भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले जेठ १८ मा नानोलाई काठमाडौंमा सार्वजनिक गरेको थियो।
'असार १६ भित्र नेपालीले नानो किन्न पाउँछन्,' सिप्रदी स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'देशभरका हाम्रा ११ बिक्री केन्द्रबाट नानो पाइन्छ।'
संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कार (दुईवटा) लाई सिप्रदीले जेठ पहिलो साता काठमाडौं ल्याएको थियो। कम्पनीले वीरगन्जसम्म कन्टेनरमा र त्यहाँबाट कुदाएर काठमाडौंको टेकुस्थित आफ्नो सोरुमसम्म ल्याएको थियो।
'दुई नानोले नेपाल यात्रा सुरु गरेयता दैनिक २ सयभन्दा बढीले नानो बुकिङ गर्न सोधपुछ गरिरहेका छन्,' स्रोतले भन्यो, 'यसबाट हामी उत्साहित छौं।'
नानोका तीनथरी मोडेल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। भारतमा नानोको मूल्य १ लाख ५० हजार, नानो सिएक्सको १ लाख ८० हजार र नानो एलएक्सको २ लाख १० हजार रुपैयाँ पर्छ। 'तीनैथरी नानो नेपाली बजारमा उपलब्ध हुनेछन्,' स्रोतले भन्यो।
नेपाली बजारमा आउँदा नानोको मूल्य ८ लाख १६ हजार, नानो सिएक्सको ९ लाख ७९ हजार २ सय र नानो एलएक्सको ११ लाख ४२ हजार ४ सय रुपैयाँ पर्छ। भारतीय मूल्यमा सबै किसिमका कर (२ सय ४० प्रतिशत) जोडेर नेपाली रुपैयाँमा नानोको भाउ निकालिएको हो।
'सबै मोडेलमा १० देखि १२ हजार रुपैयाँ नाफा राख्छौं,' स्रोतले भन्यो, 'धेरै संख्यामा ल्याइने भएकाले नाफा अनुपात कम राखेका हौं। यो असाध्यै न्यूनतम नाफा हो।'
आगामी असार दोस्रो सातादेखि नानोको बुकिङ सुरु हुने र निश्चित प्रतिशत रकम बुझाएको केही दिनभित्रै उपभोक्तालाई दिइने स्रोतले जानकारी दियो।
कम्पनीका अनुसार काठमाडौं, वीरगन्ज, इटहरी, नेपालगन्जलगायत देशका १७ ठाउँमा रहेका सर्भिसिङ सेन्टरले नानो मर्मतसम्भार गर्ने कम्पनीले जनाएको छ। नानो सर्भिसिङ गर्नमात्र एउटा सेन्टरमा ६ प्राविधि रहनेछन्। उनीहरूलाई नयाँदिल्लीबाट तालिम दिलाइएको हो। नानोको बजारीकरण गर्न इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा 'टाटा नानो नेपाल' पेज बनाइएको छ।
राजधानीबाट सार्वजनिक गरिएका दुई नानो मंगलबार राति विराटनगर पुगेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ती नानोले हालसम्म ३ हजार २ सय किलोमिटर यात्रा गरिसकेका छन्। नानो प्रतिलिटर इन्धनले २० किलोमिटर कुदेका छन्। नानो एक महिने मेची-महाकाली यात्रामा छन्।
नानोलाई नेपाली सडकमा एक महिनाभित्र १० हजार किलोमिटर कुदाएपछि पुनः थप ३५ हजार किलोमिटर कुदाउने योजना कम्पनीको छ। काठमाडौंबाट तातोपानी, जिरी हुँदै फर्किएर मंगलबार दिउँसो धरान पुगेका दुई नानो राति विराटनगर गएका हुन्।
नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानोको अगाडि र पछाडि दुवै पाङ्ग्रामा ड्रम ब्रेक छन्। पाङ्ग्रा ट्युबरहित छन्।
सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध हुनेछन्।
हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्।
नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्।
सुशील भट्टराई,नागरिक न्युज