सर्वसाधारणलाई छुँदै छन् बैंकहरु

केही बैंकले खाता खोल्दा उल्टै रकम दिने योजनासमेत ल्याएका थिए, केहीले अहिले विभिन्न योजना ल्याएका छन् जसले निम्नस्तरका सर्वसाधरणसम्म पुग्न बैंकलाई सजिलो भएको छ
सानो भर्‍याङकी शिला तजियाले बैंकमा रकम जम्मा गरेर फर्किंदा ग्यास स्टोभ, राइस कुकरलगायत घरायसी सामान लिएर आइन् । करिब दुई महिनाअघि जनता बैंकमा खाता खोल्दा उनले यी सामान पाएकी हुन् । ँपत्रिकामा विज्ञापन देखेपछि खाता खोलिकी थिएँ,’ उनले भनिन्, ँसामान लिएर फर्किएँ ।’
कमर्ज एन्ड ट्रस्ट बैंकले गत साता खाता खोल्दा सिनेमाको टिकट निःशुल्क पाउने योजना ल्यायो । यस योजनाअन्तर्गत खाता खोल्दा जय नेपाल र कुमारी हलको टिकट पाइन्छ ।
शून्य रुपैयाँमा खाता खोल्दा १ सय रुपैयाँ जम्मा गरिदिने गरी नारी दिवसका अवसरमा सिभिल बैंकले योजना ल्यायो । यस्तै खाले योजनाको सुरुवात भने किस्ट बैंकले करिब ४ वर्षअघि गरेको थियो ।

पछिल्लो पटक खुलेको सेन्चुरी कमर्सियल बैंकले बचतमै ११ प्रतिशतसम्म ब्याज दिने गरी खाता खोल्ने योजना ल्याएको छ ।
यी योजना नेपालको उदारीकरण प्रक्रियासँगै खुलेका निजी वित्तीय संस्थाले बजारमा ल्याएको प्रतिस्पर्धाका उदाहरण हुन् । यसले एकातर्फ बैंकलाई नयाँ ग्राहक दिएको छ भने बैंकले ग्राहकलाई बढी प्रतिफल र सस्तो सेवा दिन थालेको छ ।
१० वर्ष अघिसम्म पनि खाता खोल्न कम्तीमा ५ हजार रुपैयाँ चाहिन्थ्यो । बढ्दै गएको प्रतिस्पर्धाले बैंकलाई साहुबाट सेवा प्रदायक संस्था बनाउँदै लग्यो ।
वीरगन्जका यमबहादुर महत अझै आफ्नो २ हजार ६३ रुपैयाँको खाता सम्झन्छन् । 'नयाँ वर्ष २०६३ को उपलक्ष्यमा इन्भेस्टमेन्ट बैंकले त्यति नै रुपैयाँमा खाता खोल्ने योजना ल्याएको थियो,' उनले भने, 'त्यो समयमा सस्तो लागेर खाता खोलें ।'
यसको केही वर्षपछि नै इन्भेस्टमेन्ट बैंकले १ रुपैयाँमा खाता खोल्ने योजना ल्याएको थियो । केही वाणिज्य बैंकसमेत
अब घरदैलो सेवा सुरु गर्नेसम्मको तयारी गर्दै छन् ।
बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै गएपछि निक्षेप आकषिर्त गर्न थप भएका यस्ता सुविधाले बैंकिङ प्रणालीमा पनि परिवर्तन ल्याउँदै गएको छ । 'ठाउँअनुसारको सेवा सुविधा सञ्चालन गर्दा फाइदा पुग्छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्री भन्छन्, 'हामीले पनि ग्राहकमुखी सेवामा जोड दिएका छौं ।'


