जे हेर्न संसार झुम्मियो


सिंगो विश्वको ध्यान शुक्रबार एउटा मीठो चुम्बनको पर्खाइमा थियो । विश्वभरका टेलिभिजन च्यानलहरू त्यसमै झुम्मिएका थिए । दिउँसो करिब १ बजे जब उनीहरूले सार्वजनिक स्थानमा चुम्बन गरे, सर्वसाधारण खुसीले चिच्याए । बेहुला रातो-पिरो भए, बेहुलीले भने मीठो मुस्कान छाडिन् । सीधा माथि आकाशमा हर्षोल्लासको विमान उड्दै थियो । हेर्दाहेर्दै उनीहरूले दोस्रो चुम्बन गरे, भीड उसैगरी गर्जियो । बेलायती राजकुमार विलियमले केट मिडलटनसँग गरेको बिहेतिर संसारकै आँखा एकोहोरिएका थिए । अति भव्य समारोहबीच उनीहरूले लन्डनको वेस्टमिनिस्टर एबीमा विवाह गरेका हुन् । करिब ९० मिनेटको वैवाहिक प्रक्रिया सकिएपछि शाही जोडी बकिङघम दरबारको बरन्डामा देखियो । अनि, दरबारबाहिर सर्वसाधारणको विशाल भीडसँग शुभकामना साटासाट गर्‍यो । विवाह समारोह सकेपछि उनीहरू रातो कार्पेटमाथि टेक्दै ९० वर्ष पुरानो खुला बग्गीमा चढे । उनीहरू डुक र डचेज अफ क्याम्बि्रजतिर अघि बढे, जुन नयाँ उपाधि उनीहरूलाई केही छिनअघि मात्र महारानी एलिजावेथले दिएकी थिइन् । केट बेहुलीमा कस्ती देखिन्छिन्, कस्तो पहिरन लगाउँछिन् भन्ने चासोसाथ नजिकबाट नियाल्न धेरै उत्सुक थिए । त्यो उत्सुकता त्यतिखेर मेटियो, जतिखेर उनी विवाहस्थलमा सेतो र आइभोरी रङको पहिरनमा प्रकट भइन् । बुबाको साथमा आएकी उनी रोल्सरोयस गाडीमा थिइन् ।
उनी विलियमभन्दा ४० मिनेटपछि विवाहस्थल पुगिन् । 'तिमी महान् उद्धारकर्ता, मलाई मार्गदर्शन गर,' विवाह सञ्चालकले उच्चारण गरेको मन्त्र दुवैले दोहोर्‍याएपछि विवाह विधिवत् सुरु भयो । गिर्जाघरका पादरीले दुवैलाई कसमै खुवाए । त्यसपछि विलियमले केटलाई औंठी लगाइदिए । विवाहमण्डपमा विलियमले केटसँग कानेखुसी गर्नेबित्तिकै दर्शकहरू चिच्याए, 'उनी राम्री देखिएकी छन् ।' दुलही केट पुग्नु केहीअघि महारानी एलिजावेथ द्वितीय उनका पति राजकुमार फिलिपका साथमा पुगिन् । उनीहरूले पनि १९४७ मा सोही स्थानमा विवाह गरेका थिए । महारानीले ६ वर्षपछि त्यहीं राज्याभिषेक गरेकी थिइन् । विभिन्न सञ्चारमाध्यमले यो विवाहलाई 'लोक कथा' जस्तो समेत भनेका छन् । सन् १९८१ मा विलियमका बाबुआमा चाल्र्स र डायनाको विवाहमा पनि यस्तै भनिएको थियो । 'होम काउन्टिज (बेलायतको दक्षिणपूर्वी प्रदेश) की एउटी युवती केट हाम्री भावी महारानीका रूपमा परिवर्तन हुनु लोक कथाको विषय हो,' डेली टेलिग्राफले लेखेको छ । विवाह उत्सव मनाउन लाखौं सर्वसाधारण लन्डनका सडकमा देखिएका छन् । करिब १ हजार ९ सय अतिथिलाई आमन्त्रण गरिएको छ । करोडौंले टेलिभिजनबाट विवाहको प्रत्यक्ष प्रसारण हेरेका छन् । । महारानीले ६ सय ५० अतिथिलाई विशेष भोज आयोजना गरेकी छन् । ९ वर्षअघि सेन्ट एन्ड्र्युज विश्वविद्यालयमा पढ्दा उनीहरूको भेट भएको थियो । विलियमका बाबु चाल्र्स र आमा डायनाको सम्बन्ध निकै तनावपूर्ण थियो । सन् १९९६ मा सम्बन्ध विच्छेद भएको एक वर्षपछि फ्रान्सको पेरिसमा कार दुर्घटनामा डायनाको मृत्यु भएको थियो । यसले लामो समयसम्म बेलायतीलाई सताइरह्यो । विलियम र केटको एकताले उनीहरूका अभिभावकको दुःखद सम्झना मेटाउने अपेक्षा शाही प्रशंसकले गरेका छन् । उनीहरूबीच त्यस्तो नहुने धेरैको अपेक्षा छ । किनकि २८ वषर्ीय विलियम र २९ वर्षीया केट विवाहअघि नै सँगै बसेका थिए । २००७ मा यो केही महिना छुट्टिए पनि पछि पुनर्मिलन भएको थियो । विलियम बाबु चाल्र्सपछिका उत्तराधिकारी हुन् । चाल्र्स दोस्री पत्नी क्यामिलासँग शुक्रबार समारोहमा सरिक भए । उनले क्यामिलासँग २००५ मा विवाह गरेका थिए । 
 नोभेम्बरमा राजपरिवारले विवाह तय गर्दा विलियमले केटलाई नीलम र हीराको औंठी दिएका थिए जुन उनका बाबु चाल्र्सले डायनालाई इन्गेजमेन्टमा दिएका थिए । उनले आमाको चिनोका रूपमा यो उपहार दिएको बताएका थिए । बेलायतमा राजपरिवारभन्दा बाहिरको (सर्वसाधारण) युवतीसँग विवाह भएको खण्डमा राजकुमारी भन्न मिल्दैन । त्यसैले राजकुमारसँग विवाह गरे पनि केट भने 'राजकुमारी' भनिने छैनन्
कांतिपुर