विश्वकप जित्नु करियरको स्मरणीय दिन : तेन्दुलकर

सचिन तेन्दुलकरको करियरमा विश्वकप ट्रफी जितेका क्षण सबैभन्दा स्मरणीय रहेको छ । विश्वकप समाप्त भएको साता बित्दा पनि तेन्दुलकर हरेक दिन चर्चामा आइरहेका छन् तथा विश्वकपको सफलतालाई सबैभन्दा बढी उल्लासका रूपमा मनाउनेमा उनी पहिलो नम्बरमा आउँछन् । गत शनिबारको रातिलाई उनी २१ वर्ष लामो क्रिकेट खेल जीवनको सबैभन्दा महत्त्वपूर्ण समय मान्छन् ।


इतिहासमा तेन्दुलकरलाई सर्वोत्कृष्ट ब्याट्सम्यान मानिन्छ तथा अहिलेको युगमा त उनी निर्विकल्प महान् क्रिकेटर हुन् । ब्याटिङका प्रायःजसो सबै कीर्तिमान आफ्नो नाममा लेखाएका तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा ९९ शतकसमेत बनाइसकेका छन् । यद्यपि, उनी आफ्नो जीवनमा विश्वकप जित्नुजस्तो खुसीको समय कहिल्यै नआएको बताउँछन् ।
आइसिसी विश्वकप २०११ को सफलतालाई उनी बाल्यकालदेखिको सपना पूरा भएको मान्छन् तथा अहिले उनीसँग आफ्नो खुसी प्रकट गर्ने शब्द नै छैनन् । तेन्दुलकरले आफूले २१ वर्षदेखि यो क्षणको प्रतीक्षा गरेको तथा अहिले त्यो क्षण हात परेको बताए । अहिले पनि हरेक क्षण उनी विश्वकपको सफलतामा मुस्काइरहेको भेटिन्छन् ।


तेन्दुलकर भन्छन्, 'जब मैले क्रिकेटको ब्याट सम्हाले, त्यही दिनदेखि विश्वकप जित्ने सपना सँगाले तथा अहिले त्यो सपना पूरा भएको छ, म अहिले पनि शब्दविहीन छु । मेरो करियरमा योभन्दा रमाइलो दिन कहिल्यै आएको थिएन । मैले २१ वर्षदेखि यो दिनको सपना देखिरहेको थिएँ तथा अब हरेक मिनेट यो सफलताको खुसीमा मग्न हुन चाहन्छु, यो विशेष सफलता हो ।'
तेन्दुलकरले यही विश्वकपबाट पाकिस्तानका पूर्वकप्तान जावेद मियाँदादकै जति छैटौँपटक विश्वकप खेले । उनको धारणमा पछिल्ला ५ सहभागितामा भारत दुईपटक विश्वकपको नजिक पुगेको थियो, तर अन्तिम असफल हुनुपर्‍यो । ती असफलताले आफूलाई अति दुःखी बनाएको बताउने तेन्दुलकरले प्रयास भने नछाडेको पनि बताए ।
साथै उनले मुलुकलाई विश्वकप जित्ने आफ्नो सपना पनि पूरा भएको बताए ।
साथै उनले आफू कहिल्यै हतोत्साही नबन्ने तथा सधैँ प्रयास जारी राख्ने चरित्रको भएको पनि बताए ।


'त्यो मेरो छैटौँ विश्वकप थियो तथा यति लामो अवधिमा कहिले सेमिफाइनलमा त कहिले फाइनलमा हार्नुपर्दा कस्तो महसुस हुन्छ भनेर भनिरहनुपर्दैन । फाइनलमा हार्दा त मुटु नै थामिएजस्तो भएको थियो, तर मैले कहिल्यै हरेस खाइनँ, सधैँ मिहिनेत गरेँ तथा कहिल्यै पनि आश मारिनँ । मेरो सबैभन्दा ठूलो सपना पनि त्यही नै थियो तथा सपना पूरा हुँदा म अति खुसी छु,' तेन्दुलकरले भने ।
नया पत्रिका