विदेशमा नेपाली मोबाइलबाटै कुरा


विदेश यात्रामा युरोप, अमेरिका पुग्ने जोसुकै व्यक्तिले नेपाली मोबाइलबाटै कुराकानी गर्न सक्ने भएका छन्। ब्ल्याकबेरी मोवाइल बोक्नेले भने थप महसुल नतिरी निर्वाध इन्टरनेट सेवासमेत चलाउन सक्नेछन्।
नेपाल टेलिकम र एनसेलले आफ्ना उपभोक्तालाई रोमिङ सेवाको सुविधा दिए पछि यस्तो संभव भएको हो। निश्चित रकम तिरेर यस्तो सेवा लिने नेपाली मोबाइल टेलिफोनका ग्राहकले विदेशमा जाँदा आफ्नै मोबाइलबाट कल गर्न र टेलिफोन रिसिभ गर्न सक्नेछन्।

सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका मोबाइल ग्राहकले ५२ देशमा जाँदा आफ्नै मोबाइलमा फोन रिसिभ गर्ने मात्र नभै कल गर्न समेत सक्नेछन्। 'हरेक महिना नयाँ कम्पनीहरुसँग रोमिङ सम्झौता भैरहेको छ,' टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले भने। टेलिकमले पोष्टपेड मोबाइलका ग्राहकलाई मात्र रोमिङ सुविधा दिइरहेको छ। प्रिपेड मोबाइलका उपभोक्तालाई दिने योजना भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। सुरुमा भारत र त्यसपछि अरु देशमा प्रिपेड रोमिङ सुविधा दिने तयारी टेलिकमको छ।

