कामचलाउ वर्ष

आगामी बुधबार वर्ष २०६७ हामीबाट बिदा हुँदैछ । नेपाली इतिहासको कालखण्डमा यो वर्षले खासै ठूलो महत्व नराखे पनि आगामी केही वर्षसम्म यो  वर्षलाई नेपाली जनताले सम्झना गरिरहनेछन् । यो वर्ष प्रारम्भ हुँदा नेपाली जनताले आफू सार्वभौम भएको अनुभूति गर्न सक्ने लोकतान्त्रिक संविधान  प्राप्त गर्ने आशा गरेका थिए । त्यो आशा अपुरो नै रह्यो भने संविधानसभाले आफ्नो म्याद थप गरेर एउटा अर्को कामचलाउ वर्षका रूपमा वर्ष २०६७  लाई प्रयोग गरेको छ ।

त्यति मात्र नभै तत्कालीन अवस्थाको प्रमुख प्रतिपक्ष नेकपा -माओवादी) को जिद्दिका कारण बहुमतमा रहेका तत्कालीन  माधवकुमार नेपालको सरकार राजीनामा गर्न बाध्य भयो । नेपाल सरकारको राजीनामाले मुलुकलाई निकास दिनुको सट्टा नयाँ सरकार गठन हुन नसकेर  कामचलाउ सरकारको हैसियतमा मुलुकले माधवकुमार नेपालको नेतृत्वलाई निरन्तरता दिइरहनुपर्ने पीडासमेत भोग्नुपर्‍यो ।

यो घटना कतिसम्म  पीडादायी रह्यो भने मुलुकले समयमै नयाँ सरकार त पाउन सकेन-सकेन, वाषिर्क बजेट पनि सार्वजनिक हुन नसक्दा मुलुकको विकास-निर्माणको गति  झन्डै एक दशक पछाडि धकेलियो । यसले मुलुकलाई चौतर्फी रूपमा प्रभावित गर्‍यो । यिनै कारण मुलुकको सामाजिक क्षेत्रदेखि आर्थिक तथा अन्य क्षे त्रमा समेत पक्षाघातको अवस्था सिर्जना भयो । त्यसैले पनि वर्ष २०६७ लाई समग्रमा कामचलाउ वर्षका रूपमा लिइएको हो ।
साप्ताहिक