आर्थिक विकासमा चीनले अमेरिकालाई उछिन्ने

विश्व बैंकका प्रमुख अर्थविद् जस्टिन लिनले उदाउँदो चीनले आगामी २० वर्षसम्म लगातार वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत कायम राख्न सफल रह्यो भने यसले अमेरिकालाई पाखा लगाउँदै विश्वकोे सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने बताएका छन् ।
गत वर्ष चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको स्थानमा रहेको जापानलाई उछिनेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उपाधि पाएको चीनले चालू वर्षका लागि वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ, जसले आगामी सन् २०१५ सम्मको वार्षिक वृद्धिदर ७ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ ।
“सन् २०३० सम्ममा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ,” जस्टिनले भने । २०३० सम्ममा चिनियाँ अर्थतन्त्रको आकार क्रयशक्ति समता (पीपीपी) का आधारमा दोब्बर हुने उनको प्रक्षेपण छ ।
विगत दुई दशकयता चीनमा विश्वको सबैभन्दा द्रुत गतिले आर्थिक विस्तार भएको जस्टिन बताउँछन्  । सन् १९९०–२०१० को बीच अवधिमा चीनले आश्चर्यपूर्ण तरिकाले वार्षिक १०.४ प्रतिशतका दरले आर्थिक वृद्धि गर्न सफल भयो, जुन आर्थिक वृद्धिदरको प्रवृत्ति अन्य राष्ट्रहरूको तुलनामा निकै सबल हो ।
जस्टिनले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीबाट प्रभावित विश्व अर्थतन्त्रको सुधार कमजोर रहेका कारण चिनियाँ अर्थतन्त्रको विस्तारमा अवरोध सिर्जना हुनेप्रति चेतावनी दिएका छन् । यसका साथै देशको केही आन्तरिक समस्याको असरले गर्दा पनि अर्थतन्त्रको वृद्धिदर कमी आउन सक्ने उनको अनुमान छ ।
आर्थिक विस्तार द्रुत बनेसँगै केही वर्षयता चीनमा आम्दानी अन्तर पनि बढ्दै गएको छ, जसले सामाजिक अन्योल सिर्जना हुन सक्छ ।
“विश्वव्यापी बढ्दो तापमानले चीनको दीर्घकालीन आर्थिक विस्तारको स्थायित्वमा वास्तविक चुनौती थप्नेछ,” उनले भने, तर विश्वको सबैभन्दा ठूलो फोहोर उत्पादक राष्ट्र चीनलाई उनले अबका दिनहरूमा कार्बन उत्सर्जनलाई न्यून पारी हरित प्रविधितर्फ उन्मुख भई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले थपे, “चीनले उल्लेख्य मात्रामा आर्थिक वृद्धिलाई निरन्तरता दिनु आवश्यक छ । ती माथि उल्लिखित केही पक्ष तथा आर्थिक वृद्धिलाई निरन्तरता दिनु चीनका लागि चुनौती हुन्, तर ती पक्ष चीनका लागि अवसर पनि हुन् ।”
चीनले स्वच्छ ऊर्जा विकास गर्नका लागि महत्वकांक्षी योजना ल्याएको छ, जुन योजनाअनुरूप कार्बन उत्सर्जनको मात्रालाई सन् २०२० सम्म ४० देखि ४५ प्रतिशतसम्म न्यून पार्ने चीन सरकारको लक्ष्य छ । जसको स्तर सन् २००५ मा कायम कार्बन उत्सर्जनको मात्रा बाराबर हुनेछ ।  यद्यपि स्वच्छ ऊर्जा विकास गर्नका लागि चालिने कारखाना बन्दको कदम भने असफल बन्दै आएको छ ।
गत वर्ष चीनको आर्थिक वृद्धि १०.३ प्रतिशतका दरले भएको थियो, जुन विश्वव्यापी आर्थिक मन्दीपछिको सबैभन्दा द्रुत वार्षिक आर्थिक वृद्धि दर हो ।
विश्वका अधिकांश राष्ट्रले आर्थिक विस्तारलाई द्रुत बनाउने अनेकन कसरत गरिरहेका छन्, तर उता बेइजिङले तरलताको बाढी नियन्त्रण गर्न आर्थिक वृद्धि न्यून पार्ने प्रयास गर्दैछ । तरलताको बाढी अझ ठूलो भई मुद्रास्फीति बढ्न सक्ने सम्भावना उच्च बनेको छ ।
कारोबार दैनिक