आधा नेपालीको पहुँचमा दूरसञ्चार सेवा

सूचना तथा सञ्चार प्रविधिले ल्याएको क्रान्तिको सदुपयोग गर्न नेपाली जनता पनि पछि परेका छैनन्। नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवे दनले यो तथ्यांक देखाउँछ। प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा ४१ दशमलव ५१ प्रतिशत जनतामा दूरसञ्चार सेवा  पुगेको छ। यो आँकडा टेलि घनत्वका आधारमा तयार पारिएको हो। ताप्लेजुङदेखि दार्चुलासम्मका नेपालीहरूको हातमा मोबाइल फोन देखिन्छ।  उनीहरू कम्युनिकेसनका लागि दूरसञ्चारको उपयोग गर्न उत्तिकै अभ्यस्त देखिनुले पनि दूरसञ्चारको क्षेत्रमा नेपालले नयाँ क्रान्ति नै गरेको छ  भन्दा फरक पर्दैन।

ताररहित मोबाइल सेवा प्रयोगमा आएपछि र यसको व्यापक विस्तार भएपछि दूरसञ्चार सर्वसाधारण जनताको पहुँचमा सेवा पुगेको हो।  फागुनमा सार्वजनिक गरिएको उक्त प्रतिवेदनले ४१ दशमलव ५१ प्रतिशतको तथ्यांक देखाए पनि हालसम्म करिब ४५ प्रतिशत जनतामा  दूरसञ्चार पुगिसकेको विज्ञहरू बताउँछन्।


एक वर्षमा दूरसञ्चार घनत्वमा १४ प्रतिशतले वृद्धि भएको छ। जसमा मोबाइल घनत्वमात्र १३ प्रतिशतले बढेको छ। मोबाइल सेवा प्रदायक  संस्थाहरूको तीव्र प्रतिस्पर्धाले पनि मोबाइल घनत्व बढेको हो। सेवा प्रदायकहरूले बिक्री गरेका सिमका आधारमा प्रति १ सय मध्येमा ३६  जनाको हातमा अहिले मोबाइल पुगेको छ। गत वर्ष यही समयमा प्रति १ सयमा २४ जनामा मोबाइल फोनको पहुँच थियो।


'अघिल्लो फागुनमा दूरसञ्चार घनत्व २७ दशमलव ७० प्रतिशत थियो,' फागुनसम्मको एमआइएस तथ्याङ्कमा उल्लेख गरिएको छ, 'यो  फागुनमा ४१ दशमलव ५१ प्रतिशत जनतामा दूरसञ्चार सेवा पुगेको छ।' एक वर्षको अवधिमा भएको यो वृद्धि अघिल्लो वर्षको भन्दा दोब्बर  हो। ०६५ सालको फागुनसम्ममा २० दशमलव २५ प्रतिशत उपभोक्ताको दूरसञ्चार सेवामा पहुँच पुगेको थियो। ०६५ देखि ०६६  फागुनसम्ममा ७ प्रतिशत थप मानिसमा दूरसञ्चार सेवा पुगेका थिए। ०६६ देखि ०६७ फागुनमा दूरसञ्चार घनत्व दोब्बरले बढ्यो। 


प्राधिकरणको तथ्यांकअनुसार ०६५ फागुनमा दूरसञ्चार सेवाका कुल ग्राहक संख्या ५५ लाख १५ हजार थियो। एक वर्षपछि ०६६ फागुनमा यो  संख्या ७६ लाख १७ हजार पुगेको थियो। त्यसको एक वर्षपछि ७६ फागुनमा दूरसञ्चार प्रयोगकर्ता १ करोड १८ लाख पुगेको छ।


'युवाहरूको मोबाइलप्रतिको आर्कषण बढेको छ।' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने,


'मोबाइल सेवामा भएको प्रतिस्पर्धासँगै  शुल्क कटौतीको प्रतिस्पर्धाले प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएको हो।'


अन्तर्राष्ट्रिय बजारमा दूरसञ्चार उपकरणको मूल्यमा आएको गिरावट तथा दूरसञ्चार कम्पनीले गरेको नेटवर्क विस्तारले पनि उपभोक्ता व ृद्धिमा सघाएको उनले बताए। प्राधिकरणले ग्रामीण क्षेत्रमा अझ धेरै सेवा पुर्‍याउन अन्य कम्पनीहरूलाई पनि अनुमति पत्र दिएकाले यो  संख्यामा अझै वृद्धि आउनेछ। प्राधिकरणका अध्यक्ष भेषराज कँडेलका अनुसार यही दरमा दूरसञ्चार प्रयोगकर्ताको संख्या वृद्धि भए तीन वर्षमा  सबैले दूरसञ्चार सेवा प्रयोग गर्न सक्नेछन्।


कुल दूरसञ्चार प्रयोगकर्तामा मोवाइल प्रयोगकर्ताको संख्या सबैभन्दा बढी छ। प्राधिकरणका अनुसार गत फागुनसम्ममा मोबाइल सेवा प्रयो गकर्ताको संख्या १ करोड ३ लाख ६७ हजार ८ सय ३९ (९४ लाख ९६ हजार जिएसएम र ८ लाख ७१ हजार सिडिएमए) पुगेको छ। २०६६  फागुनमा यो संख्या ६५ लाख १२ हजार (५९ लाख जिएसएम र ६ लाख सिडिएमए) थियो। एनसेलको जिएसएम मोबाइल फोनका ग्राहक ४७  लाख ८५ हजार ७ सय १५ छ भने नेपाल टेलिकमको जिएसएम मोबाइल फोनका ग्राहक ४७ लाख १० हजार ६ सय ७७ छन्। यस्तै टे लिकमको सिडिएमए मोबाइल फोनका प्रयोगकर्ता ८ लाख ७१ हजार ४ सय ४७ छन्।


आधारभूत टेलिफोन सेवाको घनत्वभने घटेको छ। एक वर्षको अवधिमा जनसंख्या बृद्धिदर अनुसार यस क्षेत्रमा उपभोक्ता नथपिएपछि सेवाको  घनत्व घटेको हो। आधारभुत फोनका प्रयोगकर्ता गत फागुनमा ८ लाख २० हजार रहेकोमा यो फागुनमा ८ लाख ४३ हजार पुगेको छ। 


युटिएलका ग्राहक पनि बढे


युटिएलले पनि पछिल्ला वर्षहरूमा आक्रामक बजार विस्तारको रणनीति लिएको छ। युटिएलको लिमिटेड मोबाइल सर्भिसेजका उपभोक्ताको  संख्या अहिले ४ लाख ७५ हजार ४ सय ९२ पुगेको छ। लोकपि्रय नायिका रेखा थापालाई ब्रान्ड एम्बे्रसडर बनाएको युटिएलको ताररहित  आधारभूत टेलिफोन प्रयोगकर्ता भने ७० हजार ३ सय ६२ छन्। वर्ष २०६६ फागुनसम्ममा युटिएलको लिमिटेड मोबाइल सेवा उपयोगकर्ता २  लाख ८२ हजार ६ सय ६४  रहेकोमा यो १ वर्षमा मात्र १ लाख ९२ हजार ८ सय २८ उपभोक्ता थपिएका छन्। यस्तै आधारभूत फोनमा  भने सुस्त गतिमा २ हजार ६३ ग्राहक मात्र थपिएका छन्।
 साप्ताहिक