विदेशमा नेपाली कति ?

राष्ट्रिय जनगणनामा विदेशमा रहेकाहरूको छुट्टै तथ्यांक राखिने भएको छ । सशस्त्र द्वन्द्वकालमा विस्थापित भएर मुलुकबाहिर रहेका र विदेशमा आश्रतिहरूको समेत लगत राखिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । 'यसअघि झन्डै आठ लाख नेपाली विदेशमा थिए,' विभागका निर्देशक महेशकुमार सुवेदीले भने, 'विभिन्न स्रोतले भारतमा पचास लाख र अन्य मुलुकमा ३० लाख रहेको तथ्यांक देखाएका छन् । तर यो विभागको आफ्नै तथ्यांक होइन ।' विभागका उपनिर्देशक विकास विष्टले नेपालमा भएका विदेशीको समेत तथ्यांक राखिने जानकारी दिए । विदेश जाने मान्छेको लिंग, उमेर, शैक्षिक तह/निरक्षरता, गएको देश, अवधि, जानुको उद्देश्यसमेत खुलाइने उनले बताए ।
जनगणनाका लागि देशभर ८० जनगणना कार्यालय चैतमा स्थापना भइसकेका छन् । २ सय ७० इलाका जनगणना कार्यालयसमेत स्थापना गरी कर्मचालाई तालिम दिन सुरु गरिएको विभागले जनाएको छ । वैशाख तेस्रो साताभित्र निमावि तहका साढे ८ हजार शिक्षकलाई सुपरिवेक्षकका रूपमा छनोट गरी तालिम दिइने छ । 'कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोबास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं,' भन्ने नाराका साथ जनगणना प्रक्रिया अघि बढाइएको छ ।
अघिल्लो तथ्यांकअनुसार देशभर ४२ लाख ५३ हजार दुई सय २० घरधुरी थिए । १ सय १ जाति र ९२ भाषा सूचीकृत भएका थिए । जातजातिको तथ्यांक राख्न पछिल्लो जनगणनाबाटै सुरु गरिएको हो । सुपरिवेक्षकले जेठ १ देखि १८ गतेभित्र प्रत्येक घरदैलोमा पुगेर घर-परिवारको लगत लिनेछन् । जेठ २४ गतेबाट प्राथमिक तहका ३४ हजार शिक्षक-शिक्षिकालाई गणकका रूपमा खटाइनेछ
कांतिपुर