विक्रेताहरू पनि यस्ता बाइक भित्र्याउन कम्मर कसेर लागेका छन् ।
नेपालस्थित मोटरसाइकल अधिकृत विक्रेताहरूले प्रत्येक महिनाजसो नयाँ–नयाँ बाइक नेपालमा लन्च गराउँछन् । यसमा हेवी बाइक नै प्राथमिकतामा पर्ने गरेका छन् । विक्रेताहरूले पछिल्लो समय २ सय सीसीदेखि ३५० सीसी क्षमतासम्मका बाइकहरू बिक्रीमा ल्याएका छन् । हाल नेपाली बजारमा २ लाख रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म मूल्य पर्ने बाइक युवाको रोजाइमा पर्ने गरेका छन् ।
नेपाली बजारमा पछिल्लो समय चलनचल्तीमा रहेको बजाजको कावासाकी निन्जा आर (२५० सीसी) गत वर्षदेखि बिक्री सुरु भएको छ । यसको बजार मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । खासगरी नेपालका बाटोमा यस्ता बाइक चलाउन साँघुरो हुने भए पनि युवाहरूलाई यसले असर पारेको छैन । बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द प्रालिले २ सय तथा २२० सीसी क्षमताका बाइक पनि बिक्री गर्दै आएको छ । यी बाइकको बजार मूल्य भने २ लाख ९ हजार ९ सयदेखि २ लाख ३९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।

सुजुकी बाइकको अधिकृत विक्रेता गणेश इन्टरप्राइजेजले पनि विभिन्न ब्रान्डका हेवी बाइक बिक्री गर्दै आएको छ । उसले बिक्री गर्ने २५० सीसीको सुजुकी जीजेडको बजार मूल्य ६ लाख २४ हजार ८ सय ८८ रुपैयाँ छ । त्यस्तै, डीआर २००५ ईको बजार मूल्य ५ लाख ७४ हजार ८ सय ८८ तोकिएको छ ।
दुगड ब्रदर्स एन्ड सन्सले भर्खरैमात्र ३५० सीसी क्षमताको रोयल इनफिल्ड बिक्री सुरु गरेको छ । जसअन्तर्गत रोयल इनफिल्ड थन्डरबर्ड ट्विन्सपार्क बाइकको बजार मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, बुलेट यूसीई मोडेललाई दुडगले ३ लाख १० हजार रुपैयाँमा बेचिरहेको छ । इलेक्ट्रा एसएसईएस यूसीई र क्लासिक मोडेलको मूल्य क्रमशः ३ लाख ८० हजार र ३ लाख ९५ हजार रुपैयाँ छ ।
टीभीएसको विक्रेता टीभीएस प्रालिले पनि १ सय ८० सीसी क्षमताको अपाची आरटीआर बाइक बेच्दै आएको छ । यसको बजार मूल्य २ लाख १५ हजार ८ सय ३० रुपैयाँ पर्छ । त्यस्तै १६० सीसीको अपाची आरटीआर र अपाची आरटीआर आरडी मोडेलका बाइक पनि उसले बिक्री गर्छ । यिनको बजार मूल्य क्रमशः २ लाख १३ हजार ५ सय ७० र १ लाख ९९ हजार ८ सय ७९ हजार रुपैयाँसम्म छ ।
यामाहाको अधिकृत विक्रेता मोरङ अटो वक्र्सले पनि विभिन्न हेवी मोडेलका बाइक बिक्री गर्दै आएको छ । १५० सीसी क्षमताको यामाहा आर १५ को मूल्य २ लाख ८४ हजार ९ सय तोकिएको छ । त्यस्तै, १५३ सीसीका एफ २१६ र फेजरको बजार मूल्य क्रमशः १ लाख ९९ हजार ९ सय र २ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
त्यस्तैगरी होन्डा तथा हिरोहोन्डाको अधिकृत विक्रेता स्याकार कम्पनीले पनि पछिल्लो समयमा हेवी बाइकको बिक्री बढाउँदै लगेको छ । होन्डा बाइकतर्फ १५० सीसीको सीबी युनिकर्न ड्याज्लर छ । यसको मूल्य २ लाख ६ हजार ९ सय रुपैयाँ पर्छ । हिरोहोन्डाले २२५ सीसीका तीन मोडेलका बाइक पनि नेपाली सडकमा गुड्छन् । करिज्मा जेडएमआर, करिज्मा डीएसएस रेड होयल र करिज्मा डीएसएस ब्ल्याक होयल मोडेलका हेवी बाइकको मूल्य क्रमशः २ लाख ८६ हजार ९ सय, २ लाख ३६ हजार ९ सय र २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।



नेपालमा बिक्री हुने हेवी बाइकहरूः

बाइक मोडल                                  बिक्री मूल्य    क्षमता
बजाज कावासाकी निन्जा आर     ७,४९,९००    २५० सीसी
सुजुकी जीजेड                              ६,२४,८८८    २५० सीसी
इनफिल्ड थन्डरबर्ड ट्विन्सपार्क    ३,९५,०००    ३५० सीसी
हिरोहोन्डा जेडएमआर                 २,८६,९००    २२५ सीसी
यामाहा आर १५                        २,८४,९००    १५० सीसी
टीभीएस अपाची आरटीआर     २,१५,८३०    १८० सीसी
केदार दाहाल
कारोबार दैनिक