ओलम्पिक हेर्न लन्डन जाने कि !

लन्डन ओलम्पिक २०१२ हेर्न चाहने नेपाली दर्शकका लागि टिकट बिक्री मंगलबार सुरु भएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले मंगलबारै ओलम्पिक काउन्टडाउन ५ सय दिन सुरु भएको अवसरमा पत्रकार सम्मेलन गर्दै नेपाली दर्शकका लागि टिकट बिक्रीको जिम्मा अस्ट्रेलियाली बजार प्रबर्द्धन कम्पनी किङडम स्पोर्टस ग्रुपलाई दिएको जानकारी गराएको छ।
लन्डन ओलम्पिकका लागि आयोजकले तयारी अन्तिम चरणमा पुर्‍याइसकेको बताउँदै एनओसी अध्यक्ष ध्रुवबहादुर प्रधानले बेलायती सरकारले पनि नेपालबाट बढीभन्दा बढी खेलाडी, व्यवसायी र खेलप्रेमीको सहभागिता अपेक्षा गरेको बताए। लन्डन ओलम्पिकका लागि एनओसीले एथलेटिक्स, बक्सिङ, सुटिङ र आर्चरीका ७ खेलाडीलाई छात्रवृत्तिका लागि पहल गरेको प्रधानले जानकारी गराए। उनका अनुसार बक्सिङ र तेक्वान्दोबाट २/२ तथा अन्य खेलबाट १/१ खेलाडीलाई छात्रवृत्तिका लागि छानिएको छ। छानिनेमा तेक्वान्दोका मनिता शाही र आयशा शाक्य, बक्सिङबाट १६औं एसियाडमा नेपालका लागि एकमात्र पदक विजेता दीपक महर्जन र माया चौधरी, एथलेटिक्सबाट तिलकराम थारु, सुटिङबाट स्नेह राज्यलक्ष्मी राणा तथा आर्चरीबाट प्रेमप्रसाद पुन छन्।
लन्डन ओलम्पिकका लागि एनओसीले आफ्ना सदस्य रवि राजकर्णिकारलाई नेपालको सम्पर्क अधिकारीको जिम्मेवारी दिएको छ। राजकर्णिकारका अनुसार किङडम स्पोर्टसले नेपालले पाउने २ लाख पाउन्डबराबरको टिकट खरिद गरिसकेको छ। जुन टिकट खरिदका लागि नेपालीको पहिलो अधिकार हुनेछ भने नेपालीले नकिनेमा अन्य देशको उक्त टिकट खरिद गर्न पाउने छन्। विश्वभरमा जतासुकै बसोबास गर्ने नेपालीले पनि त्यो टिकट खरिद गर्न सक्ने राजकर्णिकारले जानकारी गराए। टिकट बिक्रीबाट आएको रकमको ५ प्रतिशत एनओसीले पाउने पनि उनले बताए।
लन्डनले विश्व खेलकुदको सबैभन्दा ठूलो खेलमेला आयोजना गर्न लागेको यो तेस्रोपटक हो। यसअघि १९०४ को चौथो ओलम्पिक तथा १९४८ को चौधौं ओलम्पिक खेलकुद लन्डनले आयोजना गरेको थियो। २००८ मा चीनले ऐतिहासिक भव्यताका साथ ओलम्पिक आयोजना गरेपछि बेलायतलाई पनि आसन्न संस्करणको भव्यता वृद्धिका लागि चुनौती थपिएको छ। तथापि आयोजकहरूले ओलम्पिक २०१२ लाई ओलम्पिक इतिहासकै सबैभन्दा भव्य र स्मरणीय बनाउने दाबी गरेका छन्।