यस्तै एनसेलको ब्ल्याकबेरी मोबाइल लिएपछि संसारका ७५ देशमा जाँदा टेलिफोन गर्न र इन्टरनेट चलाउन सकिने छ। ब्ल्याकबेरी सेवा चलेका सबै देशमा एनसेलको रोमिङ चल्छ। ब्ल्याकबेरीमा सेवाभित्रै इमेल र इन्टरनेट हुन्छ।
'हाम्रा पोष्टपेड मोबाइलका उपभोक्ताले १० हजार रुपैयाँ धरौटी राखेर संसारका अधिकांश देशमा रोमिङ सेवा लिन सक्छन्,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले भनिन्।
एनसेलले रोमिङका लागि अमेरिकाको एटीएण्डटीसँग सम्झौता गरेको छ। यो सम्झौताले नेपाली उपभोक्ता अमेरिका जाँदा कुराकानी गर्न सक्छन्। बेलायतको टी मोबाइल, अरेन्ज, हचसन र भोडाफोनसँग पनि एनसेलले रोमिङ सम्झौता गरेको छ। एनसेलको प्यारेन्ट कम्पनी टेलिया सोनेरा भएकोले यसको लगानी रहेको युरोपका अधिकांश देशमा एनसेलको मोबाइल रोमिङमा प्रयोग गर्न सकिन्छ।
एनसेलले प्रिपेड मोबाइलमा समेत रोमिङ सुरु गरेको छ। यसले भारत, श्रीलंका लगायत सार्क क्षेत्रमा पाँच देशमा जाँदा रोमिङ सुविधा दिइरहेको छ। 'क्यामेल रोमिङ' भनिने प्रिपेड रोमिङमा धरौटी राख्न नपरेपनि प्रयाप्त रकम व्यालेन्स भने राख्नुपर्ने कोइरालाले बताइन्।
एनसेल प्रिपेड उपभोक्ताले भारतमा गएर त्यहाँ स्थानीय कल गर्दा प्रति मिनेट एकसय ३४ रुपैयाँ तिर्नुपर्छ। नेपालमा कल गर्दा भने दुईसय ७१ रुपैयाँ तिर्नुपर्छ। त्यस्तै कल रिसिभ गर्दा मिनेटको दुईसय ४० रुपैयाँ लाग्छ। प्रति एसएमएसका लागि ५५ रुपैयाँ तिर्नुपर्छ।
एनसेलले रोमिङका लागि ७५ देशका एकसय ९५ मोबाइल कम्पनीसँगसम्झौता गरिसकेको छ। सम्झौताअनुसार एकसय ९५ मोबाइल कम्पनीका ग्राहक आफ्नो मोबाइल सेट लिएर नेपाल आउँदा यहाँको सिमकार्ड नलिएपनि फोन रिसिभ र कल गर्ने सुविधा पाउनेछन्। एनसेलको रोमिङ सुविधा लिन १० हजार रुपैयाँ मात्र तिरेपुग्छ।
रोमिङ भन्नाले ग्राहक आफ्नो मोबाइल टेलिफोन सेट लिएर जुनसुकै देशमा जाँदा पनि कुराकानी गर्ने सुविधा पाउनु हो। यस्तो सेवा पाउनको लागि स्थानीय मोबाइल कम्पनीले विदेशका कम्पनीसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ। सम्झौता भएका मोबाइल कम्पनीका ग्राहक अर्को देशमा पुग्दा त्यहाँ मोबाइलको सिग्नल टिप्ने र कुराकानी गर्न सक्नुपर्छ।
यस्तै टेलिकमले रोमिङका लागि ५२ देशका एकसय ६८ कम्पनीसँग सम्झौता गरिसकेको छ। ५२ देशहरुमा विकसित अमेरिकादेखि सबैभन्दा नजिकको भारत, भुटान समेत छन्।
'जुन देशमा नेपालीहरु बढी जान्छन् र त्यहाँबाट आउँछन् ती देशहरुसँग हाम्रो रोमिङ सम्झौता भैसकेको छ,' थिकेले भने। रोमिङमा डाटा सेवा नचलेपनि कुराकानी र एसएमएस गर्न भने सकिन्छ। टेलिकमको रोमिङ सुविधा सुविधा लिनको लागि फर्म भरेर ३० हजार रूपैयाँ धरौटी राख्नुपर्छ।
नेपाल टेलिकमका प्रिपेड मोबाइल ग्राहकले अहिलेनै रोमिङ सुविधा नपाएपनि भारतको एयरटेलका ग्राहक भने नेपालमा आउँदा रोमिङ सुविधा पाइरहेका छन्। पन्थीले एअरटेलका ग्राहकले नेपाल आउँदा एसएमएस गर्ने र फोन रिसिभ गर्न पाउँछन्। तर यहाँबाट कल गर्ने सुविधा भने अहिले मिलाउन बाँकी छ।
टेलिकम स्रोतका अनुसार नेपालबाट रोमिङ सुविधा लिएर जाने भन्दा आउने विदेशीहरु धेरै छन्। 'मासिक २५ देखि ३० हजार विदेशीहरु रोमिङ सुविधा लिएर नेपाल आइरहेका छन्,' स्रोतले भन्यो। यहाँबाट रोमिङ लिएर जानेहरु भने निकै थोरै छन्।
टेलिकमको पोष्टपेड मोबाइलका ग्राहकले दक्षिण एसियाका सबै देशदेखि अमेरिका, जर्मनी, अष्ट्रेलिया, जापान, हङकङ, रसिया जस्ता विकसित मुुलुकमा समेत लिएर जान सक्छन्। टेेलिकमसँग अमेरिकाको सिङगुलर वायरलेस र टीमोबाइलसँग रोमिङ सम्झौता छ। जर्मनीमा ओटू, बेलायतमा बीटी सेलनेट, अष्ट्रेलियामा अप्टस, रुसमा भिम्पेलकमसँग सम्झौता छ।
महंगो छ रोमिङः
रोमिङ सुविधाले गर्दा खल्तीमा अटाउने सानो चिजले मानिसलाई जहाँ भएपनि सम्पर्क टुट्न दिदैन। तर सेवाको लागि तिर्नुपर्ने महसुल भने महंगो छ।
नेपाल टेलिकमको मोबाइल लिएर भारतमा जाँदा कुनै कल रिसिभ गर्दा ग्राहकले २ सय २७ रुपैयाँ ४७ पैसा तिर्नुपर्छ। रोमिङ मार्फत दिल्लीबाट नेपालमा कल गर्दा भने १ सय ७१ रुपैयाँ ५३ महसुल लाग्छ। भारतमा एअरटेलको नेटवर्क प्रयोग गरेर नेपालमा एसएमएस गर्दा भने ४५ रुपैयाँ ७४ पैसा तिर्नुपर्छ।
अमेरिकामा गएर ग्राहकले मोबाइलमा फोन रिसिभ गर्दा कर बाहेकनै ९९ सेन्ट तिर्नुपर्छ। यसमा थप २४ प्रतिशत कर जोड्दा १ डलर २४ सेन्ट पर्न आउँछ। अमेरिका गएर एसएमएस गर्दा एउटाको ३० सेन्ट तिर्नुपर्छ।
एनसेलका ग्राहकले भने अमेरिका गएर त्यहाँको एटीएण्डटीको नेटवर्क प्रयोग गर्दा स्थानीय कल गर्दा दुईसय १३ रुपैयाँ तिर्नुपर्छ। त्यहाँबाट नेपाल कल गर्दा भने मिनेटको ६ सय ८७ रुपैयाँ तिर्नुपर्छ। फोन रिसिभ गरेको प्रति मिनेट दुईसय ३० रुपैयाँ तिर्नुपर्छ।
ब्ल्याकबेरी सेवा सुरु भएपछि एनसेलको रोमिङ सेवा लिनेहरु निकै बढेका छन्। अन्तर्राष्ट्रिय संस्था, उद्योगी व्यापारी, बैंकर्सहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिइरहेका छन्। जसले गर्दा जहाँ पुगेपनि इमेल मार्फत सम्पर्क गराइरहन्छ।
इमेल आएपछि ब्ल्याकबेरी सेटमा एसएमएस जस्तैगरि घण्टी बज्छ। जसले गर्दा संसारका धेरै देशमा यो लोकप्रिय भएको छ।
रोमिङ सेवा जहाँ भएपनि अटुट रुपमा मोबाइल चलाउन सकिने प्रविधि भएकोले यो महंगो परेको हो। रोमिङ सेवा लिँदा बिभिन्न कम्पनीहरुबीच आम्दानी बाँडेर लिनुपर्ने भएकोले महंगो परेको दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले बताएका छन्।
रामचन्द्र भट्ट
नागरिक न्यूज़