रुपन्देहीको बजेट सवा ३ अर्ब



रूपन्देही जिल्ला विकास समितिले आर्थिक वर्ष २०६८/६९ का लागि ३ अर्ब २१ करोड ८९ लाख ७ हजार रुपैयाँबराबरको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
भैरहवामा सम्पन्न १८ औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले अनुमानित आयव्यय सार्वजनिक गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखिएको बताए । चालू त्रिवर्षीय योजना, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयबाट प्राप्त निर्देशन एवं मार्गदर्शन तथा स्थानीयस्तरबाट प्राप्त सुझावहरूका आधारमा योजना तर्जुमा गरिएकोे कार्कीले जनाए ।
उनले जिल्लाका निक्षेपित कार्यालय एवं विषयगत कार्यालयहरूको १ अर्ब ९४ करोड ७८ लाख २७ हजार, गैरसरकारी संस्थाहरूको २४ करोड ९२ लाख ७२ हजार र नेपाल सरकार तथा अन्य निकायबाट योजना सञ्चालनका लागि प्राप्त १ अर्ब २ करोड १८ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

परिषद्मा जिल्लाको कुल अनुमानित व्यय २ अर्ब ८६ करोड ३६ लाख ६० हजारमध्ये चालूतर्फ १ अर्ब २६ करोड ९१ लाख ९१ हजार र पुँजीगततर्फ १ अर्ब ७० करोड ४ लाख ४३ हजार छ ।
 जिविसको कुल व्यय १ अर्ब २ करोड १८ लाख आठ हजारमध्ये चालूतर्फ २८ करोड ७६ लाख २५ हजार र पुँजीगततर्फ ७३ करोड ४१ लाख ८३ हजार विनियोजन गरिएको छ ।
पुँजीगत एवं प्रवद्र्धनात्मक कार्यक्रमतर्फ जनसहभागितामा आधारित सडक कालोपत्रे, कृषि सडक निर्माण, पुल कभर्ट निर्माण, विद्युतीकरण, कृषि उपज संकलन केन्द्र, जिल्लास्तरीय सडक कालोपत्रे, सिँचाइ, नदी नियन्त्रण, एवं तटबन्ध, वन वातावरण संरक्षण तथा वृक्षारोपण कार्यालय व्यवस्थापनलगायतका कार्यक्रम प्राथमिकतामा रहेको छ ।
 यसैगरी, झोलुंगे पुल निर्माण, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, सामाजिक परिचालन गरिबी न्यूनीकरण, विद्यालय भवन निर्माण, सामुदायिक भवन निर्माण, निकासी एवं अन्य सडकहरू मर्मत–सम्भार गर्नेलगायत अन्य योजनाहरू सञ्चालन गरिने जनाइएको छ ।
कार्कील बजेट सार्वजनिक गर्ने क्रममा पर्यटन वर्ष २०११ लाई सफल बनाउन जिविसले विभिन्न कार्यक्रम गर्नेसमेत जनाए । 
मनोरञ्जन शर्मा