डिसिबिएलले पछिल्लोपटक भोटाहिटी र सानेपा शाखाबाट ग्राहकको घरघरमै गएर निक्षेप संकलन गर्ने सेवा सुरु गरेको छ । 'यसले ग्राहकको बैंकसम्म आउने समय जोगाएको छ,' उनले भने, 'आफ्नै पारिवारिक बैंकका रूपमा हामी अघि
बढ्दै छौं ।'
'क' वर्गका वाणिज्य बैंकहरूको संख्या नै ३१ पुगिसकेको छ । यसैगरी ८३ विकास बैंक, ७९ वित्त कम्पनी, १९ लघुवित्त विकास बैंकले सेवा दिइरहेका छन् । यी वित्तीय संस्थाका करिब ११ सय शाखा देशभर छन् ।
प्रतिस्पर्धासँगै गत वर्षदेखि बजारमा खर्च गर्न योग्य रकम -तरलता) को पनि अभाव हुन थाल्यो । सर्वसाधारणको बचत बैंक वित्तीय संस्थाका लागि थप आवश्यक पर्‍यो । जसले ५ वर्षमै बचतको ब्याजदर औसत ३ बाट ११ प्रतिशतसम्म पुर्‍याएको छ ।
'हामीले ९ देखि ११ प्रतिशतसम्म ब्याज दिइरहेका छौं,' पछिल्लोपटक खुलेको सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश श्रेष्ठ भन्छन्, '१ सय रुपैयाँमा खाता खोल्न सकिन्छ ।' विभिन्न उपहार राखेका योजना भने बैंकले नल्याउने उनले बताए । 'अहिले बजार अध्ययन गरिरहेका छौं,' उनले भने, 'छिट्टै प्रतिस्पर्धी र आकर्षक योजना ल्याउनेछौं ।'
सिभिल बैंकले नारी दिवसको अवसर पारेर बैंकले एक महिनासम्म महिलालाई शून्य मौज्दातमा खाता खोल्दा १ सय रुपैयाँ जम्मा गर्ने योजना ल्याएको थियो । 'विशेष अवसरमा विशेष योजना ल्याइरहनेछौं,' प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने, 'यसले ग्राहक बढाउन र निक्षेप संकलनमा मद्दत पुर्‍याउँछ ।' यसका साथै ब्याजलाई पनि प्राथमिकतामा राखेको उनी बताउँछन् । 'एकमात्र कार्यालय रहेको बैंकमा दैनिक ५० को औसतमा खाता खोल्ने क्रम छ,' उनले भने, 'शाखा विस्तारसँगै यो पनि बढ्नेछ ।'
स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कुनै समय खाता खोल्न न्यूनतम ५० हजार रुपैयाँसम्म चाहिन्थ्यो । 'अहिले २५ सयसम्ममा खाता खोल्न सकिने व्यवस्था पनि छ,' बैंकका कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले
भने । रकम झिक्न पनि चेकबुक नै चाहिने अवस्था अन्त्य भएको पनि झन्डै दशक छुन लागिसक्यो । देशभर करिब ७ सय एटिएम छन्, जसबाट रकम झिक्न सकिन्छ ।
टोकन लिएर चेक साट्नुपर्ने पुराना सरकारी बैंक पनि के कम । वाणिज्य बैंक र नेपाल बैंकमा पनि जुनसुकै शाखाबाट रकम राख्न र झिक्न सकिने सेवा -एबिबिएस)
सुरु भइसकेको छ ।
सरकारी बैंकका कर्मचारीको पनि ग्राहकसँग गर्ने व्यवहारमा क्रमशः सुधार भइरहेको छ । 'पहिलेभन्दा कर्मचारीको व्यवहार कम रूखो छ,' राष्ट्रिय वाणिज्य बैंकबाट पेन्सन लिइरहेका शिक्षक
श्यमप्रसाद ढुंगेल भन्छन्, 'बिस्तारै सुधार होला नि ।'
सुधारको अपेक्षा सबैतिर छ । अधिकांश निजी वित्तीय संस्था पनि खाता खोल्दा जति नरम हुन्छन् त्यसपछिको सेवा दिन त्यति नै रूखा देखिन्छन् । ग्राहक संख्या बढाएपछि सीमित कर्मचारीले सेवा दिन नसकेका कारण पनि सामान्य कामका लागि पनि घन्टौं कुर्नुपर्ने समस्या छ ।
स्ट्यान्डर्ड चार्टर्डमा भने सेवाको गुणस्तरीयता कायम राख्न केन्द्रीय कार्यालयमा भने खाता खोल्न न्यूनतम २५ हजार आवश्यक पर्ने पौडेलले बताए । 'खाता खोलेर मात्रै भएन आफ्नो स्ट्यान्डर्डको सेवा पनि दिन सक्नुपर्‍यो,' उनी भन्छन् ।
कांतिपुर 
रोशन अधिकारी