अब्बल आकृति

भक्तपुर कटुन्जेस्थित ओम सेकेन्डरी स्कुलमा मंगलबार दिउँसो दुई बजेतिर पुग्दा ठूलो आवाजमा हालै प्रदर्शित हिन्दी चलचित्र 'रेडी'को 'ढिङ्काचिका ढिङ्काचिका .....' बोलको गीतमा विद्यार्थी तथा शिक्षक कम्मर मर्काई-मर्काई नाचिरहेका थिए । स्कुले ड्रेसमै निदारमा रातो अबिरसहित कम्मर मर्काइरहेका विद्यार्थी र शिक्षकको ओठमा चौंडा मुस्कान झल्किरहेको थियो । विद्यालयको प्रांगणमा केही स्थानीय मानिसको भीडभाड पनि थियो । ओम सेकेन्डरी स्कुलमा विद्यार्थी तथा शिक्षकको खुसियाली र स्कुल प्रांगणमा फैलिएको रौनकको एउटै कारण थियो- सोमबार प्रकाशित एसएलसी परीक्षाको नतिजामा विद्यालयमा अध्ययनरत छात्रा आकृति पाण्डेले ल्याएको प्राप्तांक । कुल ८ सय पूणर्ांकमा ७ सय ५४ नम्बर ल्याएर आकृति यस वर्षकै सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भएकी छिन् । सम्भवतः उनी नै एसएलसीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी हुन् । हालसम्म सार्वजनिक नतिजाअन्तर्गत ९४ दशमलव २५ प्रतिशत ल्याएकी आकृतिको भन्दा धेरै नम्बर पाएको दाबी गर्ने अर्को विद्यार्थी हालसम्म भेटिएको छैन ।
'सोमबार नतिजा प्राप्त भएदेखि नै बधाई दिनेको घुइँचो लागेको छ, आकृतिको घरमा अनि विद्यालयमा पनि,' विद्यालयकी पि्रन्सिपल सानु घिमिरेले भनिन् । '३० वर्षदेखिको मेरो सपना आकृतिले पूरा गरिन्,' घिमिरेले प्रसन्नता प्रकट गरिन् । त्यही खुसियालीमा विद्यालयमा नाचगानको कार्यक्रम राखिएको रहेछ । पि्रन्सिपलको कुरा नसकिँदै गोरो अनुहारमा रातो अबिरले पुरिएकी आकृति मन्द मुस्कानसहित विद्यालयको कार्यालयमा प्रवेश गरिन् । विद्यालयका अंग्रेजी शिक्षकले 'यिनै हुन् आकृति' भनेर चिनाएपछि उनले सबैलाई मुस्कुराएर नमस्कार गरिहालिन् । 'एसएलसीमा सर्वोत्कृष्ट हुन्छौ भन्ने लागेको थियो ?' सहकर्मी पत्रकारले सर्वोत्कृष्ट भएकोमा बधाई दिँदै पहिलो जिज्ञासा राखे । उज्यालो हुँदै उनले भनिन्, 'टप नै गर्छु भन्ने लागेको त थिएन तर ९० प्रतिशतभन्दा माथि ल्याउँछु भन्ने विश्वास थियो ।'
नर्सरीदेखि नै विद्यालयमा प्रथम हुँदै आएकी आकृतिले भर्खरै प्रकाशित एसएलसी नतिजाअनुसार अंग्रेजीमा ९६, नेपालीमा ८४, गणितमा ९९, विज्ञानमा ९७, सामाजिकमा ९१, स्वास्थ्य तथा जनसंख्या र वातावरणमा ९७, ऐच्छिक गणितमा ९६ र कार्यालय व्यवस्थापन तथा लेखामा ९४ नम्बर ल्याएकी छिन् । 'सुरुमा रिजल्ट भयो भन्ने सुन्नासाथ हलुका डर लागिरहेको थियो,' आकृतिले भनिन्, 'तर पछि डिस्टिङ्सनमा पास भएको थाहा पाएपछि निकै खुसी भएँ । केही समयपछि इन्टरनेटमा नम्बर हेर्दा त ९४ प्रतिशतभन्दा बढी आएको थाहा भयो । अनि त म खुसीले उप|mेछु ।' 
आकृतिले अब उच्च शिक्षामा विज्ञान विषय लिएर पढ्ने योजना बनाएकी छिन् । 'विज्ञान नै किन त ?' भन्ने जिज्ञासामा उनी भन्छिन्, '२१ औँ शताब्दी भनेको नै साइन्स एन्ड टेक्नोलोजिको जमाना हो । त्यसकारण म साइन्स पढेर डाक्टर बन्नेछु ।' डाक्टर बनेर दीनदुःखीको सेवा गर्ने उनको लक्ष्य रहेछ । सानैदेखि डाक्टर बन्ने सपना देखेकी आकृतिले बिस्तारै आफ्नो सपना पूरा हुने बाटो देखिएको अनुभूति गरेकी रहिछन् । 'विद्यालयमा भन्दा कलेजमा बढी मिहिनेत गर्नुपर्छ,' उनले थपिन्, 'कलेज लेभलमा जति मिहिनेत गर्‍यो, त्यति मेरो सपना साकार हुन सहज हुने भएकाले कलेजमा योभन्दा बढी मिहिनेत गरेर अध्ययन गर्नेछु ।' 
