'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिन १९ माघ ०६१ मा चालेको कदमको बचाउ गरेका छन् । देशको आवश्यकताअनुसार कदम चाले पनि त्यसको औचित्यबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको उनले बताएका छन् ।
आफ्ना व्यावसायिक साझेदार प्रभाकरशमशेर राणाका नाति तथा सिद्धार्थशमशेर राणाका छोराको पास्नीमा भाग लिन शुक्रबार अपराह्न होटल सोल्टी पुगेका ज्ञानेन्द्रले केही पत्रकारसँग कुराकानी गरेका थिए । उनले आफ्नो सक्रिय कार्यकालमा आन्तरिक र बाह्य सहयोग नपाएको गुनासो पनि पोखे ।
सोल्टी होटलमा शुक्रबार दिउँसो एक बजे पुगेका उनी करिब दुई घन्टा बसेका थिए । लबेदा-सुरुवालमा आएका पूर्वराजाले भोजमा 'सफ्ट डि्रंक्स' र लञ्चसमेत गरेका थिए । उनीसँग पूर्वरानी कोमल पनि सहभागी थिइन् । भोजभर उनको अनुहार हँसिलो देखिएको थियो ।


स्रोतका अनुसार भोजमा पूर्वपुवराज पारस र पूर्वयुवराज्ञी हिमानीलाई पनि बोलाइएको थियो, तर उनीहरू त्यहाँ सहभागी भएनन् । तत्कालीन युवराज पारसलेे एभरेस्ट होटलको ग्यालेक्सी डिस्कोमा सिद्धार्थलाई कुटेपछि केही समयसम्म पूर्वराजासँग राणा परिवारको सम्बन्ध चिसिएको थियो, तर त्यसको केही समयपछि प्रभाकरशमशेर र पूर्वराजाको सम्बन्ध यथावत् भए पनि सिद्धार्थ र पारसको सम्बन्ध भने सुधि्रएको छैन ।
भोजमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, जापानी राजदूत, चिनियाँ दूतावासका केही प्रतिनिधि र भारतीय दूतावासका कर्मचारीहरू पनि सहभागी थिए । राप्रपा अध्यक्ष राणा र पूर्वप्रधानमन्त्री थापासँग पनि उनले केहीबेर कुराकानी गरेका थिए । यसैगरी भोजमा पूर्वराजाका चारजना स्वकीय सचिव पशुपतिभक्त महर्जन, सागर तिल्सिना, डा. फणि पाठक र मधु तिल्सिना पनि सहभागी भएका थिए ।
भोजमा प्रभाकरशमशेरका नातेदार र केही पत्रकारलाई बोलाइएको थियो । पत्रकारहरू युवराज घिमिरे, मनोरञ्जन जोशी, माधव रिमाल, निरोधराज पाण्डे, देवेन्द्र गौतम, मञ्जुरत्त शाक्य, पुष्प प्रधान र केशव पौडेलले पूर्वराजासँग सवाल-जवाफ गरेका थिए ।

त्यहाँ भएको कुराकानीः

देशमा एक किसिमको अन्योल छ, भोलि के हुन्छ, पर्सि के हुन्छ भन्ने स्थिति छ, तपाईंले यसलाई कसरी हेर्नुभएको छ ? म पनि यो देशको नागरिक नै हुँ । त्यसकारण मेरो विचार, चिन्ता र चासो पनि आमनेपाली नागरिकको भन्दा फरक छैन । आमनागरिकहरूले जस्तै मैले पनि नेपाललाई शान्त र समृद्ध देशको रूपमा हेर्न चाहेको छु । शान्तपूर्ण वातावरणमा सम्मानका साथ नेपाली हुँ भनेर गर्व गरेर बस्न पाउनु नै तपाईं, म र सम्पूर्ण नेपालीको चाहना हो ।

