लुम्बिनीका उत्कृष्ट होटल तथा रिसोर्टहरू

यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन् ।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।
लुम्बिनीमा पर्यटकीय स्तरीय तथा साना ठूला गरी दुई दर्जन होटल छन् । ठूलास्तरीय होटलहरूले पनि नेपालीहरूको खर्चले भ्याउने गरी कोठाहरू उपलब्ध गराइरहेको लुम्बिनीमा अवस्थित सबैभन्दा पुरानो जापानीज होटल होक्केका प्रबन्ध निर्देशक सुभाष शर्माले बताए । नेपाल पर्यटन वर्ष–२०११ लाई लक्षित गर्दै लुम्बिनीका होटलहरूले आन्तरिक पर्यटकलाई समेत लक्षित गरी सेवा सुविधा उपलब्ध गराइरहेको शर्माले बताए । २५ वर्षअघिदेखि सञ्चालित होक्के होटलमा जापानीज शैलिका २० र पश्चिमेली शैलीका ७ गरी २७ कोठा छन् । होटलमा मेडिटेसन सेन्टर, जापानीज स्पा(उफुरो) जापानी परिकारका साथै थाई, कन्टिनेन्टल, चाइनिज र नेपाली शैलीका परिकार उपलब्ध रहने शर्माले बताए । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको होटलमा चारैतिर रहेको हरियालिले थप आकर्षण दिएको छ ।
लुम्बिनीमै अर्को स्तरीय होटल पार्क भिलेज होटल एन्ड रिसोर्ट (पुरानो बुद्धमाया होटल)ले त विद्यार्थीहरूलाई सहुलियत दरमा कोठा उपलब्ध गराउँदै आएको  छ । रिसोर्टका प्रबन्धक सुरज गुरुङले सहुलियत दरमा दैनिक १० कोठा  विद्यार्थीलाई उपलब्ध गराइरहेको बताए । पार्क भिलेजमा अहिले ५० कोठा रहेको र छिटै ३० कोठा थपिने प्रबन्धक गुरुङले बताए । रिसोर्टमा लोटस पोन्ड, मेडिटेसन सेन्टर, बर्च वाचिंग लबी, दुई रेस्टुरेन्ट, ४ वटा अपार्टमेन्ट भान्छा उपलब्ध छन् ।
उता नेपाली पर्यटकलाई आकर्षित गर्न बाँसैबाँसले बनेको लुम्बिनी ब्याम्बो रिसोर्टले पनि सहुलियत दरमा स्तरीय कोठाहरू उपलब्ध गराउँदै आएको सञ्चालक जुजु भाइ शाक्यले बताए । नेपाली पर्यटकले नै हाम्रो रिसोर्टमा गन्तव्य बनाइरहेको उनको भनाइ छ । रिसोर्टमा २५ वटा कोठाहरू छन् आकर्षिक गार्डेन, रेस्टुराँ, मेडिटेसन कोठा, सभा कक्षको समेत सुविधा छ भने सबै कोठाहरू छन् । रिसोर्टले नेपाल पर्यटन वर्षलाई लक्षित गरी अन्य भौतिक पूर्वाधारसमेत बनाइरहेको शाक्यले बताए । उनले अतिरिक्त कोठा, स्वीमिङपुल, टेनिस कोर्टलगायतका विभिन्न सुविधासहितको पूर्वाधार रिसोर्टमा तयार भइरहेको जनाए । कंक्रिटको घरै घर हेरेर हैरान परेका स्वदेशी र विदेशीहरूलाई यो लुम्बिनी ब्याम्बो रिसोर्टले पहिलो नजरमै फरक अनुभूति पस्कने शाक्यको भनाइ छ ।

 उता एक वर्ष अघिदेखि  सञ्चालनमा आएको लुम्बिनीको एक मात्र तीनतारे होटल लुम्बिनी कासाईले पनि नेपाली पर्यटकलाई लक्षित गरी सेवा सुविधा दिएका छन् । यो क्षेत्र बौद्धमार्गी मात्र नभई  विश्वभरिका शान्तिकामीहरूको पवित्रस्थल भएकाले यहाँ आउने पर्यटकहरूलाई सुविधाजनक र आरामदायी बसोबासको मध्यनजर गरी नाफाभन्दा पनि सेवालाई ध्यानमा दिई होटल सञ्चालनमा ल्याइएको लुम्बिनी कासाईका प्रबन्ध निर्देशक केन्टा नागाईले बताए  । १३ एकड क्षेत्रफलमा फैलिएको होटलमा दुइटा  भीभीआईपीसहित ३० वटा कोठा छन् एक पटकमा ६० जनाले रात बिताउन सक्नेछन् ।
होटलमा जापानीज स्टाइलको रेस्टुरेन्टसमेत बनाइएको छ भने युरोपियन स्टाइलको रेस्टुरेन्टसमेत छ । जापानीज पर्यटक मात्र नभई अन्य युरोपियन तथा एसियन मुलुकका बौद्धमार्गीहरू लक्षित ग्राहक रहेको होटलका नेपालस्थित  प्रतिनिधि तथा कानुनी सल्लाहकार डा. तारा सापकोटाले जनाए । होटलमा जापानी, चाइनिज, इन्डियन, कन्टिनेन्टल, मिक्सका साथै नेपाली खानाको व्यवस्था छ ।
लुम्बिनीमा रहेको अर्को स्तरीय होटल  न्यू–क्रिस्टल हो । नेपाली तथा बिदेशी पर्यटकका लागी आकर्षक गन्तव्यका रूपमा रहेको यो होटलमा मेडिटेसन हल, कन्फ्रेन्स हल, बातानुकुलित कोठा,स्तरीय रेस्टुराँ छन् । होटलमा  नेपालीहरूका लागि सहुलियत दर कायम गरिएको होटलका प्रबन्धक पुष्प रत्न तुलाधरले बताए ।
 यीबाहेक लुम्बिनीमा हालै सञ्चालनमा आएको पिस ल्यान्ड होटललाई पनि तपाईंले गन्तव्य बनाउन सक्नुहुन्छ । पिस ल्यान्ड नेपाली पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालक प्रवीन शाक्यले बताए । त्यस्तै लुम्बिनीमा सिद्धार्थ होटल, बुद्धमाया गेस्टहाउसलगायत दुई दर्जन  होटल, रिसोट, गेस्टहाउस सञ्चालनमा छन् ।
कारोबार दैनिक