लामो समयदेखिको मिहिनेतले नै अहिले यस्तो विशिष्ट सफलताको हकदार बन्न सकेको उनको ठम्याइ छ । मिहिनेतबेगर पक्कै उनलाई यो सफलता मिलेको छैन । उनी विद्यालयकोे नियमित पढाइबाहेक दैनिक ६ घन्टा रुटिन बनाएर अध्ययन गर्ने गर्थिन् । 'विद्यालयको समयबाहेक बिहान २ घन्टा अनि बेलुका ४ घन्टा नियमित अध्ययन गर्ने गर्दथँे,' उनले सफलताको रहस्योद्घाटन गरिन्, ×'समयलाई सही रूपमा व्यवस्थित गर्न सकियो भने सफलता चुम्न सकिने रहेछ ।' रुटिनको अर्थ हो समयको व्यवस्थापन । उनले समयको व्यवस्थापनको सामथ्र्य चिनेकी रहिछन् ।
पढाइका अलवा आकृति अतिरिक्त क्रियाकलापमा पनि अरूभन्दा अब्बल रहेकी विद्यालयकी पि्रन्सिपल घिमिरेले बताइन् । 'गत वर्ष भएको राष्ट्रपति कप भलिबल प्रतियोगितामा त उनीसहितको टिम प्रथम नै भएको थियो,' पि्रन्सिपल घिमिरेले भनिन्, 'यसका साथै आकृतिले हाजिरीजवाफ, वक्तृत्वकला, बास्केटबल, पेन्टिङलगायतका क्षेत्रमा पनि प्रथम तथा द्वितीय स्थान ल्याउने गरेकी थिइन् ।' सानैदेखि पढ्नमा टाठी आकृति साथीहरूसित पनि मिलनसार रहेको शिक्षकहरू बताउँछन् ।
विद्यालयले आयोजना गरेको 'खुसियाली कार्यक्रम'मा आएकी आकृतिकी आमा मुनाले पनि छोरीको सफलताले जीवनभरकै सबैभन्दा बढी खुसी प्राप्त गरेको बताइन् । गुन्डुको ज्योति निमाविकी शिक्षकिासमेत रहेकी मुनाले छोरी एसएलसीमा राम्रो नतिजा ल्याएर उत्तीर्ण हुन्छे भन्ने लागेको तर टप नै गर्छे भन्ने अपेक्षा भने नरहेको बताइन् । सानैदेखि नियमित विद्यालय जाने, ज्ञानी, पढ् भनेर भन्नु नपर्ने, मिहिनेतीलगायतका बानीले छोरीले सफलता हासिल गर्न सफल भएको उनले बताइन् । 
आकृतिले सबैभन्दा बढी नम्बर ल्याएको खबर सार्वजनिक भएलगत्तै आकृतिलाई बधाई दिनेको मात्र लर्को छैन, आफ्नो कलेजमा पढ्नका निम्ति निमन्त्रणा दिने उपत्यकाका विभिन्न कलेजका जिम्मेवार व्यक्तिको पनि लहर छ । मंगलबार मात्र राजधानीका आधा दर्जनभन्दा बढी कलेजका जिम्मेवार मानिस आकृतिलाई भेट्न विद्यालयमा आएका थिए । आकृतिका अनुसार नासा, युनिभर्सल, पेन्टागन, पिरामिड, सिसिआरसीजस्ता नाम चलेका कलेजका मानिस आएर कलेजमा आएर बुझ्न आग्रह गरेका छन् । 
'विभिन्न कलेजबाट आएका मानिसले 'कलेजमा आएर 
बुझ्नुहोस, हेर्नुहोस्, चित्त बुझेमा छोरीलाई हाम्रो कलेजमा पढाउनुहोस् भनेका छन्,' आमा मुनाले मख्ख पर्दै बयान गरिन् । 'छोरीलाई कुन कलेजमा पढाउने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय लिइएको छैन । घरमा र विद्यालयमा छलफल गरेर कलेज छान्नुपर्छ ।' आकृतिलाई पनि कलेज छान्न अन्योल भएको रहेछ । उनी यही कलेज पढ्छु भन्ने टुंगोमा नपुगेको बताउँछिन् । 'कलेजहरूले कुनै आश्वासन दिएका त छैनन् ?' भन्ने जिज्ञासामा आकृतिकी आमाले कुनै पनि त्यस्तो आश्वासन भने नआएको जानकारी दिइन् ।
झन्डै एक घन्टाको वार्तालापका क्रममा विद्यालयमा नाचगान जारी थियो । तीन बजेतिर विद्यालयको प्रांगणबाट बाहिरिने क्रममा खुसियाली मनाइरहेका विद्यार्थी तथा शिक्षक अर्को हिन्दी गीतमा कम्मर मर्काइरहेका थिए । खुसियाली मनाउनेको भीडमा आकृति पनि मिसिएर नाच्न थालिहालिन् ।
प्रवीण ढकाल , नयाँ पत्रीका