तपाईंले एउटा प्रसंगमा राजतन्त्र भूतपूर्व संस्था होइन भन्नुभएको थियो । के तपाईंले फेरि राजाको रूपमा आफू र्फकने सम्भावना देख्नुभएको छ ?
मैले सधैं राष्ट्रको हितलाई नै सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गर्दै आइरहेको छु र भविष्यमा पनि त्यसै गर्नेछु, त्यसको विपरीत जाने छैन । जहाँसम्म राजतन्त्रको फिर्ताको सवाल छ, यो जनताले निर्णय गर्ने कुरा हो । यो विषयमा मैले बोल्नु भनेको काल्पनिक हुनेछ । जनता नै सर्वोच्च न्यायाधीश हुन् । त्यसकारण राष्ट्र र जनताका लागि दीर्घकालीन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाई नै निष्पक्ष र स्वतन्त्र अवसर प्रदान गर्नुपर्छ । वास्तविक रूपमा प्रजातन्त्र भनेको त्यही नै हो । म जहिले पनि जनताको निर्णयलाई नै मान्न तयार छु ।

यदि राष्ट्रलाई तपाईंको आवश्यकता छ भन्ने तपाईंलाई लागेको दिन तपाईं खुला रूपमा आउनुहोला ?
यस विषयमा मभन्दा जनता नै बोल्नु उचित हुनेछ । जनतालाई नै यसको निर्णय गर्न दिनु उचित हुनेछ । म सधैं बहुसंख्यक जनताको निर्णयको पक्षमा हुनेछु । मैले अघि पनि भनिसकेँ कि म पनि एक नेपाली नागरिक हुँ र आमनेपाली जनताले देशको हितका लागि जस्तो निर्णय गर्नेछन् त्यसको स्वागत गर्छु भनेर । वर्तमान समयमा देश इतिहासकै सबैभन्दा कठिन घडीबाट गुजि्ररहेको छ भन्ने कुरा कसैबाट छिपेको छैन । यस्तो अवस्थामा कसैले पनि आफ्नो जिम्मेवारी पूरा गर्नबाट लजाउन हुँदैन । इतिहासले हामीले बोलेको कुरालाई कहिले पनि याद राख्दैन, हामीले गरेको कार्यलाई मात्र याद राख्छ र सही रूपमा 'जज' गर्छ । त्यसकारण सधैं राष्ट्र र जनताका भलाइका लागि मात्र काम गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सन् २००५ मा तपाईंले सत्ता हातमा लिएर गल्ती गरेँछु भन्ने लाग्दैन अहिले ?
सबैलाई आ-आफ्नो धारणा तथा विचार राख्न छुट छ । यसमा मैले कुनै धारणा दिइरहनुपर्छ जस्तो लाग्दैन । तर, मलाई पूर्ण विश्वास छ कि मैले त्यो समयमा लिएको कदम राष्ट्रको हितका लागि उचित थियो । त्यो समयमा मैले देशभित्रका र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाउन सकिनँ । मलाई लाग्छ- मैले त्यतिवेला उनीहरू तथा आमनागरिकलाई किन त्यस्तो कदम चालिएको हो भनेर सम्झाउन सकिनँ ।

अहिले देशको एकता, अखण्डता र सार्वभौमिकतामा कतै सम्झौता भएजस्तो लाग्छ ?
प्रत्येक नेपाली नागरिक देशभक्त छन् र उनीहरू देशको हितका लागि तथा देश बचाउनका लागि सधैं लड्न तयार छन् । मलाई सम्पूर्ण नागरिकमाथि पूर्ण विश्वास र भरोसा छ । देश विखण्डित भएको र समाप्त भएको कल्पनासमेत गर्न सकिँदैन । विगतमा पनि देशमाथि आएका समस्या समाधान गर्न जनता एकजुट भएका थिए । त्यसकारण देशमाथि हुने खतराविरुद्ध लड्न जबसम्म नेपाली एकजुट हुनेछन् तबसम्म कसैले केही गर्न सक्दैन ।

राजतन्त्र समाप्त भएपछि राजनीतिक नेताहरू असफल भएकोमा तपाईंलाई खुसी लागेको छ ?
मैले यसलाई त्यो रूपमा हेरेको छैन । जिम्मेवारी पाएकाहरूले मिलेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । नेताहरूले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरू पूरा गरेको भए म त्यतिवेला सबैभन्दा खुसी नागरिक हुने थिएँ


नया पत्रिका