मोनाकोका घर विश्वकै मह“गो

मोनाको २०१० मा पनि लगातार तेस्रो वर्षमा विश्वकै महँगो विलासी आवासीय बजारका रूपमा रहन सफल भएको छ । व्यक्तिगत आय कर नलगाउने यो भूमध्य क्षेत्रमा धनी खरिदकर्ताहरूबाट माग बढेकाले विश्वकै महँगो हुन पुगेको हो ।
मोनाकोको घर र अपार्टमेन्टका लागि सरदर मूल्य प्रतिवर्गमिटर ६५ हजार ६ सय अमेरिकी डलर रहेको लन्डनस्थित सम्पत्ति दलाल नाइट ‘फ्य्रांक एलएलपी’ले जारी गरेको ‘ग्लोबल इन्डेक्स अफ लक्जरी प्राइसेस’मा उल्लेख छ ।
प्रतिवर्गमिटर ५६ हजार ३ सय डलरसहित लन्डन दोस्रो महँगो बजार रहेको  छ । पेरिस भने ४० हजार ५ सय डलरसहित पाँचौं स्थानमा छ । अन्य तीन सर्वाधिक महँगा ठाउँ पनि फ्रान्समा रहेका छन् ।


गत वर्ष मोनाकोको सबैभन्दा महँगो खरिद ‘ला बेले इपोक्वी’ रहेको छ ।  १७ हजार ५ सय वर्गफिट (१ हजार ६ सय वर्गमिटर) को ला बेले सेप्टेम्बरमा क्रिश्चियन तथा निक क्यान्डीले ३४ करोड अमेरिकी डलरमा बिक्री गरेको थियो । खरिदकर्ता मध्यपूर्वका भए पनि नाम खुलाइएको छैन ।
“लन्डन, न्युयोर्क र पेरिसजस्तै गत वर्षको सफलताको कथाले विश्वव्यापी ब्रान्ड र माग आवश्यकतामा विविधता भए फाइदा हुने कुरालाई पुष्टि गरेको छ,” नाइट फ्य्रांकका आवासीय अनुसन्धान प्रमुख लियाम बेलीले भने ।
पूर्वाधार, राजनीतिक सुरक्षा र कानुनी स्थायित्वले दीर्घकालसम्म पनि मोनाकोको भूमिका असाधारण हुने पनि उनको भनाइ छ ।
विश्वको विलासी आवासीय बजारमा तीव्र मूल्यवृद्धिको सूचीमा भने सांघाइ नाम दर्ता भएको छ ।
सांघाईमा विलासी घरको मूल्य २१ प्रतिशतले वृद्धि भई प्रतिवर्गमिटर १७ हजार ७ सय डलर पुगेको नाइट फ्यांक सूचकांकमा उल्लेख गरिएको छ । यो मामिलामा चिनियाँ सहरपछि मुम्बई र सिंगापुर रहेका छन् ।
कारोबार दैनिक