होटल र विमानको बुकिङ उच्च

पर्यटन वर्ष घोषणापछिको पहिलो पर्यटकीय मौसम सुरु नहुँदै देखिएको उत्साहप्रद बुकिङले आथित्य सत्कार उद्योगमा उत्साह थपेको छ । आगामी तीन महिना मार्च, अप्रिल र मेका लागि होटल र विमान कम्पनीमा अहिले नै ८० प्रतिशत बुकिङ भइसकेको छ । यस आधारमा २०१० को यही अवधिभन्दा उल्लेख्य संख्यामा बढी पाहुना भित्रिने आशामा व्यवसायी छन् ।
सरकारले गोष्ठी सेमिनार र बैठकका लागि आउने (माइस) पर्यटकलाई प्रोत्साहित गरेकाले पनि यसको सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ । राजधानीका प्राय सबै पाँचतारे होटलले ब्लक बुकिङ उत्साहजनक भएको बताए । १ सय पर्यटक ल्याउनेलाई प्रोत्साहनस्वरूप नगद ५ लाख दिने घोषणा यो वर्षको बजेटले गरेको छ ।

यो वर्षको पहिले पर्यटकीय मौसममा नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय देखिएका छन् । त्यसपछि कोरियाली, इटालीयाली, फ्रान्सेली र चिनियाँ पर्यटकको बुकिङ उच्च भएको शाहले बताए । 'यो निकै राम्रो संकेत हो,' उनले भने । त्यस्तै याक एन्ड यतीका बिक्री तथा बजार निर्देशक भरत जोशीले पनि यो मौसममा होटल अकुपेन्सी ८० र ९० प्रतिशतको बीचमा रहने बताए । 'मार्चमा ८० नाघ्नेछ,' उनले भने 'अपि्रलमा अझै बुकिङ बढ्ने संकेत पाएका छौं ।'
अहिले घुम्न, पदयात्रा र पर्वतारोहणभन्दा पनि बढी अन्तर्राष्ट्रिय सेमिनार, गोष्ठी (माइस) का लागि आउने पाहुना बढी हुने उनले बताए । 'युएन, राजदूतावास र गैरसरकारी संस्थाहरूले समेत नेपाल प्रवर्द्धनका लागि पहल गरिरहेका छन्,' जोशीले भने, 'उनीहरूले नेपाल यस्ता कार्यक्रमका लागि सुहाउँदो रहेको भन्दै सिफारिस गरेपछि सेमिनार, गोष्ठीमा आउने निकै बढी हुने देखिएको छ ।'
'यो मौसममा होटलको अकुपेन्सी अझै बढी हुने आशा छ,' होटल सांगि्रलाका महाप्रबन्धक राजुविक्रम शाहले भने । उनका अनुसार यसपालि बुकिङ गर्ने भारतीय पर्यटक निकै बढी छन् । नेपाल जोड्ने दिल्ली, बैंकक, आबुधावी, दोहा र बहराइनका एयरलाइन्सको बुकिङ तथ्यांकले पनि मार्च पहिलो साता सबैभन्दा बढी पर्यटक आउने देखिएको ओशो वल्र्ड ट्राभलका प्रबन्ध निर्देशक श्याम थपलियाले बताए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले नेल्सन कम्पनीसँग मिलेर गरेको एक अध्ययनले नेपाल आउने भारतीय पर्यटक संख्या २००८ देखि स्थिर रहेकेा देखाएको छ ।
भारतीय पर्यटकका घुम्ने देशहरूमा नेपाल पाँचौं स्थानमा छ । सिंगापुर, मलेसिया, दुबई, थाइल्यान्ड अगाडि रहेका छन् । पर्यटन वर्ष २०११ मा २ लाख ६५ हजार भारतीय पर्यटक भित्र्याउने लक्ष्य छ ।
सरकारले समेत माइसका लागि एक सयभन्दा बढी विदेशी पासपोर्ट भएका पर्यटक हवाई मार्गबाट ल्याउने आयोजकलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रम भएको सम्पूर्ण कागजपत्र उपलब्ध गराएपछि एक साताभित्र सहयोग रकम हस्तान्तरण गरिने व्यवस्था छ । सोल्टी होटलको समेत बुकिङ गत वर्षको भन्दा १० प्रतिशत बढी रहेको व्यवस्थापनले जनाएको छ । २०१० को पहिलो मौसममा सोल्टीको अकुपेन्सी करिब ६५ प्रतिशतको हाराहारीमा रहेको थियो ।
आउने संख्या बढिरहे पनि पर्वतारोहणका लागि आउने भने लक्ष्यअनुसार नबढेको पर्वतारोहण संघको भनाइ छ । 'पर्यटकलाई अहिले धेरै विकल्प छन्,' संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले भने, 'भारत, पाकिस्तान र चीनले पर्वतारोहणमा आउने पर्यटकलाई तानिरहेको अवस्था छ ।'
सरकारले नेपाली पर्वतारोहणलाई फराकिलो बनाउन सलामी दस्तुरमा छुटलगायत योजना सार्वजनिक गरेको छ । तर पश्चिम नेपालका यातायात र पूर्वाधारको समस्याका कारण यस्ता योजना सफल हुन सकेका छैनन् । 'यसले नेपालमा पर्वतारोहणका लागि आउने पाहुनाले कम बुकिङ गरेका छन्,' शेर्पाले भने, 'त्यसमा छिमेकी मुलुकभन्दा यहाँ पर्वतारोहण गर्न बढी खर्च गर्नुपर्ने भएकाले समेत यस्तो परिणाम देखिएको हो ।'
यहाँ आउने पर्यटक संख्याले २०१० मा विगतका सबै कीर्तिमान तोडेको छ । यो वर्ष हवाई मार्ग भएर आउनेको संख्या ४ लाख ४८ हजार ७ सय ६९ पुगेको छ । यसअघि सन् १९९९ मा ४ लाख २१ हजार २ सय ४३ पाहुना आएका थिए ।
२०१० को मार्चमा ४४ हजार ४ सय ३१ र अपि्रलमा ३८ हजार ६ सय ९४ पर्यटक आए । यसपालि यी दुई महिनामा ५० हजारभन्दा पर्यटक आउन सक्ने व्यवसायीको अपेक्षा छ ।
लगातार देखिएको वृद्धिदर, हवाई पहुँच विस्तार तथा पर्यटनका लागि राजनीतिक दलको प्रतिबद्धताको परिणाम हो । यस आधारमा २०११ को लक्ष्यअनुसार पर्यटकलाई सुविधा दिन लगानीकर्ताले आफ्नो लगानी समेत बढाउँदै लगेका छन् ।
कांतिपुर